मंसिर १४, २०८१ शुक्रबार

यी हुन महिला नेतृत्व बिहिन गाउँनगर



काठमाडौं – राजनीतिक दलहरुले चुनावी तालमेलका कारण विभीन्न ११ स्थानीय तह महिला नेतृत्व विहीन बनाएका छन् । स्थानीय तह निर्वाचन सम्बन्धि ऐनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था गरीएपनि ४ नगरपालिका र ८ गाउँपालिकामा महिला नेतृत्व बिहीन भएको हो ।
बाग्लुङ्गको कालिगण्डकी गाउँपालिका, धादिङ्गको निलकण्ठ नगरपालिका र बेनीघाट गाउँपालिका, दोलखाको विगु र बैत्येस्वर गाउँपालिका, मकवानपुरको थाहा नगरपालिका, लमजुङ्गको मध्यनेपाल नगरपालिका, दोदी गाउँपालिका र मस्र्याङ्गदी गाउँपालिका, डोल्पाको ठूलीभेरी नगर र शे फेक्सुण्डो गाउँपालिका, हुम्लाको नाम्खा गाएँपालिका र कालिकोटको मवाहै गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा महिला बिहीन भएका हुन् । पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये चुनावी तालमेलमा प्रमुख वा अध्यक्ष एउटा पार्टीको र उपाध्यक्ष वा उपप्रमुख प्रमुख फरक पार्टीको हुने भएकोले महिला अनिवार्य नभएको भन्दै दुवै पदमा पुरुष उम्मेदवार उठाएका थिए भने केही तहमा महिला उम्मेदवार भएपनि पुरुषले मात्रै जितेका छन् ।
धादिङको नीलकण्ठ नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रका तालमेलका कारण प्रमुख र उपप्रमुख दुबै पुरुष निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका भीम ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी निर्वाचित भए । बेनीघाट गाउँपालिकामा पनि तालमेलका कारण अध्यक्षमा माओवादीका पित्तबहादुर डल्लाकोटी र उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवाल निर्वाचित भए ।
कांग्रेस र माओवादी तालेमलका कारण दोलखाका विगु गाउँपालिकाको प्रमुखमा कांग्रेसका युधिस्ठीर खड्का र उपप्रमुखमा माओवादीका सञ्जीव वली अनि वैत्येश्वरमा अध्यक्ष कांग्रेसका छवी लामा र उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य निर्वाचित भए ।
सत्तारुढ दुई दलको चुनावी तालेमल भएको कारण मकवानपुरको थाहामा माओवादीका लवशेर विष्ट मेयर र कांग्रेसका खड्ग नेपाली उपमेयर निर्वाचित भएका छन् ।

एमाले र माओवादीको तालमेलका कारण लमजुङ्गको दोर्दी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमबहादुर गुरुङ र उपाध्यक्षमा एमालेका दिलबहादुर घले अनि मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा एमालेका अर्जुन गुरुङ र उपाध्यक्षमा माओवादीका होमबहादुर विक निर्वाचित भएका छन् । एमाले माओवादी तालमेल भएर दुवै पदमा पुरुष उम्मेदवार उठाईएको लमजुङ्गको मध्यनेपाल नगरपालिकामा माओवादीले उम्मेदवार उठाएका मेयर उसले हारेपनि दुवै पदमा पुरुष निर्वाचित भए । त्यहाँ मेयरमा  कांग्रेसका रमेशकुमार पाण्डे र उपमेयउरमा एमालेका राजकुमार श्रेष्ठ निर्वाचित भए । एमाले र राप्रकाको तालमेल रहेको डोल्पाको ठूलीभेरी नगरपालिकामा मेयरमा एमालेका गणशबहादुर शाही र उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही चुनिए । त्यस्तै शेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा तासी तुन्डुक गुरुङ चुनिँदा उपमेयरमा स्वतन्त्र उम्मेदवार धावासन्दुक गुरुङ विजयी भएका छन ।
यी बाहेक बाग्लुङ्गको बडीगाड, हुम्लाको नाम्खा र कालिकोटको मवाहैमा महिला उम्मेदवार भएपनि निर्वाचित भने पुरुष भए ।
बडीगाडमा प्रमुख एमालेका मेयरसिँह पाईजा र उपप्रमुख काँग्रेसका अमर बहादुर श्रीसले जिते । त्यहाँ प्रमुख पदमा काँग्रेसकी गण्डकी थापा अधिकारी उम्मेदवार रहेपनि काँग्रेसका उपप्रमुख पुरुषलाई खस्ने भोट प्रमुख पदकी अधिकारीलाई खसेनन् । हुम्लाको नाम्खा गाउँपालिका प्रमुखमा माओवादीका विष्णु लामा विजयी हुँदा उपमेयरमा स्वतन्त्र उम्मेदवार पुरी लामा चुनिएका छन । कालिकोटका मवाहै गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नन्द सिंह र उपाध्यक्षमा एमालेका मनराज शाही चुनिए । यति हुँदाहुँदै पनि ४ नगरपालिकाको प्रमुख र ९ गाउँपालिकाको अध्यक्ष पद नै महिला चुनिएका छन ।