भाद्र ३१, २०८१ सोमबार

लागुऔषध बाेक्ने युवतीसहित दुई जना पक्राउ



दैलेख । दैलेखको आठविस नगरपालिकाबाट प्रहरीले लागुऔषध बाेक्ने युवतीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ एरीचोकका २० वर्षीया आरोशी पुलामी मगर र विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० वर्षीय दीपेन्द्रकुमार घर्ती रहेका छन् ।

कर्णाली राजमार्ग रहेको प्रहरी चौकी पाल्तडाले ती दुईजनालाई पक्राउ गरिएको पाल्तडाका प्रहरी सहायक निरीक्षक थुमबहादुर घर्तीले जानकारी दिए ।

खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो ।

झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०/१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १०/१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन फेला परेको थियो ।