नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३०० विशिष्ट महिलाहरुको सचित्र जीवनी प्रकाशित हुने भएको छ।
महिलाहरुले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सांस्कृतिक संग्रहालयले सचित्र जीवन प्रकाशित गर्न लागेको हाे ।
सो संस्थाले यसअघि पुराना र नेपालमा कुनै पनि काम पहिलो पटक गर्ने महिलाबारे ‘नेपालका विशिष्ट महिलाहरुः ऐतिहासिक फोटो प्रर्दशनी’ गर्दै आएको थियाे ।
सांस्कृतिक संग्रहालयका अध्यक्ष क्षितीज अरुण श्रेष्ठका अनुसार नेपालका प्रथम नर्स लामु अमात्यको नाममा ‘विशिष्ट महिला अभिलेखिकृत अभियान –२०७७/७८’ अन्तर्गत महिलाहरुबारे अध्ययन अनुसन्धान गरी लेखन र प्रकाशन गर्न लागिएकाे हो।
जीवनी लेखनको जिम्मा विभिन्न पुस्तक लेखन तथा प्रकाशन गर्दै आएको घोष्ट राईटिङ नेपालले लिएको श्रेष्ठले बताए।
आगामी ६ महिनाभित्र सचित्र जीवनी प्रकाशित गरिसक्ने गरी दुई संस्थाबीच सम्झौता भइसकेको छ। जीवनी लेखनका लागि देश तथा विदेशमा रहेर विभिन्न विधामा विशेष योगदान पु¥याउने महिलाहरुको खोजी भइरहेको जनाइएको छ।
अभिलेखिकृत अभियान अन्तर्गत डिजिटल आर्काइभ, फोटो पुस्तक प्रकाशन र साताव्यापी फोटो प्रदर्शनीलगायत काम पनि गरिने भएको छ। जीवनीमा नेपालका ‘विशिष्ट महिलाहरू’, ‘प्रथम महिलाहरू’, ‘साहसिक महिलाहरू’ र ‘नेपालका चर्चित महिलाहरू’ लाई समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्