मंसिर १२, २०८१ बुधबार

काठमाडौंमा मेलम्ची आउँदा राष्ट्रपतिले सम्झिन् काँग्रेस नेता कृष्णप्रसाद भट्टराई



काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको सपना देखका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन्।

शुक्रबार कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले तत्कालीन प्रधानमन्त्री भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिवद्धता जाहेर गरेपछि मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि थप प्रेरणा मिलेको बताइन्।

‘मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिवद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो,’ उनले भनिन् ।

उनले थपिन् ‘यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो।’ राष्ट्रपति भण्डारीले शुक्रबार भृकुटीमण्डपमा राखिएको ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरण औपचारिक रुपमा शुभारम्भ गरिन् ।

विभिन्न चरणमा मेलम्ची आयोजनाको निर्माण अघि बढाएको भन्दै अहिलेको सरकारको दृढ इच्छाशक्तिको कारण आयोजना सम्पन्न भएको उल्लेख गरिन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छाशक्तिको कारण यो आयोजना सम्पन्न भएको छ’ उनले भनिन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरुको योगदानको स्मरण गरिन् र धन्यवाद दिइन् ।

राष्ट्रपति भण्डारीअघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोजनाका विषयलाई लिएर कृष्णप्रसाद भट्टराईलाईलाई सम्झिएनन् । तीन दशक पुरानो आयोजनालाई पूरा गर्न आफूहरुले तीव्र प्रयास गरेको प्रधानमन्त्री ओलीले बताए ।

‘यसको परिकल्पना धेरै अगाडि गरिएको थियो । यस विन्दुसम्म आइपुग्न झण्डै तीन दशक लाग्यो । तर हामीले विगत केही वर्षयता यस सफलताको दिन साकार पार्न कामलाई तिव्रता दिने प्रयास गर्‍यौं, जसको फल स्वरुप आज यसविन्दुमा आइपुगेको छौं’ उनले भने । उनले खानेपानी मन्त्रालय, आयोजनासँग सम्बन्धित सम्पूर्ण प्राविधिक, योगदान गर्ने सबैलाई धन्यवाद दिए । साथै यसैवर्ष सुरुङ परीक्षणका क्रममा बाढीले बगाएर मृत्यु भएका मेलम्ची आयोजनाका दुई कर्मचारीप्रति श्रद्धासुमन व्यक्त गरे ।