झापा – मितआमाको घर हिँडेकी महिलालाई नग्न बनाई झापा जिल्लास्थित चियाबारीमा लुकाएर रकम माग गर्ने समूहका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ ।
प्रहरीका अनुसार इलामकी ३५ वर्षीया ‘फ कुमारी’ परिवर्तित नाम मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो ।
सालबाडीका विजयबहादुर राना र नविन डाँगीसहितको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे । यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक(पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन् ।
उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ ।
तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे । पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा निकाल्न बैंकतिर लागे ।
त्यही क्रममा पीडितका भाइ भागेर प्रहरी कहाँ पुगे । प्रहरी टोलीले घटनास्थल पुगेर चियाबारीभित्रबाट नाङ्गो अवस्थामा महिलाको उद्दार गरेको छ ।
प्रहरीका अनुसार यो समूहले उनीहरुको साथमा रहेको १२ हजार २०० लिएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्