अछाम, ४ पुस – महिनावारी भएका वेला घरमा बस्न नदिएपछि अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको शनिवार गोठमै मृत्यु भयो । शनिबार बेलुकी करिब ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको उनका बाबु भरत तिरुवाले बताए । स्थानीय राष्ट्र भाषा माविमा कक्षा ९ मा अध्ययनरत रोशनीले शनिबार स्कुल बिदा भएकाले जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् । उनी महिनावारी भएको आइतबार तीन दिन भएको परिवारका सदस्यले बताए । यो तिरुवाको पहिलो घटना होईन । महिलावारी भएको बेला घरमा बस्न नदिजे प्रचलनले यसअघि तिमिल्सेन–७ की डम्बरा उपाध्यायले केही साताअघि छाउपडी गोठमै ज्यान गुमाएकी थिइन् ।
यो संगै छाउपडी गोठमै बसेका कारण अछाममा विगत १० वर्षमा १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा महिला तथा किशोरी छन् । चार वर्षअघि अछाम रिडिकोट–४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै बसेका बेला मृत्यु भएको थियो भने त्यसअघि २०६८ माघ १९ मा ढकारी–४ की लक्ष्मी बुढाको गोठमै आगोले जलेर ज्यान गुमाएकी थिईन । जिल्लाको ढकारी, बारला, पायल, हत्तीकोटलगायतका गाविसमा महिला तथा किशोरीले गोठमै ज्यान गुमाएका थिए ।
छाउपडि मुक्त नाममात्र :
शर्मिला भुलको मृत्युपछि अछाममा छाउपडी गोठ भत्काउने अभियान सुरु भएको थियो । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित छाउपडी निवारण परियोजनाअन्तर्गत सो गाविस पनि ९ असोज ०७२ मा गाज्रालाई छाउपडी गोठमुक्त छाउपडि मुक्ति भनेर घोषणा गरीएको गाविस हो । तर गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनावारी हुँदा गोठमै बस्छन् । सोही गोठमा एक साताअघि महिनावारी हुँदा रोशनीकी आमा मध्यरातमा धुवाँले निसास्सिएपछि उनको उपचार गर्नुपरेको थियो ।
हालसम्म जिल्लाका ३१ गाविस छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् । जिल्लामा गोठमुक्त अभियान चले पनि महिलाले गोठमा ज्यान गुमाउने क्रम रोएिको छैन । महिला तथा बालबालिका कार्यालय अछामकी कार्यालय प्रमुख भगवती अर्याल छाउ हुँदा गोठमा बस्ने संस्कार हट्न नसेको बताउँछिन् । छाउ भएर घरमा बस्दा संयोगवश कुनै दुर्घटना भएमा तिनै महिलाका कारण भएको मानिने उनको भनाइ छ । ‘घरमा गाई, भैँसी बिरामी भए पनि छाउ महिला घरमा बसेका कारण भएको भन्ने गर्छन्, देवता रिसाउँछन्, बाघ आउँछ भनेर स्वयं महिला छाउ भएको वेला घरमा बस्ने आँट गर्दैनन्,’ अधिकृत अर्याल भन्छिन् । छाउपडी गोठमुक्त घोषणा हुँदा पनि उक्त गोठ त्यहीं छ । त्यही गोठमा करिब एक साता पहिले महिनाबारी हुँदा बसेको अवस्थामा रोशनीकी आमासमेत धुवाँले निसास्सिएपछि मध्यरातमा निस्किएकी थिइन् ।
देवीदेउता रिसाउने डरले महिला घरमा नबसेर गोठमा बस्ने गरेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए । रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले एक महिनामा दुई महिलाको गोठमा ज्यान जानु दुःखद भएको बताए । हतारहतारमा गोठमुक्त अभियान चलाएर घोषणा गरिए पनि पछि त्यसको नियमित अनुगमन नहुँदा यस्तो समस्या देखापरेको उनले सुनाए ।
रोशनीको मृत्यू निसास्सिएर :
धुवाँले निसास्सिएर रोशनीको मृत्यु भएको हुन सक्ने अनुमान जिल्ला प्रहरी कार्यालयले गरेको छ । प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि करिब २० फिट टाढा रहेको गोठ निकै साँघुरो र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर मृत्यु भएको हुन सक्ने बताए । ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने । रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको उनले बताए ।
अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको मृतकका बुबा भरत तिरुवाले जानकारी दिए । ‘बेलुकी खाना खाएर राम्रैसँग सुतेकी हो, बिहान हेर्दा त मृत भेटिइन्’, बुबा भरतले भने्, ‘सुरुमा आमा गएर उठाउँदा नबोलेपछि मैले ढोका फुटाएको हुँ ।’ शनिबार स्कुल बिदाको दिन भएकाले रोशनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् । स्थानीय राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत उनी महिनाबारी भएको तीन दिन भएको परिवारले जानकारी दिएको छ ।
खान पनि राम्रै दिईँदैन अछाममा महिलालाई :
महिनावारी हुँदा दही, मोही, घ्यूजस्ता पोषिला खानेकुरा खान हुँदैन भन्ने मान्यताका कारण महिला मात्र नभई दूधेबालकसमेत कुपोषित हुने गरेको जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको ठहर छ । एक महिनाअघि गोठमै अर्की महिलाको पनि मृत्यु भएको थियो गत ३ मंसिरमा तिमिल्सेन गाविस–७ की २६ वर्षीया डम्बरा उपाध्यायको पनि छाउपडी गोठमै मृत्यु भएको थियो ।
मानिस तथा जंगली जनावरको डरले ढोकाबाहेक अन्य कुनै पनि भाग खाली नराखेर बनाइने छाउपडी गोठमा जाडोयाममा आगो बाल्ने र सुत्दा आगो ननिभाएर सुत्नाले अधिकांशको ज्यान निसास्सिएर जाने गरेको छ । सुत्दा आगो निभाएर सुत्नुपर्छ भन्ने सामान्य जानकारीसमेत नराखेका कारणले बर्सेनि महिलाले गोठमा ज्यान गुमाइरहेका छन् । जिल्लाले पाँच वर्षीय छाउपडी प्रथा निवारण योजना निर्माण गरे पनि उक्त रणनीति कागजमै सीमित छ ।
प्रतिक्रिया दिनुहोस्