जनकपुरधाम – आरती सदा १६ वर्षकी भइन्। मुसहर समुदायमा यतिको उमेरमा छोरीहरूको बिहेवारी भएर बालबच्चा पनि भइसक्छन्। तर, आरतीे अविवाहित छिन्।
उनको बिहेका लागि परिवारमा कुरा नभएको होइन। पछिल्लो दुई वर्षदेखि आमाबुवाले बिहे गराउन प्रयास गरिरहेका छन्। गत वर्ष त केटा खोजेर ल्याइसकेका थिए। तर, आफू यति सानो उमेरमा बिहे नगर्ने भन्दै विरोधमा उत्रिएकी थिइन्, आरती। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका इमली टोलकी आरती विद्यालय गएकी छैनन्। यो समुदायमा छोरीलाई पढाउने चलन छैन। तर, केही संघसंस्थाले बेला–बेला टोलमा जनचेतनामूलक कार्यक्रम गर्दा उनले २० वर्षपछि मात्रै बिहे गर्नुपर्छ भनेर थाहा पाएकी हुन्।
‘सानोमा बिहे गरियो भने शरीरमा नराम्रो असर पर्छ। बच्चा पाउँदा मर्न पनि सक्छन् भनेर म्यामहरूले सिकाउनुभएको थियो’, आरतीले भनिन्, ‘घरमा त आमाले धेरै गाली दिनुहुन्छ। उमेर धेरै भयो भने केटा नै पाउँदैन भन्नुहुन्छ। तर, मैले २० वर्षपछि नै बिहे गर्छु भनिसक्या छु।’
उनले आफ्नो मात्रै होइन, दुई साथी अनिता सदा र केशिया सदाको बालविवाह रोकिन्। साथीहरूका आमाबुवालार्ई धेरै सम्झाइबुझाइ गरेपछि उनीहरूले तत्काल बिहे रोकेको आरतीले सुनाइन्।
सप्तरीको खड्ग नगरपालिका–४ की सलिता सदाको बिहे पनि १५ वर्षकै उमेरमा गर्न परिवारले केटा खोजेका थिए। ‘वैदेशिक रोजगारमा गएर बुवाले जोरजाम गरेको पैसो सबै मेरो बिहेमा दाइजो दिन तयार हुनुभएको थियो’, सलिताले आफ्नो बालविवाहविरुद्धको कथा सुनाउँदै भनिन्, ‘म र मेरो बहिनी सरिता दुवैको बिहे एकैपल्ट गर्ने तयारी थियो। तर, मैले विरोध गरेँ। केटाको आमाको फोन नम्बर पत्ता लगाएर सोझै फोन गरेँ र आफू बिहे गर्न तयार नरहेको बताएँ। त्यसपछि बिहे रोकियो।’
२४ पुगेकी सलिता विभिन्न संघसंस्थामा काम गर्छिन्। उनले बहिनी सरितालाई कक्षा १२ मा पढाइरहेकी छन्। उनले गाउँका बाल क्लबहरूमा संगठित भएर दुईवटा अनमेल विवाह पनि रोकेकी छन्। कम उमेरकी छोरीलाई दोब्बर उमेरका केटासँग बिहे गर्न लाग्दा प्रहरीकै सहयोगमा रोकेको उनले सुनाइन्। गरिबी र अशिक्षाका कारण पछि परेको मुसहर समुदायमा छोरीहरूको बिहे १३ देखि १५ वर्षकै उमेरमा गर्ने चलन छ। तर, धनुषा, महोत्तरी र सप्तरीका केही मुसहर किशोरीले यस कुप्रथाको विरोध गर्दै आफ्नो बालविवाह हुन रोकेका मात्रै छैनन् अरूको पनि हुन दिएका छैनन्।
जनकपुरमा हालै आयोजित बालविवाहविरुद्धको एक कार्यक्रममा सहभागी थिए, चाँदनी सदा, सलिता सदा, अञ्जली सदा, रागनी सदा, आरती सदा, मनिता सदा, आशा सदा र सर्मिला सदा। उनीहरूले बालविवाहविरुद्ध बोल्दा परिवारबाटै सास्ती भोग्नुपरेको दुखेसो पनि सुनाए।
‘छोरीको उमेर बढी भयो भने ऊ बिग्रिन्छे, अरू केटासँग भाग्छेजस्ता कुरा भनेर अभिभावकले सानैमा बिहे गर्न दबाव दिन्छन्’, धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ की १५ वर्षीया आशा सदाले भनिन्, ‘हामी बालविवाह गर्नु हुँदैन भनेर आफ्नो घरपरिवारमा बोल्दा सबैले उल्टै हप्काउने र गाली गर्ने गर्छन्।’ परिवार र समाजको त्रासबीच पनि यी मुसहर किशोरीले छरछिमेकमै करिब दर्जन बालबिवाहमा अवरोध जनाएका छन्। कतै अभिभावकलाई सम्झाएर त कतै छोरीहरूलाई नै बालविवाहको बेफाइदा बताएर, कहिले प्रहरीको सहायता लिएर बालविवाह रोक्न यी किशोरीहरूले पहल गर्ने गरेकाे मनिका झा अन्नपूर्ण पोष्टमा लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस्