काठमाडौं – सामान्य घरझगडामा एक युवकले श्रीमतीलाई ज्युँदै आगो लगाइदिएका छन्। नेपालगन्ज १२ खट्कनपुरुवाका २६ वर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टीतेल खन्याएर आगो लगाएका हुन्। भारतको गोरखपुर देबरिया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ। उनको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
२२ वर्षीया अमिसाको पूरै शरीर जलेको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ। चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन।
तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन्। शरीरको ३० प्रतिशत भाग जलेमा उपचार निकै चुनौतीपूर्ण हुने चिकित्सकले बताएका छन्। उपचार सम्भव छैन भन्दै चिकित्सकले कतै बाहिर लैजान भने पनि उनलाई बाहिर लगिएको छैन। अमिसाकी सासू दुखराना खटिकले घरमा कोही नभएकाले बाहिर लैजान नसक्ने बताइन्।
बिहीबार राति घरझगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाइदिएका थिए। श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन्।
रातभर पनि अमिसा अस्पतालको शय्यामा एक्लै थिइन्। नेपालमा आफन्त नभएकाले उनको स्याहार गर्न कोही पनि अस्पताल आएनन्। बिहान मात्रै उनकी सासू अस्पतालमा आएकी थिइन्। रातभर उनलाई अस्पतालमा नर्सले स्याहार गरेका थिए। ‘बिरामीको स्थिति नाजुक छ। रातभर कोही पनि आएनन्। हामीले स्याहारेर राख्यौं’, भेरी अञ्चल अस्पतालकी नर्स शान्ता उप्रेतीले भनिन्, ‘यस्तो अवस्थामा पनि कोही आफन्त आएनन्। बिहान मात्रै उहाँकी सासू आउनुभयो।’
बिहीबार राति घरझगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाएका थिए। श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन्। केही वर्ष विदेशमा बसेर आएका राजेन्द्र र उनकी श्रीमतीबीच झगडा हुँदै आएको थियो। उनकी डेढ वर्षीया छोरी छिन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।
उनकी सासू दुखराना खटिकका अनुसार उनीहरू केही वर्षदेखि छुट्टिएर बसेका थिए। त्यसपछि राजेन्द्र केही वर्षसम्म साउदी अरब गए। त्यहाँबाट फर्किएपछि उनले श्रीमतीसँग झगडा गरेर रूपैडियामा रिक्सा चलाउँदै आएका थिए। छिमेकीका अनुसार श्रीमान् श्रीमतीबीच सधैं झगडा भइरहन्थ्यो।
तर बिहीबार रातिको झगडा भने धेरैले थाहा पाएनन्। शरीरमा आगो लागेपछि अमिसा चिच्याएकी थिइन्। केही छिमेकी जुटेर प्रहरीलाई खबर गरिदिए। त्यसपछि प्रहरीले आफ्नै गाडीमा भेरी अञ्चल अस्पताल पुर्याएका थिए। सासू दुखरानाले अमिसाको माइतीमा खबर गरेकी छन्।
भारतबाट मागेर विवाह गरेका उनीहरूबीच पटकपटक दाइजोका विषयमा झगडा भइरहन्थ्यो। राजेन्द्र विदेशबाट फर्किएपछि दुईजनाको सम्बन्ध अझै बिग्रिएको छिमेकी बताउँछन्। ‘हामी पनि गरिब, उनीहरू पनि गरिब। हामी गरिबलाई दाइजो कसले पो दिन्छ र?’ उनकी सासू दुखरानाले भनिन्, ‘हामीलाई छोरी मात्रै दिए, दाइजो दिएनन्।’ उनले थाहा पाएअनुसार राजेन्द्रका साढुसँग सधैंभरि दाइजोकै विषयमा कुरा भइरहन्थ्यो। माइतीले कुनै पनि छोरीलाई दाइजो दिएका थिएनन्।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज राजन गौतमले फरार राजेन्द्रको खोजी भइरहेको बताएका छन्। सबै नाका सिल गरेर खोजी भइरहे पनि प्रहरीले उनलाई पक्राउ गर्नसकेको छैन। ‘भारततिरै भागेको हुनुपर्छ। हामी त्यता पनि संयन्त्र परिचालन गर्नेछौं’, उनले भने, ‘हामीले सबैतिर प्रहरी परिचालन गरिसकेका छौं, उनलाई चाँडै समाउनेछौं।’ अन्नपूर्णमा गजेन्द्र बोहोराको खबर छ।
प्रतिक्रिया दिनुहोस्