संखुवासभा — राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार भोजपुरको साल्पासिलिछो गाउँपालिकास्थित सामाजिक अभियन्ता योगमाया न्यौपानेको शालिक अनावरण गरेकी छन् । पशुपतिधाम गौडेनीमा पूजा अर्चनासहित उनले शालिक अनावरण गरिन् ।
यस क्रममा राष्ट्रपति भण्डारीले योगमाया स्मृति प्रतिष्ठानको अवलोकन समेत गरिन् । साल्पासिलिछो गाउँपालिका, योगमाया स्मृति प्रतिष्ठान र षडानन्द नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र आएकी हुन् ।
षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी हेलिकप्टोरबाट भोजपुर आएकी हुन् । भोजपुर राष्ट्रपति भण्डारी जन्मिएको जिल्लासमेत हो ।
राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका १ मझुवाबेसीमा रहेको योगमायाको समाधि स्थलको अवलोकन समेत भएको थियो । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योगमाया समाधिस्थल पार्कको शिलन्यास गरेका थिए ।
षडानन्द नगरपालिका ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म भएको स्थानमा राष्ट्रपति भण्डारीले अधिकारीको शालिक अनावरण समेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले बताए । सोही क्रममा राष्ट्रपति भण्डारीले कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्