यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संसारैभरि महिला विरुद्धको हिंसाको सोह्रदिने कार्यक्रम मनाइँदैछ । सन् १९९१ देखि यो दिवस संसारभरि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाउँदै आइरहेको हो । यो अन्तर्राष्ट्रिय अभियानको नेतृत्व ‘फस्ट उमेन लिडरसिप इन्स्टिच्युट’ले गरेको थियो । अहिले महिलामाथि हुने हिंसा संसारैभरि चरम उत्कर्षमा भइरहेको देखिन्छ ।
हिंसालाई लुकाउनु र सहेर बस्ने प्रवृत्तिले हिंसालाई अझ बढी प्रोत्साहित गरेको छ । यसैले हिंसा विरुद्धको मौनता संस्कृतिको अन्त्य गर्दै हिंसा विरुद्ध बोल्ने र प्रतिकार गर्ने गर्नुपर्छ । अनि हिंसा पीडितहरूले न्याय पाउनुपर्छ । हिंस्रकहरू पनि हिंसा गर्न उत्प्रेरित हुँदैनन् । महिला विरुद्धको हिंसाको सोह्रदिने अभियान मनाउने तरखर गरिरहँदा हिंसाका यस प्रकारका घटनाहरू प्रकाशमा आएको छ ।
काठमाडौंको मुटु ठमेलमा तीन सन्तानकी आमा एकल महिलाको सामुहिक रूपमा पाशविक बलात्कार भएको समाचार सामाजिक सञ्जालमा पीडितको फोटोसहित प्रकाशित भएको छ । बलात्कृत ती महिलाको सुन्निएको निलो आँखा, आँखा र कानको छेउमा जमेको रगत देख्दा जोकोही पनि तर्सन्छन् । पीडितका तीनजना छोराछोरीलाई रक्षा नामक संस्थाले हाल आश्रय दिएको छ । पीडितलाई पनि सोही संस्थाले उपचार साथै आश्रय दिएको छ ।
पतिको कुटाइले एकजना पत्नीको मृत्यु भएको एउटा दु:खद समाचार कात्तिक २९ गते एक दैनिकमा प्रकाशित भएको छ । आफ्नै विवाहित लोग्ने कसरी आफ्नी विवाहित पत्नीको हत्या गर्न सक्छ ? झट्ट सुन्दा पत्यारै पनि नलाग्न सक्छ । अरु महिलासँग प्रेममा परेपछि मानिसले यस्तो कुकर्म पनि गर्न सक्दोरहेछ भन्ने कुरालाई यो घटनाले पुष्टि गरेको छ ।
रोल्पाकी ४८ वर्षीया सुनकुमारी नेपालीलाई उनका पति ध्रुव नेपालीले बहिनी नाता पर्ने ज्वाला नेपालीको सहयोगमा ढुंगाको लोहोरोले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । सुनकुमारीले आफ्नो लोग्नेसँग किन सल्किएको भनेर केरकार र गाली गरेपछि ध्रुव नेपाली र उनको प्रेमिका ज्वालाले सुनमाया नेपालीलाई कुटपिट गरेका थिए । सोही कारणबाट सुनमायाको मृत्यु भएको थियो ।
यसैगरी तीन वर्ष अगाडि महिलामाथि हुने हिंसासम्बन्धी सोह्रदिने अभियान मनाइरहँदा एकजना सोह्र वर्षकी बालिका शिवा हासमीलाई परिवारका सदस्यले जिउँदै जलाएको घटना प्रकाशमा आएको थियो, जसलाई हामीहरूले अझै बिर्सनसकेका छेनौं । यसैबीच एकजना २२ वर्षदेखि हिंसाबाट पीडित ७१ वर्षीया महिला न्यायको खोजीमा सदरमुकाम पुगेको समाचार प्रकाशमा आएको छ । आफ्नै परिवारका सदस्यहरूबाट बोक्सीको आरोप कुटपिट र २२ वर्षदेखि यातना खप्नै नसकी ती वृद्धा बाइस वर्षदेखि दुई देवर र तिनका परिवारबाट बोक्सी भन्दै कुट्ने गाउँ—समाजमा बेइज्जत गरेको खप्न नसकी उजुरी गर्न सदरमुकाम आएकी थिइन् । यी केवल प्रतिनिधिमूलक घटनामात्र हुन् ।
‘फस्ट महिला ग्लबोल इन्सटिच्युट’ले महिलामाथि हुने हिंसालाई जोडदार रूपमा उठाउने र लैंगिक हिंसा मानवअधिकार विरोधी कार्य हो भन्ने विषयमा संसारैभरि व्यापक रूपमा पैरवी गर्ने कार्यको प्रमुख उद्देश्य महिलामाथि हुने हिंसा मानवअधिकार विरोधी कार्य हो भन्ने कुरा स्थापित गर्नु पनि थियो । सञ्चार माध्यम इमेल, इन्टरनेट, फोनको व्यापक रूपमा प्रयोग गरी महिलाहरूले व्यापक रूपमा पैरवी गरेका थिए । यसरी महिलाहरूले गरेको व्यापक दबाब र पैरवीको फलस्वरुप चौथौ विश्व सम्मेलनले महिलामाथि हुने हिंसा सबैको सरोकारको विषय बन्न पुग्यो । महिला र विकाससम्बन्धी चौथो बेइजिङ सम्मेलन भएको पनि २२ वर्ष भइसकेको छ । हिंसा नियन्त्रणका लागि सरकारी तथा अन्य धेरै निकायबाट हिंसा अन्त्य गर्ने प्रतिबद्धता दर्शाए पनि हिंसामा आउने जति परिवर्तन आएको देखिँदैन ।
नोभेम्बर २५ महिलामाथि हुने हिंसाको अन्त्य गर्ने दिवसको छुट्टै महत्त्व पनि छ । डोमिनिकन रिपव्लिकको निरंकुश र अत्याचारी शासकको विरुद्धमा आवाज ऊठाउने दुई बहादुर दिदीबहिनी मिरावल र पेट्रिकाको निरंकुश सरकारले १९६० मा हत्या गरेको थियो । संयुक्त राष्ट्र संघको साधारण महासभाले १९९९ मा ती हत्या गरिएका मिरावल र पेट्रिकाको स्मृतिलाई जीवन्त राख्न महिला विरुद्धको हिंसा अभियान सुरु गरिएको हो । यस्ता १६ दिने अभियानहरूले मात्र महिला हिंसामा कमी आउन सक्दैन । निरन्तर रूपमा हिंसा विरुद्धको अभियानलाई ग्रामीण तहदेखि राष्ट्रिय स्तरसम्म पुर्याउन सक्नुपर्छ । यो अभियानलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउन नसके कुनै पनि विकासको परियोजना सफल हुनसक्दैन ।
प्रतिक्रिया दिनुहोस्