मंसिर १३, २०८१ बिहीबार

‘निरञ्जना! म गएँ छोरी…



शारदा शर्माsharada-sharma

म चित्रांगदा कपाली। जीवनमा हेर्ने अन्तिम दृश्य र गर्ने अन्तिम अनुभव यिनै होलान् भन्ने संकेत र सन्देह पटक्कै मनमा थिएन, जतिखेर म बसुन्धराको मधुमालती ब्यूटीपार्लरमा कपाल काट्ने मेचमा बसिरहेथें। वैशाख २९ गते, २०७२ साल, करीब एघार बजेको थियो होला बिहानको।

दिज्जू, फेसियल गरिसिन्न ? थ्रेडिङ गर्ने बेला नि भएछ… कपाल काटिदिंदै मधुले भनी।

हो र ? ऐना हेर्दै भनें— भुइँचालोले गर्दा केही सुद्धि छैन मधु, मेरो अचेल।

म सबथोक गर्दिन्छु नि आज। अरु ग्राहक पनि कोही छैन। बत्ती पानी सबै छ, आज सब टाइम हजूरलाई ! मधुको आग्रह टार्न सकिनँ मैले।

कुरै गरेर ग्राहकलाई लठ्ठ पार्छे मधु। सिन्धुपाल्चोक बाह्रबिसेकी केटी। काम खोज्दै काठमाण्डू आएकी। एक–दुइटा घरमा बसिसकेपछि हामीकहाँ आइपुगेकी थिई, केही समय घरकै काम गरेर बसी। हाम्रै घरमा उसले काठमाण्डूका सम्भ्रान्तको भाषा बोल्न सिकेकी हो। घर नजीकैको पार्लरमा फाट्टफुट्ट जान्थी, त्यहीं सीप सिकी, पछि तालीम लिएर आफैं पसल खोली। मैले सघाइदिएकी हुँ शुरुमा। मिहिनेती थिई, उन्नति गरी। समयक्रममा म पनि उसैकहाँ जान थालें। हल्का हात, मीठो बोली; वरिपरिका अरु ब्यूटीपार्लर सुकाइदिएकी थिई उसले।

मधुको त्यस्तो व्यस्त पसल भुत्याहा घर जस्तो बनेको देखेर मनमनै दुःख लाग्यो।

भाडा तिर्न पनि गाह्रो होला जस्तो छ। फाट्टफुट्ट मात्र आउँछन् मान्छे… यो भुइँचालोले बेपार ठप्पै पा¥यो… भनिरहिथी ऊ। काटिसकेपछि कपालमा मज्जाले तेल मसाज गरिदिई। भूकम्पको तनाव बिर्सेर मैले आँखा चिम्लिरहें।

अफिस गइसिन्न ? उसले सोधी।

बस्नै नहुने गरी चर्केको छ, अर्को ठाउँ खोज्नु छ अब। यो घर त क्यै भएको छैन नि ?… आँखा चिम्लीचिम्ली सोधें।

ढुक्क होइस्योस्… मधु ठूलो स्वर निकालेर मज्जाले हाँसी। अलिअलि चिरा देखिएको छ माथि तलामा, तर घरबेटी बसेकै छन्, इन्जिनियरले हेरेर ग्रीन स्टिकर टाँसिदिएको छ…

टाउकोमा स्याम्पो गर्दिऊँ दिज्जू पहिला ? उसले सोधी।

सबै काम सकेर नुहाउँदा हुन्न ?

हुन्छ… उसले भनी र चिल्लो कपाल प्लाष्टिकको क्यापले ढपक्क छोपिदिई। कपडाको पार्टिशनले बारेको भित्तापट्टिको टेबुलमा गएर लमतन्न परें म, मधु मेरो अनुहारमा एक पछि अर्का लोशन र क्रीमहरु मसाज गर्न थाली।

कुन क्रीम हो ? आँखा चिम्ली–चिम्ली सोधें।

शहनाजको हो, हजूरका निम्ति अरु कहाँ चलाउँछु र ?

फेरि भनी— यहाँ बेलुका बस्न डरमर्दै भएको छ दिज्जू… म त अचेल दिउँसै पसल बन्द गरेर जान्छु….

ऊ त्यो मोडको पुरानो घर छ नि तीनतले, उसले सान गरेर देखाई बाहिरतिर, त्यो भत्केपछि त्यहाँभित्र बसेका कोही बाँकी रहेनन्… आठ जनाको लाश त मेरै आँखा अगाडि निकाले। अरु थुप्रै पनि मरे होलान्। शनिबारको दिन साथीभाइ परिवार जुटेर तास खेल्दै रहेछन्। खसी काटेका थिए बिहान, मासु–भात पाकिरहेथ्यो रे चुल्होमा। खाने बेला हुन लाग्दा ठ्याक्कै गयो भुइँचालो। चरो मूसो कोही बाँकी रहेन। बेलुकातिर… त्यहाँबाट रोएको, ऐय्या… मरें… मलाई बचाऊ भनेर चिच्याएको आवाज आइरहन्छ दिज्जू….

तर्सेको बोली थियो मधुको। अघि पछि पनि ऊ धेरै कुरा यस्तै बेलामा सुनाउँछे।

साँच्चै हो ?

हो नि… एउटी बूढी मान्छे छोराको फोटो बोकेर दिनहुँ आउँछिन् बिहानै र यही घर भत्केको ठाउँमा बसेर रोइरहन्छिन्। मेरो बाबु यहीं डेरा गरी बस्थ्यो… म एकपल्ट आएकी थिएँ उसको डेरामा… यही ठाउँ हो, यहीं थियो घर… मेरो बाबुलाई तपाईंहरु कसैले देख्नुभयो ? भनेर सबैसँग सोध्छिन्। तिनलाई देखेपछि मनै एकतमासको हुन्छ दिज्जू मेरो…

ए… ती बाहिर हिंडिरहेकी पागल जस्ती बूढीमान्छे ?

हो त… धादिङ हो रे उनको घर, उता घरै भित्र बूढा किचिएकै ठाउँमा मरेछन्। भैंसी–बाख्रा सबै ठाउँको ठाउँ ठहरै। बूढी बौलाही जस्ती भएर यहाँ छोरालाई खोज्न आएकी छन्।

…के गर्नु काम नगरी हुँदैन। दिउँसै पनि डर लाग्छ मलाई त… उसका कुरा सुनेर मन शून्य भयो मेरो।

एक छिन है ? म अनुहारमा बाफ लगाउँछु अब….

आँखा चिम्लिरहेथें। टकरटुकर सामान बजेको आवाज आइरहेथ्यो। सोचें, मधु प्लग जोड्न लागिहोली।

ज्या… बत्ती गएछ। अहिले जाने बेलै होइन… दिक्क मानी उसले र फेरि भनी— म पानी तताउँछु र तातो टावेलले सेकिदिन्छु… एक्कै छिन पर्खिस्योस् है?
ऊभित्र कोठामा गएकी हुनुपर्छ, उसले जोडेको बिजुली कित्लीबाट एक्कै छिनमा स्वाँ… गरेको आवाज आउन थाल्यो। सानो कित्ली चाहिं इन्भर्टरको लाइनमा चलाउँछे ऊ। सुतीसुती पर्खिरहें मैले। मधु भने कता लागिछ, चालचुल सुनिएन।

यसैबीच म सुतेको टेबिल हल्लियो। अलमल्ल परें। भुइँचालो आयो भनेर राम्ररी सोच्न पनि नपाई पूरै परिवेश हल्लिन थाल्यो। थामिएला नि भनेर उठिनँ, तर हल्लिने क्रम यसरी बढ्यो, अनुभव भयो— म चामल हुँ र नाङ्लोमा घुमाएर निफनिइरहेकी छु। टेबिलबाट अब खस्छु, तब खस्छु जस्तो भएपछि केही सोच्नै सकिनँ। आँखा खोलें, सिलिङ निफनिइरहेको थियो। बाहिर सडकमा अत्यासका स्वरहरु सुनिन थाले, निकै हल्लाखल्ला थियो।

पार्टिशन लड्यो।

आबुई… दिज्जू… कत्रो भुइँचालो… अत्यासमा चिच्याएको यो स्वर मधुको थियो, जुन भित्रतिरबाट आएको थियो र बिस्तारै सानो हुँदै गयो। शायद निस्किहोली ऊ। मान्छे कुदेको, चिच्याएको कराएको आवाज जताततैबाट आउन थाल्यो। भित्ते घडी अघिल्तिरै थियो, शायद एक बजेको थियो क्यारे। अनुहारको क्रीम पसेर पोलिरहेका आँखाले ठम्याउन सकिनँ। हत्तपत्त उठेर खुट्टा तल झारेकी मात्र के थिएँ, करर्र गर्दै भयावह आवाज आयो; सिंगै घर काम्यो र ह्वात्त खाल्टोमा खसे झैं भयो। किंकर्तव्यविमूढ, स्तब्ध थिएँ म, अत्तालिएकी। चूक घोप्ट्याए जस्तो अँध्यारोमा चारैतिरबाट भत्केको घरका सामग्री आफैं माथि बर्सिरहेथे। टाउको माथि शायद गाह्रोको ठूलै चोइटो बजारिएको थियो, भुइँमा डङ्ग्रङ्गै लडें, रिंगटा छुट्यो भनन्न। दुस्वप्न देखे झैं, सन्न भयो मन। धूलो माटोका मुस्लाले सास फेर्न गाह्रो हुन थाल्यो, आँखा हेर्न मिलेन।

क्षणभरमै के भयो यो? विस्मित थिएँ।

भाग्ने–निस्कने ठाउँ पत्ता लगाउन छामछाम छुमछुम गर्दै अँध्यारोमा घिस्रिरहें। ठोक्किएँ, कराएँ, चिच्याएँ, रोएँ। केही लागेन। अन्तमा थाकेर, निराश भएर लमतन्न परें। टाउकोबाट रगत बगेको हुँदो हो, तातो तरल पदार्थका धारा गालातिरबाट मुखसम्म आइपुगेका थिए। दिमाग बन्द भए झैं भयो।

इँटा, सिमेन्टी, माटोका डल्लाहरु मुनि पुरिंदै किचिंदै गएको शरीरको पीडा अनुभव गर्ने अवस्था नै कहाँ थियो र? चोट कहाँ लाग्यो, कहाँ दुख्यो, कति दुख्यो, अनुमानै गर्न सकिनँ। हलचल गर्न नमिलेपछि भाग्ने प्रयत्न छाडें। यसै बखत चेतनामा छोरी आई र गहिरो पीडा उठ्यो मनभित्र।

यस्तो बेलामा आमाको अनुभूति सबै भन्दा पीडादायी हुनेरहेछ। एक्कै छिनमा आउँछु भनेर घरमै छाडेकी थिएँ छोरीलाई। फर्केर ऊसँग घुम्न जाने योजना थियो।
धूलोले छोपिएका आँखा आँसुले भिजे। घाँटीमा भक्कानो पर्‍यो। मुखबाट छिरेको धूलो, माटो र बालुवा सर्कन खोज्यो घाँटीमा, पन्छाउन हात निकाल्न खोजें। हात–खुट्टा केही तानिएनन्… च्यापिएको थियो शरीर।

सोचें— एक छिनमा अब मेरो नाक पुरिनेछ। त्यस पछि म यही अलिअलि सास फेर्न पनि सक्नेछैन। अनि मेरो मृत्यु हुनेछ। यस्तो भयावह मृत्यु मेरो भागमा कसरी लेखिएछ? भगवान्! किन कहिल्यै मलाई यस भवितव्यको छनक दिनुभएन?
०००
शरीर चल्न नसक्ने भएपछि दिमाग चल्न थाल्यो।

सम्झें— वैशाख १२ गते पहिलो दिनको भुइँचालोमा म बालाजु बाइपासको निशान बाल क्लिनिकमा छोरीलाई लिएर गएकी थिएँ, बेलुकादेखि हनहनी ज्वरो आएकी उसलाई सिटामोलले कुनै असर गरेको थिएन। पानी पट्टी लगाएर रातभरि अनिदो बसें, ऊ बर्बराइरहेकी थिई। बिहानै कुदाएर ल्याएँ। डाक्टर निकै ढिलो आए त्यो दिन। शनिबार, बिरामीहरु धेरै थिए। तेस्रो तलामा थियो क्लिनिक।

तल्लो तलाको औषधि पसलमा दबाई किनेर छोरीको हात समाउँदै पार्किङमा राखेको स्कूटर छेउ आइपुगेकी के थिएँ, भुइँ हल्लिन थाल्यो। लाग्यो— ए, भुइँचालो गएछ…

रोकिइहाल्ला नि भनेर एक छिन उभिएँ, रोकिएन। जमीन धेरै नै हल्लिन थालेपछि उभिन सम्भव भएन। थुचुक्क भुइँमा बसेर छोरीलाई छातीमा टाँसें र विस्फारित नेत्रले चारैतिर हेरें। आतंकित ध्वनिहरु गुञ्जन थालिसकेका थिए—

भुइँचालो… भाग… भाग…। दौडादौड हुन थाल्यो। सडकमा कुदिरहेका मोटरसाइकल भकाभक ढल्न थाले। हिंडिरहेका मान्छे एक्कासि लडे। रुखहरु निहुरी परेर सडकलाई ढोग्दै उठ्दै गरेका देखिए। दिउँसै सपना देखे झैं म चकित भएर हेरिरहें।

एकै छिन अघिसम्म लागेको घाम बादलभित्र लुक्यो। चीसो न चीसो भयो वातावरण। जाडो महीना जस्तो, चीसो हावा चल्न थाल्यो छिनभरमै। कम्पाउण्ड वरिपरिका रुखबाट चराहरु आत्तिंदै कराउँदै उडेर गए। पर पर बस्तीहरु माथि आकाशमा धूलोका मुस्ला उठे। आफू टुक्रुक्क बसेको जमीन जाँतो जस्तो गरी फन्फनी घुम्न थालेपछि भ्रमित भएँ म, किंकर्तव्यविमूढ र त्रस्त।

के भैरहेछ यो ?

एउटा हातले छोरी समातेर अर्को हात जमीनमा टेकें। रिंगटा लाग्न थाल्यो, चिटचिट पसीना आएर टाउको दुख्न थाल्यो, वाकवाक लाग्यो। मन खुल्ल भैरहेथ्यो। पृथ्वी नै हल्लिएपछि कहाँ जाने अब ? आँखै अगाडि बाँसको लिंगो जस्तो गरी साततले निशान क्लिनिक हल्लिरहेको देखेपछि हंसले ठाउँ छोड्यो।

यो घर अब आफैं माथि खस्नेभयो… यति नै रहेछ यो जुनी… यस्तो लागेर पनि बसेको ठाउँबाट उठ्न सकिनँ। छोरीलाई कसेर च्यापें।

चोकका अग्ला घरहरु मच्चिंदै हल्लिरहेका थिए। हाहाकार मच्चिसकेको थियो चारैतिर। जमीन हल्लिन छोडेको थिएन। छोरीले रूँदै हुर्लुक्क बान्ता गरी।

प्रलय भयो… प्रलय भयो… एक जना बूढा मान्छे हाम्रा छेउबाट कराउँदै गेटबाहिर निस्के। उनी निस्कने बित्तिकै ठूलो आवाज सहित गेट भित्रतिर लड्यो, हामी भए नजीकै। सँगसँगै कम्पाउण्डको पर्खाल ढल्यो। छोरी र म दुवै चिच्यायौं। टायल, इँटा र माटो हाम्रा वरिपरि चुली बनेर थुप्रिएको थियो। धूलोले छोपिएका थियौं, ज्यानमा ढुंगा–माटो बर्सेको पनि थियो, तर त्यतिखेरसम्म जोगिएका थियौं।

के अब प्रलय हुन्छ ? यस्तै गरी हुने हो प्रलय ? मृत्युको समय आएकै हो त ? त्रस्त भएर पनि आँखा चिम्लिनँ मैले।

सोचें— मरिएछ नै भने पनि प्रलय आँखैले हेरेर मरुँ…।

अचानक प्रलयकै जस्तो आवाज आयो एकफेरा। विशाल धूलोका मुस्ला उठे हाम्रै अगाडिबाट, तेलको खानीमा आगो लागेर उठेका मुस्ला जस्तै गरी। मुटु थरर्र हल्लियो, अवाक् थिएँ। धूलोले वरिपरि सबै छोपिएको थियो। निरञ्जना डराएर चिच्याई… मैले अझै च्यापें उसलाई।

भयावह सपना देखे जस्तो लागिरहेथ्यो, तर यो सपना थिएन।

के म पृथ्वीमै छु ? शंका भयो मलाई।

के यो त्यही धरती हो, जहाँ म आजसम्म सुरक्षित थिएँ ? लाग्यो— अझ केही समय यस्तो भैरह्यो भने कतिञ्जेल सहन सक्ला मेरो शरीरले ? केही क्षण पछि म पनि ढल्नेछु। त्यो स्थितिमा यी वरपरका पहाडहरु भत्केर समतुल्ल होला धरती। प्राणीविहीन शून्यतामा पुग्ला… साँच्चै, कस्तो हुने होला त्यो समय ?

धूलोका मुस्ला केही पातलिए। ढल्केर अर्को घर माथि अडेस लागेको निशान क्लिनिकको तलको भाग भताभुङ्ग थियो, ढेपिएको अर्को घर ध्वस्तै भएको थियो। हाम्रा वरिपरि भग्नावशेष थियो जताततै ! एक छिन अघिसम्मको सफा सिनित्त बगैंचा र बाटो ध्वस्त खण्डहर भैसकेको थियो छिनका छिनै।

ठूलो भवन यतातिर लडेको भए हामी माथि पर्नेरहेछ…। एक्कै छिन अघि हामीसँगै डाक्टरको पालो कुरेर बसिरहेका केटाकेटी र तिनका बाबुआमाको सम्झना भयो। हाम्रो पालो एक छिन पछि आएको भए हामी पनि त्यही ढलेको भवन सँगसँगै खस्ने रहेछौं। चोकका अरु पनि धेरै घर लडेका देखिए। टावरहरु, लजहरु, कम्प्युटर, भाषा लगायतका इन्स्टिच्यूटहरु सबै नै। चारैतिर धूलो उडिरहेथ्यो। सोचें— हाम्रो घर पनि भत्क्यो होला…

त्रस्त छोरीका गालामा टप्केका आँसुका थोप्ला पुछें। लाग्यो— बाँच्नु भनेको संजोग सिवाय केही होइन रहेछ ! ती लडेका घर र पसलहरु भित्र मान्छे पनि किचिए होलान् ! एक छिन अघि दबाई किनेको पसलका सौम्य युवकको याद आयो, उनका काखमा एउटी बच्ची थिई, छोरी हुँदी हो।

हे भगवान! के गर्‍यौ यस्तो!

जमीन हल्लिन छोडेको थिएन। ठूल्ठूलै धक्का आइरहेथे निरन्तर। नहल्लेका बेला पनि पाइताला मुनि केही बगिरहेको, सल्याङबल्याङ गरिरहको अनुभव हुन्थ्यो। असामान्य किसिमले चीसो बाँकी नै थियो वातावरणमा। रिंगटा चले जस्तो, बान्ता आउला जस्तो हुन छाडेको थिएन। टाउको बेस्मारी दुखि नै रहेथ्यो। काखकी बिरामी छोरी झनै सिकिस्त देखिन्थी, सातो गए जस्ती। तर्सेका आँखाले चारैतिर हेर्दै गरेकी ऊ बोलिरहेकी थिइन। धूलोमाटो पोतिएको अनुहारमा आँसुले बनाएका डोब थिए, केही थोप्ला अझै थिए गालामा अड्केका।

ऋतुराज वसन्तको उपस्थितिमा भने खासै हस्तक्षेप गर्न सकेको थिएन यस महाप्रलयले पनि। छिनभर अघि ध्वस्त भएका बस्तीदेखि बेखबर बाटाछेउ लस्करै रोपेका जकराण्डाका नीला फूल सडकमा फुत्त–फुत्त झरिरहेकै थिए। नागार्जुन र वरपरका पर्वतहरु ढाकिएकै थिए हरियालीले। भग्नावशेषले नपुरिएका ठाउँमा फूल फुलिरहेकै थिए बगैंचामा। यद्यपि भर्खरै बितेर गएको एउटा उत्पातजन्य क्षण पछि मान्छेको जीवनमा धेरै कुरा पहिले जस्ता थिएनन्।

यो प्रलयबीच पनि हामीलाई बाँच्ने मौका दियौ, धन्य प्रभु ! …करीब पौने घण्टा त्रस्त अवस्थामा टुक्रुक्क भुइँमा बसिरहेपछि छोरीको कपाल सुम्सुम्याउँदै उठें र भगवानलाई धन्यवाद दिएँ। संजोगैले होला, घर पुग्दा घर साबुतै भेटियो। भोलिपल्ट आएको त्यत्तिकै भयानक भुइँचालोमा भने हामी बाहिर चौरमा पाल मुनि थियौं।
०००

मृत्युबाट एकपल्ट, दुईपल्ट जोगिनुको अर्थ मृत्युबाट सधैं जोगिइन्छ भन्ने होइन रहेछ। त्यस घटनाको अठारौं दिन, यतिखेर सिंगै भवनमुन्तिर पुरिएर छोरीलाई सम्झिंदै अन्तिम सास लिइरहेको अवस्थामा यो सत्य साक्षात् बोध भैरहेछ। लागिरहेछ— त्यतिखेर दिएको धन्यवादको पनि कुनै अर्थ रह्यो र ?

जानेर नजानेर गरेका सबै पापहरुका निम्ति मलाई क्षमा गरिदेऊ भगवान् ! मलाई परम स्वतन्त्रता देऊ! म कुनै बन्धन नभएको आकाशमा उड्न चाहन्छु… निस्कने भाग्ने सबै प्रयत्न व्यर्थ भएपछि मनभित्र बाँकी यही प्रार्थना थियो अब।

कररर्र गर्दै ठूलो आवाजका साथ एउटा अजङ्गको भार आफैंमाथि खसेपछि भने मलाई शरीरको पनि बोध भएन, न त पीडा नै अनुभव भयो। डर पनि लागेन पटक्क। आत्मादेखि निस्केको मसीनो एउटा सीत्कारमा, शरीरसँग दबिएको मधुरो सम्झना चाहिं कतै बाँकी नै रह्यो—

निरञ्जना! म गएँ छोरी…।

(शर्माको आउँदो उपन्यास ‘कम्प’को एक अंश)