कार्तिक ६, २०८१ मंगलबार

हाम्रै नेपालमा महिलाको गहना लुट्ने व्यक्ति १२ वर्षका लागि जेल परे



त्रिशुली । अपराध गर्नेले सजायँ नपाएकोले आपराधिक कार्य बढेको गुनासो आइरहेको बेला नुवाकोटमा महिलाको गहना लुट्ने एकजना १२ वर्षका लागि जेल परेका छन् ।

बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गहना लुट्ने नुवाकोटको सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका हुन् ।

तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीकी निर्मला राईको नगद रु एक लाख र उनले लगाएको करिब रु पाँच लाख मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो ।

अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र रु एक लाख २२ हजार १६० जरिवाना तोकिएको थियो ।

अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।