मंसिर १२, २०८१ बुधबार

​आफ्नै श्रीमतीको शरीरमा मट्टितेल खन्याएर आगो



aagoनेपालगंज – मानवता भन्ने कुरा घरपरिवार र समाजबाट बिस्तारै विचलित हुदैछ भन्ने पछिल्लो उदाहरण नेपालगंञ्जमा मट्टितेल खन्याएर आफ्नै श्रीमतीलाई आगो लगाइदिएको घटनाले उजागर गरेको छ । हरेक सुख दुखमा साथ रहने भनेर आगो वरिपरि घुमेर लिएको सातफेरोको सात बचन  त्यही फेरो सँगै आगोमा होमिदिन्छन् केही दानवरुपी प्रवृति भएका मानवहरुले ।

त्यस्तै नेपालगन्जमा एक व्यक्तिले आफ्नी पत्नीको शरीरमा मट्टितेल छर्केर आगो लगाएका छन्। नेपालगन्ज १२ बाँकेगाउँ निवासी राजेन्द्र खटिक (सोनखर)ले पत्नी अनिशा खटिकको शरीरमा बिहीबार राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

मदिरा सेवन गरेका राजेन्द्रले पत्नीसँग झगडा गर्दै टुक्कीमा रहेको मट्टितेल शरीरमा छर्केर आगो लगाई फरार भएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए। घटनालगत्तै प्रहरी पुगेर घाइतेलाई तत्काल भेरी अञ्चल अस्पताल पुर्‍याएको उनले बताए।
घाइतेलाई भेरी अञ्चल अस्पतालको वर्न वार्डमा भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर रहेकाले अन्यत्रै लैजान अस्पतालले सुझाव दिएको छ। घाइते अनिशाको काखमा डेढ वर्षकी छोरी छन्। पति राजेन्द्र ६ महिनाअघि मात्र वैदेशिक रोजगारीबाट फर्केर घर आएका थिए ।