काठमाडाैं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा भिषण पहिरो जाँदा गाउँ नै पुरिएको छ। बिहान ६ बजे पहिरो जाँदा २२ घर पुरिएको पत्रकार श्रीधर न्यौपानेले बताएका छन् ।
पहिरोका कारण केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको उनले बताएका छन् । प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए।
पहिरोले लामा गाउँ पुरिदा १३ घर पुरै क्षति भएको, ५ घरका सबै सदस्य सम्पर्क विहिन रहेको र १५ जना घाइते आफैं निस्किएको स्थानीयले बताएका छन् ।
पहिरो गएको ठाउँमा जान सक्ने अबस्था नरहेको कारण पहिरोमा कति जना पुरिएका छन् भन्ने अझै खुलेको छैन । अहिले उद्धार टोली हेलिकोप्टर सहित पहिरो गएको स्थानमा गएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए।
लिदिमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको वडा अध्यक्ष प्रताप लामाले बताए। तर कसैले वस्ती स्थानान्तरका लागि पहल गरेकाे थिएन ।
घटनाको थप विवरण आउन भने बाँकी छ ।
यसैविच अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।
जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।
सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।
घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए। उनका अनुसार घर भत्केको छ।
प्रतिक्रिया दिनुहोस्