ट्याक्सी गुड्यो सरर पोखराको बजारमा
कति आए कति गए हाम्रो नजरमा’
तिलकबम मल्लकाे याे गीत झैं एकपटक भेटिनेकाे केही सम्झना हुँदैन । तर यहि गीतमा भनिएकाे पाेखराकाे बजारमा ट्याक्सी नं ४३४१ एकपटक भेटेपछि सबैकाे सम्झनामा रहिरहन्छ । सम्झाउने कारण हुन् चालक विष्णु कुँवर ।
चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ । तर निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन आएका महिलाहरुकाे सूचीमा विष्णुले मानिसमा महिला चालककाे छाप पारेकी छन् ।
सानैदेखि फरक क्षेत्रबाट अघि बढ्न रुचि राख्ने कुँवर एथलेक्टिस र तेक्वान्दोको खेलाडीसमेत हुन्। मेहनत र कर्ममा विश्वास गर्ने कुँवरले प्रवेशिकासम्मको अध्ययन गरेकी छन् ।
सिन्धुलीका लोकबहादुर न्यौपानेसँग प्रेमविवाह गरेकी कुँवरले शुरुका दिनमा पोखरा सभागृह सडकपेटीमा तरकारीको व्यापार गरिन् ।
दिनहुँ सयौँ ट्याक्सी ओहोरदोहोर गर्दा सबै पुरुष चालक मात्रै देखिन्थे । प्राइभेट कार हाँक्ने महिला भने प्रशस्त देखिन्थे ।
उनलाई लाग्यो महिला पनि ट्याक्सी चालक बन्न सक्दैनन् र ? उनलाई आफैँभित्रको प्रश्नले आफैँलाइ जगायो र ट्याक्सी सिक्न प्रेरित गर्यो ।
उनले विसं २०६७ वैशाखमा ट्याक्सी चलाउन सिकिन् र लगत्तै अनुमतिपत्र पनि लिइन् । श्रीमानलाई आफूले ट्याक्सी चलाउन चाहेको बताइन् तर उनले स्वीकृति दिएनन् ।
पछि माइतमा बुबाले ‘हुन्छ नि, तिमीले चलाउन सक्छौ’ भनेर आँट दिए । कुँवरको आत्मविश्वास बढ्यो र विस्तारै श्रीमान्को साथ पनि थपियो ।
उनले मासिक रु २८ हजार किस्ता बुझाउने गरी बैंकबाट रु १३ लाखमा नयाँ मारुती अल्टो गाडी निकालिन् ।
विसं २०६७ जेठ १६ गतेदेखि कुँवरको परिचय महिला ट्याक्सी चालक भनेर फेरियो । फरक क्षेत्रमा आठ वर्षदेखि अविचलित उनी देशका कुनाकन्दरा पुगेकी छन् ।
धेरै रातका बाटो छिचोलेकी छन् । बीच बाटामा टायर पङ्क्चर हुँदा टायर फेर्नुपरेको छ । सानोतिनो पार्टपुर्जाको काम आफैँ मिस्त्री बनेर बनाएकी छन् ।
आफ्नो कामप्रति उनलाई उत्तिकै आत्मसम्मान छ । उनी निकै सन्तुष्ट छिन् । हताश, निराश र अल्छी नमान्ने हो भने मासिक रु ६० हजारको कमाइ हुने कुँवर बताउँछिन् ।
उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन् । श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउँछन् । दुवैको आम्दानी सन्तोषजनक छ ।
रिजर्भमा उनको खोजी बढी हुने गर्छ । एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन्। यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ ।
पेशाप्रतिको इमान्दारी पनि कुँवरमा उत्तिकै छ । त्यसैले पाेखरामा दर्ता भएका ६ हजार ट्याक्सीमध्ये उनले फरक पहिचान बनाएकी छन् ।
एकचोटि पोखरादेखि काठमाडौँ जाने क्रममा एक यात्रुले ट्याक्सीमै झोला छाडे । पछि फर्कने बेला कलङ्कीमा त्यो झोला देखिन्।
चेक र नगद गरेर झण्डै रु १७ लाख रहेछ । पछि प्रहरीमार्फत सम्बन्धित यात्रुलाई बुझाइन् । यस्तो भइरहन्छ । कुँवरले आफ्नो इमान्दारी प्रदर्शन गर्दै आएकी छन् ।
आज पनि ती यात्रु जापानबाट आएपछि कुँवरकै ट्याक्सीमा यात्रा गर्न मन पराउँछन् ।
कुँवर भन्छिन्, ‘सबै कुराबाट खुशी छु तर एउटै कुरामा सन्तुष्ट हुन सकेको छैन । मैले थुप्रै सम्मान पाएको छु, आम्दानी पनि राम्रो छ । त्यस्तो कुनै असहज अवस्थाको सामाना गर्नु परेको पनि छैन। आठ वर्षदेखि म यो क्षेत्रमा एक्लै छु । अर्को ट्याक्सी चालक महिला आउनुभएको छैन ।’
यस क्षेत्रमा आत्मविश्वास र धैर्यसँगै घर परिवार र समाजबाट सकरात्मक साथको जरुरी हुने उनी बताउँछिन् ।
‘सरकारले थुप्रै पैसा महिला सशक्तीकरणको नाममा खर्च गरेको छ । सिलाइकटाइ, गुडिया र अचार बनाउन भन्दै रकम खर्चिएको पाइन्छ बरु केही महिलालाई निःशुल्क ट्याक्सी चलाउन तालीम र सस्तो व्याजमा ऋण उपलब्ध गराउने हो भने यो क्षेत्रमा पनि महिलाको उपस्थिति बढ्न सक्थ्यो’, उनले भनिन् ।
सरकारले विशेष पहल थाल्ने हो भने यस क्षेत्रबाट महिलाको जीवनस्तरमा परिवर्तन आउने उनको विश्वास छ ।
‘ट्याक्सी बोलाउँदै धुलो उडाउँदै
मायाले बोलाउँछ रुमाल हल्लाउँदै’
प्रतिक्रिया दिनुहोस्