मन्त्रीपरिषद् विस्तारसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएर उनको ठाउँमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
प्रधानन्त्री ओलीले बुधबार तीनजना मन्त्री थपेर मन्त्रीपरिषद विस्तार तथा केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।
नयाँ मन्त्री बन्नेमा श्रेष्ठसँगै विष्णु पौडेल र कृष्णगोपाल श्रेष्ठ छन् । पौडेलले अर्थ मन्त्रालय र श्रेष्ठले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यस्तै मन्त्रालय हेरफेर हुनेमध्ये उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ ।
पोखरेलले सम्हालेको रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।
नवनियुक्त मन्त्रीहरूको सपथ भने भाेली हुने जानकारी प्राप्त भएकाे छ । यसका लागि राष्ट्रपति कार्यालयले तयारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस्