मंसिरको दोस्रो साता विवाह बन्धनमा बाँधिएका एकजना दाइसँग अफिसबाट फर्कँदै गर्दा बाटोमै भेट भयो । ‘हतार-हतारमा निर्णय भयो, बिहेमा बोलाउन पाइएन है बैनी । भाउजू यिनै हुन् ।’ सँगै उभिएकी भाउजूसँग दाइले परिचय गराइदिए । एकैछिन कुराकानी भयो, भाउजू हेर्दा पढेलेखेकी जस्ती देेखिन्थिनर । दाइ पनि सरकारी जागिरे हुन् ।
कुराकानी भइरहँदा फ्याट्ट सोधेँ, ‘भाउजू के गर्दै हुनुहुन्छ नि ? पढाइ कहाँ पुर्याउनु भयो ?’ मेरो प्रश्नमा भाउजू केही बोलिनन् । दाइले नै जवाफ दिए- ‘तिमीजस्तो जागिरे होइन, उही गृहणी त हो नि, केही पनि गर्दिनन् ।’
‘गृहणी त जागिरे पनि हुन्छन् दाइ । भाउजूले पढ्नुभएको त होला नि । जागिर भन्दा अरु केही कामै हुँदैन र ?’ मैले फेरि प्रश्न गरेँ ।
‘अँ अहिले बीबीए सकेँ । अब मास्टर्स पढ्ने तयारीमा छु नानी ।’ भाउजूले भनिन् ।
मास्टर पढ्ने तयारीमा रहेकी भाउजूलाइ दाइले सिर्फ गृहणीको परिचय दिलाए । मानौँ भाउजूले जागिर नखाएसम्म उनको पढाइको मान्यता हुँदैन । जहिले जागिर खान्छिन् अनि बल्ल उनी गृहणीबाट कामदारका रुपमा पदोन्नति हुन्छन् ।
जागिर नभए पनि मास्टर्स पढ्ने तयारीमा छिन् भनेको भए दाइको इज्जत खस्कने थिएन । तर, उनले आफ्नी शिक्षित श्रीमतीलाई ‘केही काम नगर्ने गृहणी मात्र हुन्’ भने ।
यस्ता शिक्षित जागिरे दाइले त आफ्नी श्रीमतीलाई जागिर नखाएसम्म गृहणीभन्दा अर्को उपमा दिन सक्दैनन् भने हाम्रा आमा-हजुरआमाको परिचय योभन्दा माथि कहिले जाला ?
बिहान १० बजे अफिस गएर साँझ ५ बजे घर र्फकने लोग्नेमान्छेले बिहान उज्यालो नहुँदैदेखि आधा रातसम्म काममा जोतिने श्रीमतीलाई ‘केही काम नगर्ने गृहणी’ का रुपमा मात्रै चिन्छन् र त्यसरी नै परिचय गराउँछन । अनि उनीहरु आफूचाहिँ आफु पैसा कमाउने जागिरे भएकोमा दम्भ देखाउँछन् ।
गाऊँघरमा हजुरबुवा, बुवाहरुले आमा हजुरआमालाई भनेका कतिपय कुराहरु अहिलेसम्म पनि बिझिरहन्छन् । एकोहोरो कतै काम गरेर आएका लोग्नेमान्छेहरु दिनभर घर, गोठको, बालबच्चाको धन्दा गर्दागर्दा लखतरान परेका आमालाई खाउँला जसरी हकार्थे । दिनभर घरमा बसेर के के गरिस् त ? यतिबेलासम्म खाना पाकेको छैन ? यस्ता प्रश्नका झटारा हान्छन् ।
एकजना माथिल्लो तहकै कर्मचारीको कोठामा एक दिन कामविशेषले उनकी श्रीमती आएकी थिइन् । हाकिमकी पत्नी अफिसमा आएपछि वरपरका कुर्सीमा बसेका कर्मचारीहरुले नमस्कार म्याडम भन्दै चिनापर्ची गरे
गोठभरि थुप्रिएका गाईभैंसीलाई घाँस, कुँडो, वर्षैपिच्छे जन्मिएका आधा दर्जन छोराछोरीको स्याहारसुसार, घरधन्दा । त्यति सबै सम्हालेर लोग्नेलाई पर्म, मेलापात पठाउँदा उनीहरुकै खटन ठूलो हुन्थ्यो । तर, अहिलेका शिक्षित पिँढीले पनि त्यसकै सिको गरेको देख्दा भने अचम्मै लाग्छ ।
कोही कोही अपवाद बाहेक अधिकांश जागिरेहरुको मनमा अहोरात्र काममा खटिने आफ्ना आमा, दिदी बहिनी, श्रीमतीहरु केवल गृहणीभन्दा अरु परिचयमा चिनिन सक्दैनन् । यसको जिन्दगी नै घरभित्रै जाने भो, कहिल्यै प्रगति गर्न नसक्ने भई भन्दै छेड हान्ने तरिकाले जागिर खाएकाहरुले आफ्ना महिला आफन्तहरुलाई यसैगरी खसालेको सुनिन्छ ।
एकजना माथिल्लो तहकै कर्मचारीको कोठामा एक दिन कामविशेषले उनकी श्रीमती आएकी थिइन् । हाकिमकी पत्नी अफिसमा आएपछि वरपरका कुर्सीमा बसेका कर्मचारीहरुले नमस्कार म्याडम भन्दै चिनापर्ची गरे । हाकिमले आफ्नी पत्नीलाई नयाँ कर्मचारीसँग परिचय गराए । ‘मेरी श्रीमती हुन्, चिनजान गर’ भने ।
नयाँ कर्मचारीले हाकिमलाई सोधे- ‘सर म्याडम पनि हाम्रैजस्तो अफिसमा कार्यरत हुनुहुन्छ कि क्या हो ? हाकिमले निधार खुम्च्याए, ‘कहाँ जागिर गर्नु, उसको अफिस सिंगो घर, एउटा छोरा र एउटी छोरीको धन्दा । त्यही हो जागिर ।’
ती म्याडम लोग्नेका सामु अध्याँरो अनुहार लगाएर बसिन् मात्रै, केही बोलिनन् ।
ती हाकिमले राम्रैसित ‘सानो काम परेर मलाई भेट्न आएकी हुन्’ भनेको भए पक्कै पनि उनको पद घटुवा हुने थिएन । तर, आफ्नी श्रीमतीलाई त यति तल्लोस्तरमा खसाल्नेले अरु महिलाहरुलाई के भन्दा हुन् ? यस्तो ठान्दै वरपर बसेका महिला कर्मचारीहरुले कानेखुसी गरे ।
हाकिमको शैली देखेर अचम्म लाग्यो । पत्नीको अफिस घर देख्ने, दुईवटा छोराछोरीको ‘धन्दा’लाई जागिर ठान्नेले आफ्ना बारेमा श्रीमतीले गरेको अमौद्रिक काम चाँहि बिर्सिएछन् ।
बिहान ओछ्यानमा चिया पुर्याइदिने, दिनदिनै चिटिक्क परेका लुगा लगाएर अफिस आउनुपर्ने हाकिमका लुगा धोइदिने, लुगामा आइरन गरिदिने, अफिस टाइमअगावै खाना पकाएर तयार पारिदिने, दुई छोराछोरीलाई अलग-अलग स्कुलमा खाना खुवाएर साढे आठ बजे नै पठाइसक्ने, लोग्ने अफिस निस्कँदा झोला गेटसम्म पुर्याइदिने…. यस्ता अनगिन्ती काम देखेनन् हाकिमसा’बले ।
कहिल्यै विदा नहुने, तलव भत्ता पनि नपाइने, बढुवा पनि नहुने, अवकाश पनि नपाइने । तर, पनि बााचुञ्जेलसम्म काममा खटिरहनुपर्ने कस्तो पद रहेछ गृहणीको ?
बिहान उज्यालो भएदेखि घरायसी काममा घोटिने महिलाहरु आधारातसम्म काममै जोतिन्छन् । तर, जागिरे श्रीमानले केही काम छैन, मेरी श्रीमती गृहणी हो भनेर परिचय दिलाउँदा अबदेखि अलिकति सोच्ने हो कि ?
घडीको सुई हेर्दै कुर्सीमा बसेर गरिने कामको निकै मूल्य हुने, सबैको सामु म जागिरे हुँ भनेर छाती फुलाउन पनि पाइने, तर हरसमय काममा खटिनेहरुको कुनै अस्तित्व नहुने कस्तो सोच हो ? जागिर खाएर पैसा कमाउनेरुलाई हेक्का हुनुपर्छ, यदि श्रीमतीले घर-व्यवहार राम्रोसँग नसम्हालेको भए, छोराछोरीको रेखदेख नगरेको भए आफूले जागिर खान कतिको सहज हुन्थ्यो होला ? सिंगो घर धानेकी महिलालाई होच्याएर यसको केही काम छैन भन्ने कटू बचन हटाउने कामचाँहि हामीले सुरु गर्ने हो कि ?
सबै कुरा पैसामा मात्रै मापन गर्ने हो भने गृहणीको हैसियत के हो ? उनीहरुको पारिश्रमिक कति हुनुपर्ने हो ? कति समय काम गरेपछि गृहणी बनिने हो ? त्यो पनि खुलाउनुपर्ने होला । कहिल्यै विदा नहुने, तलव भत्ता पनि नपाइने, बढुवा पनि नहुने, अवकाश पनि नपाइने । तर, पनि बाँचुञ्जेलसम्म काममा खटिरहनुपर्ने कस्तो पद रहेछ गृहणीको ?
श्रीमती घर बसेर श्रीमान अफिस जानेहरु आफ्नी पत्नीलाई हाउसवाइफ भन्छन् । तर, श्रीमान घर बसेर श्रीमती जागिर खान जानेहरु पनि छन् । उनीहरुले भने आफ्ना श्रीमानलाई ‘हाउस हस्बेन्ड’ भन्दैनन् । ‘जागिरै भनेर त केही छैन, आफैं केही गरौँ भन्ने सोचमा हुनुहुन्छ भन्छन् श्रीमतीहरु ।’
आखिर जागिर खाए पनि, नखाए पनि एकाध बाहेक सबै महिलाको परिचय गृहणीकै हुन्छ । जागिरमा हिँड्नेहरु, आफ्नो उद्यममा जानेहरु हतार-हतार घरधन्दा सकेर हिँडेका हुन्छन् । कतै जान नपर्नेहरु दिनभरि त्यही काम गर्छन् फरक यति हो ।
कामकाजी महिलाहरु पार्टटाइम जागिर र फूलटाइम गृहणी हुन्छन् । तर, अन्यत्र काम नहुनेहरु होलटाइमर गृहणी हुन्छन् ।
कर्मचारीहरुको समय छुट्याइएको हुन्छ, कार्यालयम समय सकिएपछि उसले त्यो दिनका लागि विदा पाउँछ, महिना मरेपछि खन्खनी गनेर तलव थाप्छ । तर, गृहणीको हकमा कहिल्यै विदा हुँदैन । र, कामको मूल्यांकन पनि हुँदैन । कामको लेखाजोखा नभएपछि तलवभत्ता आउने कुरै भएन ।
म आफै जागिरे महिला हुँ , मेरो जागिरको फूर्ति लगाएर घरधन्दा चल्दैन । अफिसमा बसुन्जेल आफुलाई कर्मचारी भन्ने हो अफिस समयभन्दा अघि र पछि भने पनि, नभने पनि गृहणी नै हुँ । तर पनि मेरो परिचय गृहणीमा हुँदैन । फलानो अफिसमा जागिर गर्छे भन्छन्, भाँडा माझेको, लुगा धोएको देख्दा देख्दादेख्दै पनि ।
अफिसमा बसुञ्जेल कामको चिन्ता हुन्छ, अफिस छुटेपछि घरपरिबारको चिन्ता हुन्छ । यो आम कामकाजी महिलाको साझा समस्या, बाध्यता, चिनारी जे जे भने पनि यही नै हो ।
मेरा कतिजना साथीहरु छन्, जो मास्टर्स पढ्दैछन् । उनीहरु जागिरका लागि पढिरहेका छन् । तर, उनीहरु आफैले आफैलाई केही काम छैन, घरधन्दा गर्यो, बस्यो मात्रै भन्छन् ।
घरधन्दा गर्नु पनि कामै हो । कामलाई पैसासँग मात्रै तुलना गर्नु हुँदैन । यो कुरा हामीले नै सिक्नुपर्छ । तलव नआउने काम कहिल्यै काम बन्दैन, जागिरबिनाको परिचय अधुरो रहन्छ भन्ने सोच्छौं भने हाम्रो मानसिकता पनि संकुचित नै हुन्छ भन्दा फरक पर्दैन ।
केही काम नभएर आफू गृहणी भएको नठानौँ । आफू पक्का गृहणी भएर घर व्यवहार धानेकोमा गर्व गरौं । खनखनी पैसा गन्ने काममात्रै ठूलो होइन, काम नदेखिने तर निरन्तर गरिरहने कामको पनि मूल्यांकन हुनुपर्छ/गरिनुपर्छ । मेरी श्रीमतीको जागिर छैन, केही काम गरेकी छैनन् भन्ने महानुभावहरु ! आफ्नी श्रीमतीले ढुक्कसँग घर धानेकाले आफु जागिरे बनेकोमा छाती फुलाउन सक्नुपर्छ न कि जागिरेका सामु मेरी श्रीमती केही गर्दिनँ भन्नु परोस् ।
आफूलाइ कर्मचारी ठान्नुस् श्रीमतीलाई मुख्य व्यवस्थापक ठान्नुस् र सम्मान गर्नुस् । अरुका सामू निर्लज्ज पार्ने तरिकाले होच्याउने काम नगर्नुस । ८ घण्टा अफिसमा काम गरेर कमाएको तलवमा घमण्ड गर्नेहरु २५ घण्टामा १८/१९ घण्टा काममा खटिने गृहणीलाई केका आधारमा तलव दिनुहुन्छ ? तलवकै कुरा गर्ने हो भने तपाईले कमाउने तलव भन्दा दुईगुणा भन्दा बढी योगदान तपाइले केही काम छैन, घरधन्दा त चलाउने हो भन्नेहरुको छ । यसर्थ आत्मसम्मान ठूलो कुरा हो । आत्मसम्मानमा ठेस पुर्याएर इज्जत बढ्दैन । महिला-पुरुष दुवैले सकारात्मक तरिकाले सोचौँ । पैसा मात्रै सबैथोक होइन । सबै कामलाई पैसामा दाँज्ने काम नगरौँ । अनलाईनखवरबाट
प्रतिक्रिया दिनुहोस्