किशोरावस्था भन्नाले १० देखि १९ वर्ष उमेरका केटा वा केटीलाई बुझाउ‘छ । किशोरावस्था बाल्यअवस्था देखि वयस्क अवस्थामा प्रवेश गर्ने क्रममा शारीरिक, मनोवैज्ञानिक एवम् सामाजिक परिपक्वता हासिल गर्ने परिवर्तनशील अवस्था ।
यसै समयमा महिला तथा पुरुषमा प्रजनन क्षमता अर्थात बच्चा जन्माउने क्षमताको विकास हुनथाल्छ । महिलाको शरीरमा डिम्व उत्पादन गर्ने क्षमताको विकास हुन्छ र पुरुषको शरीरमा वीर्य र शुक्रकीट उत्पादन गर्ने क्षमताको विकास हुन्छ । किशोरीहरूमा महिनावारी शुरु हुन्छ ।
यो समयमा किशोर किशोरीहरु विपरित लिंगीहरुप्रति आकर्षित हुन्छन र प्रेम सम्बन्धमा पर्छन् । प्रेम मात्र होइन किरोरावस्थामा अविवाहित किशोर किशोरीहरु पनि यौन क्रियाकलापमा चाँसो राख्ने र संगल्न समेत हुन्छन् ।
यौनकै कारण कतिपयले यो अबस्थामा गलत बाटो समातेको पनि घटनाहरु सार्वजनिक भैरहेका हुन्छन् ।
अर्कोकुरा आफूले भनेको कुरा हुनैपर्ने जिद्धी गर्ने, चाहेको काम गर्नैपर्ने, साथीभाइको कुरा ठीक लाग्ने तर र अविभागकले अर्ति उपदेश दिएमा बेठीक मान्ने, झर्कने पनि यही समयमा हुन्छ । जसका कारण संगतले गलत बाटो समात्ने जोखिम पनि यो बेला धेरै हुन्छ ।
त्यसैले आमाबाबुले उनीहरूलाई यो बेला माया तथा उनीहरूलाई समस्या पर्दा त्यसबाट छुटकारा पाउन सहयोग गर्नु महत्वपुर्ण हुन्छ। यदि किशोरावस्थाको छोराछोरीबीचको सम्बन्ध राम्रोसँग अगाडि बढिरहेको भएपनि वा चुनौतीपुर्ण रहेको अवस्था भएपनि अविभावकले निकै ख्याल गर्नु पर्छ । यसका लागि युनिसेफले दिएका केही सुझाव यसप्रकार छन् ।
सुझाव १ : तपाईंको किशोरावस्थाका छोराछोरीलाई उनीहरूका भावना व्यक्त गर्न हौसला दिनुहोस्
• उनीहरूको अवस्था बुझ्ने गर्नुहोस्। उनीहरूको दिन कस्तो बित्यो र अचेल केमा व्यस्त छन् भन्ने कुरा सोध्नुहोस्। यसका लागि खाना बनाउन सहयोग माग्ने आदि उपाय लगाएर उनीहरूसँग केहि बेर कुराकानी गर्न सक्नुहुन्छ ।
• तपाईं सधैं उनीहरूको लागि हाजिर रहेको कुरा स्मरण गर्दै उनीहरूले जस्तोसुकै महशुस गरिरहेका वा सोचिरहेका भए पनि आफुलाई भन्न आग्रह गर्नुहोस्।
• उनीहरूले असहज महशुस गरिरहेका भए पनि उनीहरूको भावना बुझ्नु र त्यसको कदर गर्नु महत्वपुर्ण हुन्छ। जस्तै – उनीहरूले आफ्ना भावना वा सोचाई बताइरहँदा ‘मैले बुझें’ वा ‘तिमीलाई अप्ठेरो परेको छ जस्तो लाग्यो नि’ वा ‘त्यो कुरा सहि हो’ भन्ने।
• उनीहरूले तपाईंलाई मन नपर्ने क्रियाकलाप गरिरहेका छन् भने त्यो थाहा पाउन तपाईंलाई सजिलो हुन सक्छ। चाहे एकदमै साधारण किन नहुन्, उनीहरूले गरेका राम्रा काम याद गर्ने र तारिफ गर्ने कोशिश गर्ने।
सुझाव २ : तपाईंको किशोरावस्थाका छोराछोरीलाई सहयोग गर्नको लागि समय निकाल्नुहोस्
• बदलिदो परिस्थितिसँगै उनीहरूका दैनिक कार्यसुची र पुरा हुने किसिमको दैनिक लक्ष्य तय गर्न सहयोग गर्नुहोस् ।
• किशोरावस्था भनेको स्वतन्त्रता पनि हो! उनीहरूलाई आफ्नै किसिमले समय विताउनको लागि पर्याप्त समय दिनुहोस् बढ्ने उमेरमा उनीहरूलाई आफ्नै किसिमले समय बिताउन मन लाग्नु सामान्य कुरा हो।
• गृहकार्य, घरको काम वा अन्य क्रियाकलपहरूबाट केहि समय विश्राम लिएर उनीहरूलाई रमाइलो लाग्ने काम गर्नका लागि हौसला दिन सक्नुहुन्छ। कुनै समस्या परेर उनीहरू निराश भएको समयमा यसो गर, उसो गर भन्नु भन्दा मिलेर उक्त समस्याको समाधान निकाल्नको सहयोग गर्नुहोस्।
सुझाव ३ : तपाईं र तपाईंका किशोरावस्थाका छोराछोरीबीचको मतभेद समाधानको लागि काम गर्नुहोस्
• उनीहरूको विचार सुन्नुहोस् र शान्त भएर आफ्नो र उनीहरूबीचको मतभेदको समाधान निकाल्ने कोशिश गर्नुहोस्। याद राख्नुहोस्: उनीहरू पनि तनावमा छन्।
• रीस उठेको समयमा कुनै पनि विषयमा छलफल नगर्नुहोस्। उनीहरू बसेको ठाउँबाट निस्किनुहोस् र शान्त हुनुहोस् – यसको बारेमा उनीहरूसँग पछि कुरा गर्न पनि सक्नुहुन्छ।
• शक्ति संघर्ष नगर्नुहोस्। अहिले विश्व नै अनपेक्षित समयमा गुज्रिरहेको समयमा किशोरकिशोरीलेआफुलाई नियन्त्रण गर्न असहज महशुस गरिरहेका हुन सक्छन् र उनीहरूको लागि विकल्प पनि सिमित रहेका छन्। उनीहरूको इच्छा र भावनालाई दबाउनु भन्दा पनि अहिलेको असहज परिस्थितिमा काबुमा बस्ने कार्यमा उनीहरूलाई सहयोग गर्नुहोस्।
• उनीहरूसँग इमान्दार र पारदर्शी रूपमा प्रस्तुत हुनुहोस्: तपाईं आफैले पनि तनाव महशुस गरिरहेको कुरा उनीहरूलाई भन्नुहोस्। तपाईंले गाह्रो समयमा कसरी आफैलाई सम्हाल्नुभयो भन्ने कुराले उनीहरूलाई पनि हौसला प्रदान गर्दछ।
• कुनै मतभेद भएको समयमा तपाईं र उनीहरूसँग मिलेर त्यसको समाधान कसरी निकाल्न सकिन्छ भन्ने कुराको बारेमा कुराकानी गर्नुहोस्। यसो गर्नाले उनीहरूमा तपाईंको विचार प्रवाह कसरी भइरहेको छ भन्ने कुरा बुझ्दछन।
सुझाव ४: आफ्नो ख्याल राख्न समय लिनुहोस्
अभिभावकहरूले गर्नुपर्ने काम धेरै हुन्छन्। तपाईं आफुलाई पनि स्याहार र सहयोगको आवश्यकता हुन्छ। आफ्नो बारेमा ख्याल गर्नु भयो भने किशोरावस्थाका छोराछोरीले पनि आफ्नो ख्याल गर्न सक्छन
• यदि तपाईंलाई भारी महशुस भइरहेको छ भने अरूसँग सहयोगको लागि अनुरोध गरिहाल्नुहोस् । त्यस किसिमको महशुस हुनु सामान्य कुरा हो र त्यसको लागि परिवारका सदस्य वा अन्य विश्वासिलो व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ ।
• आफ्ना सम्बन्धहरूको लागि पनि समय लिनुहोस् र परिवारका अन्य सदस्यहरूलाई कसरी सहयोग प्राप्त गरेको र बुझेको अनुभव हुन्छ भन्ने बारेमा कुराकानी गर्नुहोस् । केहि व्यक्तिहरूसँग आफ्ना भावना र अनुभवको बारेमा कुराकानी गर्नुहोस्।
• तपाईं एकदमै व्यस्त भए पनि या नभए पनि तनावको सामना तथा व्यवस्थापन गर्नको लागि दैनिक रूपमा केहि गर्नुहोस् किनभने तपाईंको सुस्वास्थ्यको लागि यो अत्यन्तै महत्वपूर्ण हुन्छ।
• तनाव व्यवस्थापन गर्नको लागि तपाईंलाई उपयुक्त हुने रणनीति अपनाउनुहोस्: जस्तै – साथीभाईसँग कुराकानी गर्ने, गर्नु पर्ने कामको सुची तयार पर्ने वा योजना बनाउने, समय तालिका र संरचना अनुसार चल्ने, तपाईं केको लागि धन्य हुनुहुन्छ वा गर्व गर्नुहुन्छ, तपाईंलाई मन पर्ने कार्यमा संलग्न हुने, संगीत, कला, नृत्य, आफुले गरेका कार्यको अभिलेख राख्ने, आदि।
प्रतिक्रिया दिनुहोस्