मंसिर १४, २०८१ शुक्रबार

यूएईमा प्रत्येक महिना ४ नेपाली महिला यौनहिंसामा



यूएई – सोलुखुम्बुकी २२ वर्षीया युवती मोनिका यूएई अाएको काम गरेर पैसा कमाउनका लागि हो तर चौध दिन देखि दुतावासमा छिन। सुदीप गुरुङ नामका एजेन्टले दिल्ली हुँदै युएई पुर्याएपछि सात महिनाअघि युएई आएकी थिइन्।

‘काठमाडौंबाट चितवनको भरतपुर र त्यहाँबाट गाडीमा नेपालगन्ज हुँदै दिल्ली ल्याएका थिए,’ उनले भनिन्, ‘दिल्लीबाट दुबई ल्याए। यहाँ आउँदा हाउस–किपिङको काम भनिएको थियो, एक जना अरबीकहाँ हाउस–मेडको काम लगाए।’

उनले त्यहाँ राति २ बजे सुतेर बिहान ५ बजे उठ्नुपर्थ्यो। यतिसम्म त ठिकै थियो, उनले सहेकै थिइन्। असह्य त्यतिबेला भयो, जब ती अरबीले यौनहिंसा गर्न थाले। उनले प्रतिरोध गर्दा कुटाइ खानुपर्थ्यो।

‘मैले तँलाई किनेर ल्याएको हो, जे पनि गर्न सक्छु भन्दै शारीरिक यातना दिन थाल्यो,’ उनले सम्झिइन्, ‘मेरो मोबाइल फोन खोसेर राखेको थियो। घर र साथीभाइसँग सम्पर्क गर्न पनि दिन्थेन।’

‘एकदिन घरमा कोही नभएको मौका छोपेर म भागेँ,’ उनले भनिन्।

त्यहाँबाट भागेपछि दुबईमा एक जना नेपालीसँग भेट भयो। उनी दुई सय दिराम सापट मागेर दुई सय किलोमिटर टाढा राजधानी आबुधावी पुगिन्। र, दूतावासको शरणमा आइन्।

‘एजेन्टले मलाई महिनाको ९ सय दिराम तलब पाइन्छ भनेका थिए,’ उनले भनिन्, ‘यहाँ आएदेखि तलबको मुख देख्न पाएको छैन।’

उनीसँगै नेपाली दूतावासको सेल्टरमा यतिबेला अरु तीनजना दिदीबहिनी पनि छन्। उनीहरुमध्ये तीन जना महिला भुइँमा म्याट्रेस ओछ्याएर पल्टेका थिए। एक जना कुर्सीमा बसेर टोलाइरहेकी थिइन्।

सेल्टरमा सुत्ने, भान्सा र शौचालय एकैठाउँ, भान्साको टेबलमा तरकारी छरपस्ट ।  त्यसैको बिचमा तनहुँकी एक युवती पनि डेढ महिनादेखि सेल्टरमै छिन्। उनलाई राजु लामा नामका एजेन्टले एक वर्षअघि दुबईको शारजाहाँ ल्याएका रहेछन्।

‘धेरै पैसा कमाउने आशमा तीनवर्षे छोरी छोडेर आएँ, १० महिनादेखि तलब पाएको छैन, पैसा माग्दा यातना दिन्छ,’ उनले भनिन्।

एजेन्टले इलामको पशुपतिनगर हुँदै दिल्ली पुर्याएको उनले बताइन्।

महिला सेल्टरमा रहेका चारै जनाको कथा लगभग उस्तै छ। रोजगार क्रममा यौनहिंसा र शारीरिक शोषणको शिकार भएर आश्रय लिन आएका यी महिलालाई दूतावासले समयमै स्वदेश फर्काउन भने सकेको छैन।

अवैध बाटोबाट आएकाले उद्धार गर्न समय लाग्ने गरेको दूतावासको भनाइ छ। हवाइ टिकट किन्ने पैसा नभएकाले पनि ती चार जना अड्किएका हुन्।

‘वैध बाटो आएका भए सरकारी कोषको रकम हालेर स्वदेश पठाउने प्रक्रिया सहज हुन्थ्यो,’ दूतावासका श्रम सहचारी मोतिराम भुसालले भने।

यो चार जनाको मात्र समस्या होइन। अवैध रूपमा युएई आएर अलपत्र परेकालाई स्वदेश फर्काउन अरू बेला पनि यस्तै समस्या पर्छ।

दूतावासले विभिन्न संघ–संस्थासँग समन्वय गरेर टिकटको व्यवस्था मिलाउँदै आएको छ। यसैगरी दर्जनौं युवतीको उद्धार गरिसकेको दूतावासले जनाएको छ।

यी चार जनालाई पनि ट्राभल डकुमेन्ट बनाएर चाँडै स्वदेश पठाउने तयारी भइरहेको अर्का श्रम सहचारी भेषबहादुर कार्कीले जानकारी दिए।

‘स्वदेश पठाउने प्रक्रिया भइरहेको छ,’ युएईका लागि कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुँयालले सेतोपाटीसँग भने, ‘म आएको एक महिनाजति भयो, अब सेल्टर पनि राम्रो बनाउँछु।’

युएईमा ६० भन्दा बढी संघ–संस्था छन्। यस्ता संस्था समुदाय वा क्षेत्र विशेषका बढी छन्। दूतावासले समुदाय वा क्षेत्र हेरेर सम्बन्धित संस्थासँग सहयोग माग्ने गरेको छ।

गुरुङ थरकी युवती समस्यामा परे गुरुङ समाज युएईसँग, राई थरकी युवती छिन् भने राई समाज र बाहुन थरकी छिन् भने ब्राह्मण समाजसँग समन्वय गरेर टिकट मिलाइदिने गरेको छ।

युएईमा चार लाख हाराहारी नेपाली छन्। त्यसमा डेढ लाखजति महिला कामदार रहेको अनुमान छ। हरेक महिना औसत सात जना महिला समस्या लिएर दूतावास आउने गरेको तथ्यांक छ। दूतावासका अनुसार हाउस–मेडमा काम गर्न आएका ७० प्रतिशतभन्दा बढी यौनहिंसाको शिकारमा पर्छन्।

केही महिनाअघि गोरखाकी एक युवतीले यौनहिंसा सहन नसकेर आत्महत्या गरेको उनको भिडियोबाट खुलासा भएको थियो।

सरकारले खाडी मुलुक जाने महिला कामदारलाई कडाइ गर्दै आए पनि अवैध बाटो जानेको संख्या बढ्दो छ। एजेन्टहरूले भारतीय विमानस्थल बढी प्रयोग गरेको पाइएको छ।

भारत हुँदै तेस्रो मुलुक जाने नेपाली कामदारलाई दिल्लीस्थित नेपाली दूतावासको पत्र चाहिन्छ। पर्यटक भिसामा जानेबाहेकलाई दूतावासको पत्र अनिवार्य गरिएको छ। यसमा भारतले पनि सहमति जनाएको थियो। कार्यान्वयन भने भएको छैन।

भारत हुँदै खाडी मुलुक जाने नेपाली कामदारलाई त्यहाँका अध्यागमन कर्मचारीले दूतावासको पत्र सोधखोज गरे समस्या कम हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले बताए।

‘विदेश लैजान्छु भन्दै गाउँ–गाउँ घुमेर मान्छे खोज्ने एजेन्टहरूको बिगबिगीले यस्तो समस्या आएको हो,’ उनले भने, ‘त्यस्ता एजेन्टले नेपालदेखि नै सेटिङ मिलाएका हुन्छन्।’

उनले एजेन्टको बहकाउमा नलाग्न र नेपालकै विमानस्थलबाट मात्र विदेश जान्छु भनी अडान लिन आग्रह गरे।

नेपाल रेमिटेन्सले धानेको भए पनि वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षामा सरकार गम्भीर नभएको उनको भनाइ छ। सरकारले सम्बन्धित देशका अधिकारीसँग कूटनीतिक छलफल गरेर समस्या सुल्झाउनुपर्ने उनले बताए।

घरेलु कामदार सरोकार समितिका अध्यक्ष किसन प्रधान भने सरकारले वैधानिक बाटो बन्द गर्दा बाध्य भएर भारतीय बाटो जानुपरेको बताउँछन्।

‘कामदारको दोष म देख्दिनँ,’ उनले भने, ‘सरकारले काम नदिने र घरेलु कामदारका लागि बाटो पनि नखोल्दा समस्या बढ्दै गएको छ।’

सरकारले गत चैत २२ देखि खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको हो। केही साताअघि जोर्डनका लागि खुला गरिएको छ।

श्रम मन्त्रालयले घरेलु कामदार पठाउने म्यानपावरलाई २५ लाख धरौटी तोकेको छ। म्यानपावरको जिम्मा लगाएर भए पनि पठाउने व्यवस्था गरे अवैध बाटो बन्द हुने प्रधानले बताए।

युएईसँगै कुवेत, ओमान, कतार र साउदी अरबमा नेपाली घरेलु कामदार छन्। भारतीय बाटो हुँदै र पर्यटक भिसामा समेत जाने हुँदा संख्या यकिन छैन। वार्षिक ४ हजारसम्म महिला कामदार खाडी मुलुक पुग्ने गरेको अनुमान छ। तीमध्ये धेरैले भारतकै बाटो रोज्ने गरेको घरेलु कामदार सरोकार समितिका महासचिव डिबी तामाङले बताए।

‘सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोकेपछि चोरबाटो जाने क्रम बढ्दो छ,’ उनले भने।

यो सँगै यौनहिंसा र शारीरिक शोषणको शिकार भएर दूतावास आउनेको संख्या पनि बढेको छ। प्रत्येक महिना औसत सात जनालाई उद्धार गरेर स्वदेश फर्काइँदै आएको उनले बताए।

उनका अनुसार यी सात जनामध्ये कम्तिमा ४ जना यौनहिंसाका शिकार हुन्छन्। बाँकी तलब सुविधा नपाएर वा भनेजस्तो काम नभएर दूतावास पुग्छन्। सेताेपाटीबाट