भाद्र २१, २०८१ शुक्रबार

निजामती प्रशासनको इतिहासमा पहिलो महिला मुख्यसचिव



काठमाडौँ — नेपालको निजामती प्रशासनको ६९ वर्षे इतिहासमा पहिलोपटक महिला मुख्यसचिव बनेकी छन् । कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी लीलादेवी गड्तौलालाई बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा बढुवा गरेपछि निजामती प्रशासनले पहिलोपटक पहिला मुख्यसचिव पाएको हो ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि उनी स्वतः निमित्तको जिम्मेवारीमा थिइन् । वर्तमान सरकारले नै गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । निजामती प्रशासनको ६९ वर्षे इतिहासमा लगातार २६ पुरुष मुख्यसचिव थिए, लीलादेवी सत्ताइसौं मुख्यसचिव हुन् ।

मुख्यसचिवमा बढुवा भएपछि सरकारको निर्णयले निजामती सेवामा रहेका र नयाँ पुस्ताका महिला बढी उत्साहित भएको लीलादेवीले बताइन् । ‘मुख्यतः अवसर पाएपछि महिला र पुरुष सबैले समान ढंगले काम गर्न सक्छन् भन्ने सन्देश गएको छ,’ उनले भनिन्, ‘त्यसैले अवसर दिएपछि मात्र कसैको मूल्यांकन गर्न सकिन्छ ।’

वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद्बाटै आफूलाई कायममुकायम सचिवको जिम्मेवारी दिएको र अहिले मुख्यसचिवमै नियुक्त गरेकामा उनले सरकारप्रति आभार प्रकट गरिन् । सचिवसम्म हुने प्रक्रिया भएको र त्यसैबमोजिम आफू अघि बढेको तर, मुख्यसचिव हुने कुरा सरकारको मामिला भएकाले त्यसको जिम्मेवारी पाउँदा गौरवान्वित भएको प्रतिक्रिया उनले दिइन् ।

यसरी नै समावेशीकरण मूर्त हुने उनको भनाइ छ । ‘मैले निजामती सेवामा जागिर खाएँ । सचिवसम्म हुने त प्रक्रिया छन् । त्यसैअनुसार म आएँ । तर, मुख्यसचिवचाहिँ भइन्छ नै भन्ने हुँदैन । मुख्यसचिव ‘पिकअप’ हो । सचिवहरूमध्येबाट सरकारले मुख्यसचिव नियुक्त गर्ने हो । यस्तैमा हो सहयोग आवश्यक पर्ने । यसरी नै हो समावेशीकरणलाई मूर्त बनाउने,’ उनले भनिन् ।

काे हुन् लीलादेवी ?

लीलादेवी २०२३ भदौ १५ मा तेह्रथुमको पिप्लेमा जन्मिएकी हुन् । विवाह भने सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ केउरेनीमा भयो । तेह्रथुम सदरमुकाम म्याङलुङस्थित सिंहबाहिनी माविबाट २०३९ सालमा दोस्रो श्रेणीमाएसएलसी उत्तीर्ण गरेर लीलादेवीले नेपाल ल क्याम्पस काठमाडौंबाट उच्च शिक्षाको अध्ययन थालेकी थिइन् । उनी २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन अधिकृतबाट निजामती सेवामा प्रवेश गरिन् ।

उनले दोस्रो प्रयासमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेकी थिइन् । त्यति बेला आयोगले अधिकृतमा १७ जना मागेकामा लीलादेवीले पहिलो नम्बरमा नाम निकालेकी थिइन् । उनी २०६३ कात्तिकमा आन्तरिक बढुवाबाट उपसचिव भइन् भने खुला प्रतिस्पर्धाबाट २०७० कात्तिकमा सहसचिव बनिन् । सचिवमा बढुवा भने २०७७ सालमा भएकी हुन् ।

करिव २९ वर्षको जागिरे जीवनमा उनले १७ वर्ष कानुन मन्त्रालयमा बिताएकी थिइन् । उनको जागिरको प्रवेश पनि कानुन मन्त्रालयबाटै भएको हो । उनले निर्वाचन आयोगमा २० महिना र कानुन आयोगमा ३४ महिना काम गरिन् ।

लीलादेवीले जागिरका सिलसिलामा धेरै समय कानुनको मस्यौदा गरेर बिताएकी थिइन् । अहिले पनि कानुन तर्जुमामा आफूलाई धेरै रुचि लाग्ने उनको भनाइ छ । २०७२ मा जारी संविधान कार्यान्वयनका लागि बनेका धेरै कानुनको मस्यौदा निर्माण उनी संलग्न थिइन् ।

मुख्य सचिवमा लीलादेवीको कार्यकाल ३८ दिनको मात्र हुनेछ । ५८ वर्षे उमेरहदका कारण उनी आगामी १५ भदौमा सेवानिवृत्त हुनेछिन् । मुख्यसचिवको कार्यकाल तीन वर्ष रहने व्यवस्था छ । तर, तीनवर्षे कार्यकाल वा ५८ वर्षे उमेरहद जुन पहिला आउँछ, त्यसैबाट अवकाश हुने व्यवस्था छ । यसैबमोजिम उमेरहद पहिला आउँदा गड्तौला त्यसैबाट अवकाशमा जानेछिन् ।

निजामती सेवामा महिलाको प्रतिनिधित्व २९ प्रतिशत, सात सचिव महिला
निजामती सेवामा महिलाहरूको प्रतिनिधित्व क्रमशः बढ्दै गएको देखिन्छ । निजामती किताबखानाको पछिल्लो तथ्यांकअनुसार अहिले निजामती सेवामा ८५ हजार ४५५ कर्मचारी कार्यरत छन् । त्यसमा पुरुष ६१ हजार १३ र महिलाको संख्या २४ हजार ४४२ छ । प्रतिनिधित्वका हिसाबले कुल कार्यरतको अनुपातमा महिलाको हिस्सा २८.६० प्रतिशत हुन आउँछ ।

त्यस्तै, अहिले निजामती सेवामा मुख्यसचिवसहित ७१ सचिवको दरबन्दी छ । त्यसमा मुख्यसचिव गड्तौलासहित सात सचिव छन् । महिला सचिवमध्ये उपराष्ट्रपति कार्यालयकी राधिका अर्याल, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सरिता दवाडी, परराष्ट्र मन्त्रालयकी सेवा लम्साल, महालेखापरीक्षक कार्यालयकी विन्दु विष्ट, नेपाल ट्रस्टको कार्यालयकी प्रमिलादेवी बज्राचार्य र गण्डकी प्रदेशकी प्रमुखसचिव लक्ष्मीकुमारी बस्नेत छन् ।