मंसिर १२, २०८१ बुधबार

घरबाटै निकालिन्छन सङ्क्रमित महिला



अछाम –  सपना शर्मा (नाम परिवर्तन) कलिलै उमेरमा एकल भइन् । श्रीमान्ले सदाका लागि छोडेर गएपछि जीवनमा दुःखका दिन सुरु भए । श्रीमान्ले एक्लै छोडेर मात्र गएनन्, एचआईभी÷एड्स सङ्क्रमण गराएर गए । घरको कमजोर आर्थिक अवस्था, कलिलो उमेर अनि दीर्घरोगी भएर जन्मिएको छोराको चिन्ता । उनको जीवनमा खपिनसक्नु दुःखका दिन सुरु भए । कस्तोसम्म दिन आयो भने एचआईभी सङ्क्रमित भएको अवस्थामा औषधि त परको कुरा, पेटभरि भातसमेत खान पाइनन् ।
यी समस्याका बाबजुद उनले जिउने कोसिस गरिन् । रोगले ग्रस्त छोरो काखी च्यापेर सदरमुकाम मंगलसेन आइन् । सदरमुकाममा ज्याला–मजदुरी गर्ने काम खोज्दै थुप्रै ठाउँ चहारिन् । काम पाउन मुस्किल भयो । अथक् प्रयासपछि उनले होटेलमा मासिक पाँच हजार रुपैयाँ तलबमा भाँडा माझ्ने काम पाइन् । भाँडा माभ्mने काम सुरु गर्दा उनले आफू एचआईभी सङ्क्रमित हुँ भनिनन् । तर, काम थालेको चार दिनपछि उनलाई त्यहाँबाट निकालियो । कारण उनी एचआईभी सङ्क्रमित थिइन् र उक्त कुरा कतैबाट होटेल मालिकले थाहा पाइसकेका थिए । ‘तिमी त एडस् रोगी रहिछौ । अब म काममा राख्न सक्दिनँ, भनेर मालिकले निकालिदियो,’ उनले भनिन्, ‘मालिकले यो होटेलमा एचआईभी सङ्क्रमित पनि काम गर्छन् भन्ने ग्राहकले थाहा पाए भने मेरो त व्यवसाय नै डुब्छ भनेर तलबै नदिई निकालिदिए ।’
त्यसपछि उनलाई बाँचेर केही हुँदैन भन्ने लाग्यो । उनले आत्महत्या गर्ने सोच बनाइन् । तर, यहीबीचमा उनको सङ्क्रमित महिलाको पक्षमा काम गर्ने आफूजस्तै सङ्क्रमितहरूसँग भेट भयो । उनीहरूको कुरा सुनेपछि आत्महत्याको सोच बदलियो । सङ्क्रमित अगुवा गंगा थापा भन्छिन्, ‘उनको कथा सुनेर साह्रै दुःख लाग्यो । अनि अर्को होटेलमा उनलाई भाँडा माझ्ने काममा लगाइदियौँ ।’ त्यहाँ भने होटेल मालिकलाई सङ्क्रमित भएको जानकारी गराएर नै काममा लगाइएको थियो । १२ वर्षदेखि सङ्क्रमित महिलाको हकहितका लागि सक्रिय गंगासँग एचआईभी सङ्क्रमित भएकै कारणले महिलाले भोगेका विभेदका थुप्रै अनुभव छन् । उनका भनाइमा श्रीमान्का कारण सङ्क्रमित भएका धेरै महिला समाजमा हेलाको पात्र भएर बाँच्न विवश छन् ।
दर्ना– ४ की ४५ वर्षीया गंगाका श्रीमान्को पनि एचआईभी सङ्क्रमणका कारण २२ वर्षअघि निधन भएको थियो । श्रीमान्को मृत्युपछि उनले पनि समाजमा थुप्रै भेदभाव र लाञ्छना सहेर बाँच्नुप¥यो । ‘एचआईभी सङ्क्रमितको छोरा हो भनेर मेरो छोरालाई त विद्यालयले पढ्नै दिएन,’ गंगाले आप्mनो जीवनमा भोगेका भेदभावको अनुभव सुनाउँदै भनिन्, ‘सङ्क्रमितले समाजमा भोग्नुपरेको भेदभाव र लाञ्छनाको त कुरा गरेर साध्य छैन ।’
एक दिन उनकै छिमेकी गाउँमा एक एचआईभी सङ्क्रमित महिला महिनावारी भएको बेला गाउँका अन्य महिलाले सँगै छाउपडी गोठमा समेत बस्न दिएनन् । छाउपडी गोठमा समेत दिदीबहिनीले भेदभाव गरेको सुनेर लगत्तै त्यस गाउँमा गएर गंगाले सबैलाई सम्झाएपछि छाउ भएका दिदीबहिनीलाई बस्न दिए ।
तर, अहिले पनि यस भेगका गाउँका अन्य मानिस सङ्क्रमित महिलालाई गाउँका महिलासँग गोठमा बस्न दिन तयार छैनन् । सङ्क्रमित महिलालाई अरूसँग गोठमा बस्न दिने वातावरण बनाउनसमेत आफूले ठूलै सङ्घर्ष गरेको, तैपनि नसकेको गंगाको भनाइ छ । सङ्क्रमितहरूका लागि सामुदायिक हेरचाह सहयोगी कार्यकर्ताको रूपमा काम गरिरहेकी गंगासँग करिब १२ वर्ष लामो काम गरेको अनुभव छ । सङ्क्रमित महिलालाई छाउपडी गोठमा सुत्न नदिने, पानी–पँधेरामा जान नदिने, अन्य सामाजिक काममा भेदभाव गर्ने गरेका अनगिन्ती घटनामा छलफल गरेको बताउँछिन् उनी ।
समाजमा ससम्मान बाँच्न पाउने आशामा खुलेर आएका सङ्क्रमित झन् भेदभाव र अपहेलनाको सिकार भइरहेका छन् । गरिबीका कारणले कामको सिलसिलामा श्रीमान् भारत जाँदा उतैबाट सङ्क्रमित भएर आउने र घरमा श्रीमतीलाई सार्ने समस्याले गर्दा एचआईभी÷एड्सको सिकार निर्दोष श्रीमतीहरू भइरहेका छन् । एचआईभी सङ्क्रमितको क्षेत्रमा कार्यरत हरिशचन्द्र रावल एचआईभीका कारणले श्रीमान् गुमाएर एकल जीवन बिताइरहेका सङ्क्रमित महिला झन् चर्को भेदभावको सिकार भइरहेको बताउँछन् ।
आफूसमेत सङ्क्रमित रहेका रावलले पछिल्लो केही महिनायता मात्र चाल्सा र कुइका गाविसमा दुई सङ्क्रमित एकल महिलालाई परिवारबाट नै भेदभाव गरेर घर निकाला गरेको घटनामा आफँै गएर छलफल गरी पुनस्र्थापना गराएको कथा सुनाए । एचआईभी सङ्क्रमितलाई सार्वजनिक रूपमा भेदभाव गर्ने क्रम नरोकिएको रावल बताउँछन् । जिल्ला एड्स समन्वय समितिको विवरणअनुसार अछाममा खुलेर सार्वजनिक भएका करिब एक हजार पाँच सय संक्रमित छन् । (सञ्चारिका फिचर सेवा)