९ कार्तिक, काठमाडौ – एक अध्ययनमा विश्वव्यापी रुपमा महिलाले पनि पुरुषजत्तिकै अल्कोहल सेवन गर्ने गरेको पाइएको छ। जसले गर्दा महिलाहरुको स्वास्थ्यमा अधिकतम क्षति भइरहेको उक्त अध्ययनले जनाएको छ।
एक शताब्दीभन्दा लामो अवधिमा ४० लाखभन्दा बढी मानिसहरुमाथि गरिएको उक्त अध्ययनमा मानिसहरुको पिउने बानीमा ठूलो परिवर्तन आएको देखिएको हो।
सन् १८९१ देखि २०१४ सम्म महिला तथा पुरुषहरुको पिउने बानीमा आधारित सो अध्ययन जर्नल बिएमजे ओपेनमा प्रकाशित छ, जसमा सन् १९८० यता प्रकाशित ६८ अन्तर्राष्ट्रिय अध्ययनहरु समावेश छन्।
इतिहासमा भने पुरुषले महिलाभन्दा बढी पिउने गरेको पाइएको छ। १८९१ र १९१० को बीचमा जन्मिएका पुरुषले महिलाभन्दा दोब्बर अल्कोहल सेवन गर्थे। तर १९९१ र २००० को बीचमा जन्मिएका महिला तथा पुरुषले लगभग बराबर अल्कोहल सेवन गर्ने गरेको पाइएको छ।
महिलाहरुमा पिउने बानी बढ्नुको मुख्य कारण उनीहरु जागिर गर्न थाल्नु र सप्ताहन्तमा पिउने सँस्कृतिमा भिज्नु रहेको जनाइएको छ। २०११ को एक अध्ययनअनुसार पेशागत काम गर्ने महिलाहरुले अन्य महिलाभन्दा बढी अल्कोहल सेवन गर्दछन्।
त्यस्तै यो परिवर्तन केही हदसम्म महिलाहरुलाई केन्द्रमा राखेर गरिने मार्केटिङ र गुलियो मिसिएको मादक पदार्थको बढ्दो उत्पादनको कारण भएको हो। त्यसैगरी मादक पर्दार्थ सस्तो हुँदै जानुले पनि यसको अत्यधिक प्रयोग बढेको जनाइएको छ।
केही अध्ययनहरुले त अझ कम उमेरका महिला तथा किशोरीहरुले पुरुषहरुले भन्दा बढी अल्कोहल सेवन गरिरहेको हुनसक्ने आशंका गरेका छन्।
१९५० को दशकयता महिलाहरुको पिउने बानीमा अत्याधिक बढोत्तरी आएको पाइएको छ। महिलाको शरीरमा पानीको मात्राको अनुपातमा बोसोको मात्रा बढी हुनाले पुरुषले जस्तै उनीहरुले अल्कोहल पचाउन सक्दैनन्। शरीरमा पानीको मात्रा कम हुनाले अल्कोहलको असर बढी हुने गर्दछ। त्यस्तै महिलाको कलेजोको आकार पनि पुरुषको तुलनामा सानो हुने हुनाले अल्कोहलका कारण खराबी महिलाहरुमा बढी हुने बताइएको छ।
‘अल्कोहलको प्रयोग तथा यससम्बन्धी असामान्यतालाई ऐतिहासिक रुपमा पुरुषसँग जोडेर हेर्ने गरिन्छ,’ अध्ययनले भनेको छ, ‘सो अवधारणालाई यो अध्ययनले प्रश्न गरेको छ।’ अष्ट्रेलियास्थित न्यु साउथ वेल्स युनिभर्सिटीको नेसनल ड्रग एण्ड अल्कोहल सेन्टरले अध्ययनको निष्कर्षमा भनेको छः जनस्वास्थ्य सम्बन्धी पहल अब महिलाहरुमा केन्द्रित हुनुपर्छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्