कार्तिक ६, २०८१ मंगलबार

अधिकारकर्मी राणा राष्ट्रसंघकाे महिला विरुद्ध हुने विभेद उन्मूलन समितिमा पुनः निर्वाचित



काठमाडौँ — संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने विभेद उन्मूलन समिति (सिड) मा नेपालकी अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित भएकी छन् ।

सिडको वर्तमान कार्यसमितिमा समेत रहेकी राणा २०२१ देखि २०२४ सम्मको नयाँ कार्यकालका लागि राणा निर्वाचित भएकी हुन् ।

संयुक्त राष्ट्रसंघीय परिषद्‍मा मानव अधिकार उच्च आयोग मातहतमा रहने  उक्त समिति राष्ट्रसंघबाट पूर्ण मान्यताप्राप्त र विश्वका १८९ राष्ट्रले अनुमोदन गरिसकेको समिति हो ।

‘सिड’को यो कार्यसमिति निर्वाचनमा वन्दनाले १ सय ३७ मत पाएकी छिन् । ११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन् ।

सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक–अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ । नेपालको छाउपडी प्रथा, महिला हिंसा र विभेदका घटनाहरुले राष्ट्रसंघीय मञ्चमा समेत बहसका लागि यही ‘सिड’ मार्फत स्थान पाउने गरेका हुन् । नेपालका तर्फबाट निर्वाचित भए पनि राणाले राष्ट्रसंघीय समितिमा स्वतन्त्र विज्ञका रुपमा काम गर्नुपर्ने हुन्छ ।

‘सिड’को २१ औं बैठकले राणालाई निर्वाचित गरेपछि राष्ट्रसंघीय नियोगमा नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राइले ‘नेपालले महिला हक–अधिकार प्रवर्द्धनमा गरेको योगदानको पहिचानका रुपमा राणाको जितलाई लिन सकिने’ प्रतिक्रिया दिएका छन् । ‘यो नतिजा नेपालले छानेको उम्मेदवार राणाको प्रमाणित विज्ञता र अनुभवको परिणाम समेत हो,’ स्थायी प्रतिनिधि राईले भने । निर्वाचित राणाले पनि ‘नेपालले अन्तराष्ट्रिय मञ्चमा उठाएको महिला हक–अधिकार संरक्षण–संवर्द्धनको आवाजलाई अन्र्तराष्ट्रिय समुदायले अनुमोदन गरेको’ जनाएकी छिन् ।