उपप्रमुख बनेको पहिलो दिन कुर्सीमा बस्दा ताराकुमारी काजी महतोलाई नौलो लाग्यो । पहिले सचिवको कुर्सीमा हुनुहुन्थ्यो अहिले उपप्रमुखको कुर्सीमा पुग्नुभयो ।
माडी नगरपालिकाको उपप्रमुखको कुर्सीमा बसेपछि पहिलो दिन हिजो वडाध्यक्षसँग छलफल गर्नुभयो । “परिचयात्मक कार्यक्रम भो, पहिले कर्मचारी थिएँ, अहिले जनप्रतिनिधि भएकी छु, खुसी हुँदै ताराकुमारीले भन्नुभयो, अब बोझ बढेको छ ।”
उहाँको चिन्ता अब कसरी माडीको विकास गर्ने भन्ने छ । माडीमा जङ्गली जन्तुको आतङ्क छ । खहरे खोला नालाले माडीमा वर्षात्का बेला आतङ्क नै मच्चाउँछ । निकुञ्जले घेरिएको उपत्यका भएकाले स्रोतसाधन, उद्योगधन्दा छैन । त्यसैले पनि माडीको विकास गर्न चुनौती छ । “अब माडीको मुहार कसरी फेर्ने, मेरो चिन्ता नै त्यही हो” ताराकुमारी भन्नुहुन्छ ।
गएको वैशाख १७ गते माडीको वडा सचिवबाट राजीनामा दिँदै गर्दा ताराकुमारी काजी महतोलाई खासै चिन्ता भएन । पार्टीबाटै तपाईं आउनुप¥यो भनेपछि उहाँले राजीनामा दिएर उपप्रमुखको आकाँक्षा राख्नुभयो ।
उपप्रमुख भए पनि र नभए पनि जागिर गुमेकोमा कुनै चिन्ता लागेन ताराकुमारी लाई । “कति गर्नु एउटै काम, जे त होला भनेर त्यागेँ” ताराकुमारीले भन्नुभयो । एमाले पार्टीले तीन नारायण पौडेल, चन्द्र बानियाँ र ताराकुमारीको नाम सिफारिस भयो । पछि उहाँ छानिनुभयो ।
प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार भए पनि उपप्रमुखमा अन्तत जित उहाँकै भयो । उहाँले माओवादी केन्द्रकी सरिता चौधरीलाई हराउनुभयो । माडीलाई इको नगर बनाउने, सुकुम्वासी समस्या समाधान गर्ने, खोलानाला व्यवस्थापन, जङ्गली जनावर आक्रमणको न्यूनीकरण तथा कृषि उत्पादनको वृद्धिमा लाग्ने उहाँले अठोट गर्नुभएको छ ।
माडीका स्थानीय गोविन्द न्यौपाने उहाँले अन्य उम्मेदवारलाई पछि पारेर जित्नुमा उहाँको सामाजिक व्यक्तित्व र गाविसमा छँदा कमाएको छवी नै भएको दाबी गर्नुहुन्छ । त्यसैले पनि प्रमुखमा माओवादी केन्द्र जित्दै गर्दा एमालेबाट उनी उपप्रमुखमा निर्वाचित हुनुभएको हो । दलित महिला सदस्यमा विजयी भएकी माडीकी इन्दिरा विक उहाँले अरुपार्टीको पनि मत जित्न सफल भएकी बताउनुहुन्छ ।
त्रिचालिस वर्षीया ताराकुमारी काजी महतोको घर माडी–३ वसन्तपुर हो । प्लस टु पास गर्नुभएकी उहाँकी दुई छोरी छन् । श्रीमान् जयराम महतो शिक्षक हुनुहुन्छ । एसएलसीपछि २० वर्षमा बिहे भएको थियो उहाँको । छोरी जन्मेपछि कष्टले प्लस टु गरेकोे अनुभव सुनाउनुभयो । २०६१ सालमा पहिलो पटक उहाँले जागिर सुरु गर्नुभयो ।
युनिसेफमा बालबालिकासम्बन्धी परियोजनामा जागिर पाउनुभयो । त्यसपछि उहाँले २०६३ सालमा साविक बघौडा गाविसको कार्यालय सहायकको जागिर पाउनुभयो । त्यसपछि माडी नगरपालिका बन्यो ।
उहाँ वडा नम्बर ३, ४, ५ को वडा सचिव बन्नुभयो । त्यही वडा सचिव हुँदै गर्दा स्थानीय निकायको निर्वाचन आएपछि राजीनामा दिएर राजनीतिमा होमिएकी उहाँले अब विकासमा लाग्ने अठोट गर्नुभएको छ । उहाँ भन्नुहुन्छ “अब मैले गरेर देखाउने दिन आएको छ ।” रासस
प्रतिक्रिया दिनुहोस्