काठमाडौँ – सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका छन् ।
लोकसेवा आयोगले गत आर्थिक वर्षमा चार हजार सात सय ५४ पदका लागि विज्ञापन गरेको थियो । तर, चार लाख ५१ हजार पाँच सय २६ जनाको आवेदन परेको थियो । ‘तर, गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने ।
त्यस्तै, अघिल्लो वर्ष ०७५÷७६ मा भने एक लाख ४३ हजार आठ सय ४० मात्रै आवेदन परेका थिए । यो वर्ष भने पछिल्लो १० वर्षकै सबैभन्दा कम आवेदन परेको आयोगको तथ्यांक छ । त्यस्तै, वर्ष ०७४÷७५ मा पाँच लाख ६७ हजार आठ सय ५३ र त्योभन्दा अघिल्लो वर्ष आठ लाख ४४ हजार आवेदन परेका थिए ।
गत वर्ष सबैभन्दा धेरै आवेदन नायब सुब्बा ९नासु०का लागि परेका छन् । नासुमा दुई लाख ४२ हजार दुई सय ४६ आवेदन परेका थिए । त्यस्तै, सहसचिवमा तीन हजार दुई सय १४, उपसचिवमा नौ हजार दुई सय ४३, अधिकृतमा ७७ हजार ६ सय र खरिदमा एक लाख १५ हजार ६ सय ५८ आवेदन परेको आयोगले जनाएको छ ।
यो वर्ष अधिकृतको विज्ञापनमा करिब ३१ हजारको आवेदन परेको छ । परराष्ट्र, प्रशासन, लेखापरीक्षण तथा संयुक्तमा दुई सय ४० पदका लागि आवेदन माग गरिएको थियो । जसमा २७ हजार सात सय ५५ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ । त्यस्तै, न्यायसेवामा एक सय २० जनाको आवेदन खुलेकोमा दुई हजार पाँच सयजनाको आवेदन परेको छ । न्यायसेवामा कानुन पढेकाले मात्र आवेदन दिन पाउँछन् ।
गत वर्षको तुलनामा आवेदन कम परे पनि प्रतिपद औसतमा भने यो वर्ष थोरै रहेको छ । गत वर्ष प्रतिपद औसत ७६ आवेदन रहेका थिए भने यो वर्ष ८६ छ । यो वर्ष २१ पुससम्म अधिकृतका लागि आवेदन भने म्याद थियो ।
सरकारी सेवाप्रति प्रदेश २ का बासिन्दामा सबैभन्दा धेरै आकर्षण देखिएको छ भने सरकारी सेवामा प्रवेश गर्दा सबैभन्दा बढी सफल लुम्बिनी प्रदेशका बासिन्दा हुने गरेको पाइएको छ । लोकसेवा आयोगले गरेको विश्लेषणमा प्रदेश २ मा सरकारी सेवाप्रति आकर्षण देखिएको हो ।
लोकसेवा आयोगले खुलाएका विज्ञापनमा सबैभन्दा धेरै दरखास्त प्रदेश २ बाट परेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा आयोगमा परेका चार लाख ५१ हजार पाँच सय २६ दरखास्तमध्ये २३।५७ प्रतिशत प्रदेश २ बाट परेका छन् । सबैभन्दा धेरै दरखास्त पर्ने १० मध्ये सात जिल्ला यही प्रदेशका छन् । सबैभन्दा धेरै दरखास्त सप्तरी, सर्लाही, धनुषा र सिराहाबाट परेका छन् । पाँचौँ नम्बरमा कैलाली छ । त्यसपछि महोत्तरी, रौतहट, गुल्मी, बारा र स्याङ्जा छन् ।
प्रदेश २ पछि दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीमा १७।०६, प्रदेश १ मा १६।४६, सुदूरपश्चिममा ११ र बागमती, गण्डकी र कर्णाली प्रदेशमा समान १०–१० प्रतिशत दरखास्त परेको लोकसेवा आयोगको तथ्यांक छ ।
प्रदेश २ बाट धेरै आवेदन आउनुको कारणबारे आयोगका प्रवक्ता सुवेदी भन्छन्, ‘एउटा, त्यहाँ प्राविधिक विषय पढ्ने चलन बढी छ । अर्को, प्रदेश २ का जिल्लामा जनसंख्या धेरै भएकाले पनि हुन सक्छ । तैपनि, समग्रमा प्रदेश २ मा सरकारी जागिरप्रति बढी आकर्षण देखिन्छ ।’
आवेदन धेरै प्रदेश २ बाट परेका भए पनि परीक्षामा सफल हुनेमा भने लुम्बिनी प्रदेशका धेरै छन् । गत वर्ष २०।०७ प्रतिशत लुम्बिनीका र त्यसपछि १७।७६ प्रतिशत प्रदेश २ आवेदक सरकारी सेवा प्रवेशका लागि सिफारिस भएका छन् । सिफारिस हुनेमध्ये सबैभन्दा कम सुदूरपश्चिमका ९।८७ प्रतिशत छन् ।
गत वर्ष धनुषा, अर्घाखाँची, झापा, सर्लाही, कैलाली, स्याङ्जा, दैलेख, काठमाडौं, बर्दिया र पाल्पाका क्रमशः धेरैजना सिफारिसमा परेको आयोगले जनाएको छ ।
योमध्ये धनुषाका १३, अर्घाखाँचीका १२, झापाका १२, सर्लाहीका १२, कैलाली ११, स्याङ्जाका ११ सिफारिस भएका छन् । त्यस्तै सबैभन्दा कम तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, पाँचथर र म्याग्दीका पाँच–पाँचजना सिफारिस भएका छन् ।
लोकसेवामा दरखास्त दिनेमध्ये शिक्षाशास्त्र अध्ययन गरेका धेरै छन् । आयोगका अनुसार शिक्षाशास्त्र पढेका ३७।९५ प्रतिशत, व्यवस्थापनका २०।६८ प्रतिशत, विज्ञानका ११।७८ प्रतिशत, इन्जिनियरिङका १०।६१ प्रतिशत र मानविकी पढेका ७।७८ प्रतिशत आवेदन छन् ।
आधाभन्दा बढीका अभिभावक साधारण लेखपढ
दरखास्त दिनेका अभिभावकको पढाइ पनि आयोगले विश्लेषण गरेको छ । आवेदन दिनेका अभिभावक साधारण लेखपढ गरेका ५०।६८ प्रतिशत, निरक्षर २२।६५ प्रतिशत, एसएलसी १३।४९ प्रतिशत र उच्च शिक्षा १३।१८ प्रतिशत रहेका छन् । आवेदन दिनेमध्ये ४६।८१ प्रतिशतका आमा निरक्षर र ४५।७८ प्रतिशतका साधारण लेखपढ मात्र जानेका छन् ।
त्यस्तै, आवेदन दिनेमध्ये ८० प्रतिशतका अभिभावकको पेसा कृषि भएको उल्लेख गरेका छन् । यसैगरी, ९३।७५ प्रतिशत हिन्दू छन् । उमेर समूहअन्तर्गत सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेरकाले लोकसेवाको परीक्षामा दरखास्त दिएका छन् । नयाँपत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्