मंसिर १४, २०८१ शुक्रबार

देशभरका उपसभामुखको पत्रकारलाई प्रश्न- मिडियामा हाम्रा समाचार खोइ ?



“ धेरै रात नसुतेरै बिते,कयौ दिनहरु भोक-भोकै हिडेर बिताइयो, त्यो सबै मेहनत र संघर्ष आजको उपलब्धिका लागि थियो । तर हामीले गरेका कामहरु मिडियामा किन आउदैनन् ?

सोमबार काठमाडौका पत्रकारहरुलाई प्रश्न गर्दे प्रदेश नम्बर ७ की उपसभामुख निर्मला जोशीले आफुले गर्ने राम्रा कामहरु सञ्चारमाध्यममा नआउनुको कारण सोधिन् ।

उनले राजनिति गर्ने महिलाहरु संग पत्रकारहरु नजिक आउन नखोज्ने,नचाहने कारणले गर्दा पनि आफुहरुले गरेका राम्रा कामहरुको समाचार सञ्चारमाध्यममा आउन नसकेकोमा दुखेसो पोखिन् ।

“हामीबिच पत्रकारहरु नजिक आउन नखोज्ने-नचाहने सायद त्यसको कारण पुरुषवादी संस्कार नै होला ।” – उनले भनिन- प्रदेश तथा प्रतिनिधिसभाका उपसभामुखले सोमबार काठमाडौंमा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा राष्ट्रिय सभाका उपाध्यक्ष,संघिय संसदका उपसभामुख सहित ७ वटै प्रदेशका उपसभामुखले एकै स्वरमा मिडियाले आफुहरुलाई स्थान नदिएको बताए ।

उनीहरुले संसदमा कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको भएपनि राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण नहुने बताए ।
राष्ट्रिय सभाका उपाध्यक्ष शसिकला दाहालले लामो संघर्षपछि मात्र महिलाहरुले राजनिति र राज्य संचालन प्रक्रियामा सहभागी हुने अवसर पाएकोले पत्रकारहरुले सहयोग गर्नुपर्ने बताइन् ।

प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले पत्रकारीतामा महिलाको संख्या कम हुनुले पनि राजनिति गर्ने महिलाहरुको समाचार मिडियामा प्रकाशन प्रसारण नभएको हुन सक्ने बताइन् । उनले स्वभावैले पत्रकार पुरुष नेताहरुसंग नजिक हुने, अनौपचारिक भेटघाट बढी हुने कारण पनि महिलाका तुलनामा पुरुष राजनितिज्ञका समाचार,विचार,अन्र्तवार्ता बढी आउने बताइन् ।

प्रदेश नम्बर १ कि उपसभामुख सरस्वती पोख्रेलले सभामुखको सहायकको अवस्थामा रहेको उपसभामुख पदमा बसेर धेरै जिम्मेवारी खोज्दा सभामुखलाई हस्तक्षेप गरेको जस्तो देखिने र जिम्मेवारी नै नखोज्दा पनि आफू हराइने भएकाले अन्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने अवस्थामा रहेको औंल्याइन् ।

गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले सभामुख बिरामी पर्दा, जिल्लाबाहिर हुँदा र उपस्थित हुन नसक्दा मात्रै संसद चलाउने अवसर उपसभामुखलाई हुने भन्दै उपसभामुखलाई क्षमता देखाउने अवसर नै नभएको बताइन् ।