काठमाडौं – प्रेस काउन्सील नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले लैङ्गिक हिंसा सम्बन्धी समाचार रिर्पोटिङमा महिलालाई सशक्तिकरण गर्ने खालका समाचार सम्प्रेषण गर्न मनोविज्ञानमा नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
अस्मिता सञ्चार गृहले आज सार्वजनिक गरेको नेपाली मिडियामा लैङ्गिक हिंसासम्बन्धी समाचार सञ्चार अनुगमन प्रतिवेदन तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै मिडियामा महिला हिंसा सम्बन्धी प्रकाशित समाचारले महिला उल्टै पीडित बने मिडियाको लक्ष्य पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मिडियाको कर्तव्य पछाडि पारिएका महिला, उत्पीडितहरुको संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्नु हो । यसैले पीडितलाई न्याय हुने, उत्साहित बनाउने खालका समाचार हुनुपर्छ ।’
उहाँले राज्यका तीनै निकायमा महिला भएको तर उनीहरुले गरेका राम्रा कामको प्रचार नभएको पनि उल्लेख गर्नुभयो । उहाँले मिडियामा नकरात्मक कुराको बढी प्रचार पाएको भन्दै काउन्सीलमा यस सम्बन्धी उजुरीहरु पनि परेको जानकारी दिनुभयो ।
उहाँले महिलाका समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने कुरा समेटेर मिडिया आचारसंहिता तयार भइसकेको र यसले सम्पूर्ण मिडियालाई निर्देशन गर्ने पनि बताउनुभयो ।
महिला समाचारमा पुरुषकै कुराः प्रतिवेदन
प्रतिवेदनले नेपाली मिडियाले लैङ्गिक हिंसा सम्बन्धी समाचार बनाउँदा पुरुषकै कुरा धेरै आउने बताएको छ । यसका अनुसार लैङ्गिक हिंसा सम्बन्धी समाचार तयार पार्दा अन्तर्वार्ता गर्ने, भनाइ दिइने स्रोत व्यक्तिको रुपमा पुरुष नै धेरै देखिएको छ । प्रतिवेदन अनुसार अध्ययनको क्रममा समाचारको अन्तर्वस्तुको रुपमा कुल ३ हजार ९ सय १० व्यक्ति उपस्थित भएकोमा ९ सय ७१ जना अर्थात् २५ प्रतिशत महिला र २ हजार ७ सय ६५ जना अर्थात् ७१ प्रतिशत पुरुष र लैङ्गिक पहिचान नखुलेका १७३ जना अर्थात् ४ प्रतिशत रहेका थिए ।
प्रतिवेदनले लैङ्गिक हिंसा सम्बन्धी समाचार सम्बन्धी विभिन्न तथ्यहरु प्रस्तुत गरेको थियो । प्रतिवेदन अनुसार लैङ्गिक हिंसा सम्बन्धी समाचार मिडियाको प्राथमिकतामा नपर्ने, परेपनि थोरै स्थान पाउने, लैङ्गिक हिंसा सम्बन्धी समाचार अधिकांश भौतिक वा शारीरिक हिंसा सम्बन्धी हुने, त्यस सम्बन्धी राष्ट्रिय महत्वका समाचार कम छापिने, सुरक्षा निकायले दिएको सुचनाका आधारमा समाचार बनाउने लगायत रहेका छन् ।
सन् २०१६ को जुन १ देखि जुन ३० सम्म एक महिनासम्म गरिएको सो अध्ययनमा १८ दैनिक पत्रिका, ४ रेडियो र ४ टेलिभिजनलाई समावेश गरि कुल १ हजार ३सय ६१ वटा सामाग्रीको अध्ययन गरिएको थियो ।
कार्यक्रममा अस्मिता प्रकाशन गृहका अध्यक्ष इन्दु तुलाधरले महिला र पुरुषबीचको असमान शक्ति संरचनाका कारण महिलाका समाचारले प्राथमिकतामा नपाएको बताउनुभयो । उहाँले समाचारहरुमा समेत पुरुषलाई शक्तिवान् देखाउने र महिलालाई कमजोर र असुरक्षित देखाउने प्रवृति व्यापक देखिएको बताउनुभयो ।
‘रक्सी खाएको निहुँमा घटना घटेका समाचार आउँछन्, तर रक्सी खाँदा पनि अविवाहित, एकल वा कमजोर अवस्थामा रहेका महिलालाई उनीहरुले हिंसा गरिरहेका हुन्छन्, यसले हिंसाका घटनालाई नै दबाउँछन्’, उहाँले भन्नुभयो ।
उहाँले घटना कसरी घटिरहेको छ र मिडियाले त्यसलाई कसरी समाचार बनाईरहेको छ भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो ।
मिडियामा महिला सम्बन्धी समाचार हिंसा केन्द्रित मात्र रहेको तर महिला र पुरुष बिचको असमान शक्ति सम्बन्धबारे बौद्धिक वर्ग र नीति निर्माताहरुलाई घच्घच्याउने गरी नआएको उहाँको भनाइ थियो ।
कुनैपनि घटना संप्रेषण गर्नु मात्र ठूलो कुरा होइन, तर त्यसलाई कसरी प्रभावकारी बनाउने, पीडितलाई सहानुभूतिको भन्दा दयाको दृष्टिले हेर्ने प्रवृति हटाउनुपर्छ ।
यसैगरी अदालतले भन्नुपूर्व मिडियाले नै घटनामा अभियुक्त घोषित गर्ने तथा अभियानकर्ताहरु पनि सत्यतथ्य नखोजी हिँड्ने र संगठित रुपमा कानुन विपरितका कार्य गर्न पनि पछि नर्पने अध्यक्ष तुलाधरले भन्नुभयो ।
पत्रकारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान चाहिन्छ
कार्यक्रममा नागरिक दैनिकका सम्पादक तथा पत्रकार गुणराज लुईटेलले प्रतिवेदनले मिडियालाई ऐना देखाउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कसरी काम गरिरहेका छौं, के गरिरहेका छौं र कहाँ छौं भन्ने यसले देखाएको छ ।’
उहाँले पत्रकारले सुरक्षा निकायलाई सोधेर वा अन्य प्राथमिक स्रोतलाई सोधखोज गरेर सजिलो पत्रकारिता गरिरहेको तर पीडित केन्द्रित भएर तथ्यपूर्ण समाचार नआएको बताउनुभयो । ‘घटनाबारे जानकारी दिने स्रोतकै आधारमा समाचार बनिरहेका छन्, यसले पत्रकार मुख्य स्रोतसम्म नपुग्ने खतरा झन् बढेको छ, यसैकारण भौतिक र शारीरिक हिंसाको बढि रिर्पोटिङ भइरहेको छ, महिला सम्बन्धी अन्य विषय ओझेलमा परेका छन्’, उहाँले भन्नुभयो ।
मिडिया आवाज विहिनहरुको आवाज बन्नलाई सत्यको नजिक पुग्नैपर्ने भएकोले पत्रकारले सर्वसाधारणप्रति वफादार बन्ने र धेरैको हितमा हुने समाचार लेख्नुपर्ने उहाँले भन्नुभयो ।
यसैगरि समाचार लेख्दा पूर्वाग्रही ढंगले वा आग्रहका कारणले लेख्न नहुने, विषयवस्तुले राम्रो स्थान पायो कि पाएन तथा आएका तथ्यहरुलाई केलाएर सत्य कुरा मात्र लेख्नुपर्ने बताउनुभयो । समाचार छाप्नकै लागि छाप्न नहुने तथा रचनात्मक तरिकाले लेखिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘महिला समाचारमा रुचि नभएको तथा कमजोर रिर्पोटिङ भइरहेको देखिन्छ, हिंसा लैङ्गिक हिंसा सम्बन्धी घटनामा रिर्पोटर आफैंले घटनामा सहानुभूति खोज्नुपर्छ’, लुईटेलले भन्नुभयो ।
कार्यक्रममा सहभागीहरुले महिला हिंसा सम्बन्धी समाचार आउँदा वास्तविक घटना नआउने, हिंसा सम्बन्धी तथ्यपूर्ण समाचार नआउने बताएका छन् । यसैगरि मिडिया सम्बन्धी यसखाले अध्ययन जिल्ला बाहिर पनि हुनुपर्ने, महिला भनेको पीडित र पुरुष पीडक हो भन्ने बुझाइ बदल्नुपर्ने, महिला हिंसाको मात्र कुरा गर्नुभन्दा सफल महिलाका संघर्ष, सफलताका कुरा पनि समेटेर सकरात्मक कुराहरु दिने काम मिडियाले समाचार बनाउनुपर्ने बताएका छन् ।
यसैगरि, महिला विषयमा समाचार सम्प्रेषण गर्ने रिर्पोटर, न्युज डेस्कमा बसेका पत्रकार तथा सम्पादकलाई समेत तालिमको आवश्यकता भएको सहभागीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्