बाँके — पश्चिम नेपालमा रजश्वला भएको बेला महिलालाई गोठमा राखिन्छ तर नेपालगन्जको एक मन्दिरमा भने ३ पुस्तादेखि महिला पुजारी छन् । कारकादोस्थित हनुमान मन्दिरकी पुजारी ६५ वर्षीया प्रेम दास हुन् ।
उनले २५ वर्षदेखि मन्दिरमा पूजाआजा गर्दै आएकी छन् । बिहान ४ नबज्दै उनी सेतो सारी पहिरेर पूजा गर्न थाल्छिन् । मन्दिरको संरक्षणको जिम्मा पनि उनकै काँधमा छ । यसअघि हजुरआमा र आमापुजारी थिए । उनका ३ पुस्ताले पूजा गरेर जीवन बिताएको उनले बताइन् ।
पूजा गर्नु उनको जिम्मेवारी हो । यो मन्दिर सार्वजनिकजस्तै छ । यहाँ भक्तजन पूजा गर्न आउँछन् । अझ महिला पुजारीले मन्दिर सजाएको देखेर दंग पर्छन् । स्थानीयले पूजा गर्न टाढा धाउनु पर्दैन । हिन्दु धर्म मान्नेहरू र खासगरी हनुमानका भक्त मन्दिरमा आउने गर्छन् । पहाड घर दैलेख रहेकी कृतिका बस्नेतले महिला पुजारी हुन्छन् भन्ने सुनेकी थिइनन् । नेपालगन्ज आएपछि उनले पहिलोपटक यो मन्दिरमा महिला पुजारी देखिन् । ‘सुरुमा म छक्क परें,’ उनले भनिन्, ‘पुजारी प्रायस् पुरुष नै हुन्छन्, यहाँ महिला देखेर खुसी लाग्यो ।’
यस मन्दिरमा पूजा गर्न मात्र आउँदैनन्, पुजारी प्रेम दाससँग जीवनका भोगाइ सुन्न आउने पनि धेरै हुन्छन् । फुर्सदमा मन्दिर परिसरमा बसेर महिला दिदी–बहिनीमाझ हनुमान चालिसा सुनाउँछिन् । कतिपयले आफ्नो मनको वह पोख्ने थलो पनि प्रेम दासको मन्दिरलाई बनाएका छन् ।
इमिली बुढाथोकीका घरनजिकै अरू मन्दिर पनि छन् तर उनी पूजा गर्न यही मन्दिरमै धाउँछिन् । पुरुषभन्दा महिला पुजारीसँग अलिक नजिक भएको महसुस गर्छिन् । प्रेम दास मायालु स्वभावकी छन् । उनी मन्दिर आउनेलाई प्रसाद नखुवाई पठाउँदिनन् । ‘म मन्दिर रित्तै आउँछु,’ इमिलीले भनिन्, ‘आमा पुजारीले हातभरि मिठाइ दिनुहुन्छ । खाएरै घर फर्किन्छु ।’
महिला पुजारी भएकैले उनलाई बाहिरकाले शंकाको प्रश्न गर्छन् । कतिपयले नौलो लागेर सोधपुछ गर्न थाल्छन् । प्रेम दासले यस्तो बेला भगवान्का लागि सबै बराबर भन्दै छोटो उत्तर दिने गरेको बताइन् । अचेल भने उनको निरन्तर कर्म देखेर समाजले सामान्य ढंगले लिन थालेको छ ।
प्रेम दासका पुर्खाले सम्पत्तिका नाममा यही मन्दिर बनाएर गए । चार दिदी–बहिनीमध्ये उनी दोस्रो सन्तान हुन् । दाजुभाइ कोही छैनन् । यसले गर्दा पनि पुर्खाले आर्जेको मन्दिर प्रेम दासको जिम्मामा आइपुग्यो । अरू दिदी–बहिनी बिहेपछि घरजममै रमाएका छन् ।
प्रेम दासले भने परिवारसँगै मन्दिरको धर्म पनि निभाएकी छन् । प्रेमले सानैमा बिहे गरिन् । तीन छोरा छन् । अहिले त नातिसमेत भइसके । उनीचाहिँ मन्दिरको पुजारी बनेर जीविकोपार्जन गरिरहेकी छन् । उमेरसँगै प्रेम दासको महिनाबारी रोकिएको छ । महिनाबारी रोकिएपछि प्रेम दास खुसी छन् ।
किनभने, उनलाई अब पूजा गर्न कुनै दिन बिराउनु पर्दैन । ३ पुस्तादेखि महिलाले नै धानेको मन्दिरमा प्रेमपछि कुनै महिला पुजारी हुने सम्भावना छैन । ‘नातिनी कोही जन्मेका छैनन्,’ उनले भनिन्, ‘त्यसैले आफूपछि नातिनीलाई मन्दिर सुम्पिने मेरो चाहना अधुरै रहने भो ।’
किशोर अवस्थामा पुजारी बन्दा उनले धेरै नियममा बाँधिनु परेको सम्झिन्छिन् । ‘महिनाबारी भएको १५ दिनपछि मात्रै मन्दिर पस्न पाउँथें,’ उनले भनिन्, ‘त्यति दिनसम्म मन्दिरमा पूजै हुन्थेन ।’ उनकी हजुरआमा र आमाले पनि यसैगरी पूजा गर्थे ।
प्रतिक्रिया दिनुहोस्