यूएई – चर्पि अहिले ईज्जतको लागि पनि अनिवार्य भयो । सामान्य चर्पि बनाउँदा के पो समस्या पर्ला र भनेर सबैले पक्की चर्पि नै बनाउने गरेका छन् तर सर्लाहीकी जनातुन खातुनलाई त्यही चर्पि बनाउँदा यूएईमा अलपत्र पर्नु परेको छ ।
चर्पिकै कारण उनी अफू फसेको त्यतिबेला थाहा भयो जतिबेला उनलाई मालिकले ३ लाख नेपाली रुपैयाँमा किनेर ल्याएको जवाफ दिए ।
बढेका छोरीहरुको इज्जत धान्न भनेर खातुनले चर्पि बनाउँदा २ लाख १० हजार ऋण लागेको थियो । ऋण लागेको थाहा पाएपछि खातुनलाई एजेन्टले विदेश पठाउने लोभ देखाउन थाले । ठीकै छ ऋण तिरौँला भनेर विदेश जान मञ्जुर भएकी उनी अन्तत : फसिन् । सजिलो काम र मासिक २५ हजार रुपैयाँ तलव हुन्छ भनेर चिनजानका दलालले उहाँलाई युएई पठाएका थिए । काठमाडौंका फकिर भन्ने एजेन्टले उहाँलाई भारतको बाटो हुँदै युएई पु¥याएको थियो ।
‘खान लागाउन समस्या भए बरु कामै गरेर एक छाक टारीन्थ्यो तर चर्पि नहुँदा छोराछोरीका साथीभाई आउँदा लाज हुने भएपछि चर्पि बनाएँ’ आबुधाबीस्थित नेपाली दूतावासको सेल्टरमा रहेकी खातुनले आफ्नो विगत सम्झँदै पिडा पोखिन् ‘दुई लाख १० हजार रुपैयाँ ऋण तिर्न भनेर विदेश आएको के भो के भो।’ खातुन युएई पुगेको दुई महिना भयो ।
उनका अनुसार युएई पुगे पछि साहु लिन आएका छैनन् भन्दै १७ दिनसम्म कोठामा थुनेर राखियो । १७ दिनपछि मालिकले लगेपनि उनले सोचजस्तो भएन् । घरमा दुव्र्यवहार गर्न थालेपछि खातुनले नेपाल फर्काइदिन साहुलाई धेरै आग्रह गरीन । तर घर फर्काउने भन्दा पनि उनलाई अझ मनपरी व्यवहार गर्न थाले । काम र कमाई दुवै नभएपछि उनले नेपाल नै फर्कने निधो गरीन । तर नेपाल फर्कन सजिलो थिएन । काम राम्रो होला भनेर साहुको ऋण तिर्न विदेशिएकी खातुनले साहुलाई नेपाल फर्काइदेउ भन्दा १२ हजार दिर्हाममा किनेर ल्याएको जवाफ दिएपछि भने उनी छाँगाबाट खसेझैं भईन । ‘दुईचार पैसा कमाउने सपनाको पोको बोकेर युएई आउँदा आफूलाई बेचेर दलाले पैसा पोको पा¥यो होला भनेर सपनामा पनि सोँचेकी थिईन’ उनले भनिन् ‘गरिबलाई जता गएपनि दुःख मात्र भोग्नु पर्ने ।’ उनलाई परदेशमा पनि गरिबलाई नै बेच्दा रहेछन जस्तो लाग्छ ।
सानैमा बुवा वितेपछि उनलाई आमाले काखी च्यापेर काठमाडौं लगेकी थिईन । भएका एउटा दाइ पनि भारत पसेपछि कहाँ हराए थाहा छैन । पाएसम्मका सबै काम गरेर उनको बाल्यकाल बित्यो । गलैंचा उद्योगमा काम गर्न थालेपछि उनलाई रोग लाग्यो । सधै टाउको दुख्ने भएपछि उनी काठमाडौंको वीर अस्पतालमा जाँच गराउन जान्थिन । त्यही क्रममा चिनजान भएकी महिलाले नै उनलाई फकिर भन्ने दलालसँग मिलेर युएई पठाएकी थिइन् । एउटा रोगको उपचारमा जाँदा भेटिएको साथीकै कुरामा बिश्वास गर्दा उनी युएईमा बेचिनु पर्यो ।
खातुन यसअघि पनि कुवेत गएकी थिईन । कुवेतमा पनि घरेलु काममै गएकी उहाँको काम र कमाइ राम्रो थियो । कुवेतको कमाइले उनले सर्लाहीको पिपरिया ५ मा पाँच धुर जग्गा समेत किन्नु भयो । कुवेतबाट फर्केपछि उनले बिहे पनि गरीन । खातुनको विवाह दोब्बर उमेरको मोहम्मद मोक्शायदसँग भयो । बिहेमा दाइजो दिन नसक्ने भएपछि पहिलो श्रीमती बितेका मोक्शायदसँग उनले बिहे गरेकी हुन् । उनलाई विवाह भएको कति भयो सम्झना छैन् ।
दुई छोरी र एक छोरी पनि छन् । भर्खरै ३२ वर्ष लागेकी खातुनको श्रीमान भने ६५ वर्ष लागिसकेका छन् । गाउँकै सरकारी स्कुलमा पढिरहेका तीन जना छोराछोरीलाई राम्रो स्कुल पढाउने उहाँको सपना पूरा भएन् । ‘हुर्केका छोरी छन् कति दिन खेतको आलीमा दिसापिसाव गर्नु भनेर घर फुसको भएपनि पक्कि चर्पी बनाएको ’ ‘खातुनले आँशु झार्दै भनिन ‘एक त विदेश गएको भनेपछि गाउँलेले राम्रो नजरले हेर्दैनन्, झन मलाई के आइलाग्यो ।’ त्यसमा विदेश जादा तिरेको २५ हजार पनि थपिएको छ । १२ हजार दिर्हाममा बेचेका दलालले उनीसंगबाट पनि २५ हजार उठाउन भ्याएछन् । कालो वर्णकी खातुन छोरा भने गोरो भएको बताउँछिन । त्यसैले गोरो मान्छे देख्नासाथ आफ्नै छोरा जस्तो लाग्छ । छोरो पढाएर पत्रकार बनाउने सपना बोकेकी खातुनलाई अब नेपाल फर्किएर कसरी बालबच्चा पढाउने अनि ऋण तिर्ने चिन्ता छ । ।
पैसा जुटाएर उद्दार
सरकारले गएको फागुनदेखि वैधानिक रुपमा महिलालाई घरेलु काममा पठाउन रोक लगाए पनि भारत लगायतका बाटो हुँदै घरेलु काममा जाने महिलाको संख्या बढिरहेको छ ।
यसरी अवैधानिक बाटो हुँदै विदेश आउने महिलालाई विभिन्न तवरबाट अर्थिक सहयोग जुटाएर नेपाल पठाउने गरेको दूतावासकी श्रम सहचारी हिरा कुमारी यादवले बताईन ।
खातुनको सहयोगका लागि पनि युएईमा रहेको नेपाली मुस्लिम समुदाय र सर्लाही सेवा समाजलाई अनुरोध गरिएको छ । त्यस्तै हवाई टिकट जुटाउन युएईको आबुधाबीमा कार्यरत गायक प्रकाश पौडेलले सामाजिक सन्जाल मार्फत अभियान चचलााएका छन् । उज्यालोबाट
प्रतिक्रिया दिनुहोस्