भाद्र २१, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपतिमा कमला ह्यारिसलाई ओबामाको समर्थन



काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको विश्वास व्यक्त गरेका छन् ।

गत आइतबार राष्ट्रपति बाइडेनले आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनले दिएको निकासको प्रशंसा गरे पनि ह्यारिसलाई समर्थन गरेका थिएनन् ।

ओबामाको समर्थनसँगै ह्यारिस अगस्टमा हुने पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार बन्ने सम्भावना थप बलियो भएको छ ।

बीबीसीका अनुसार ओबामाले शुक्रबार ह्यारिसलाई समर्थन गर्दा उत्साहित रहेको र चुनावमा निर्वाचित गराउन सक्दो भूमिका खेल्ने बताएका छन् । ‘हामी राष्ट्रपति बाइडेनसँग सहमत छौं’ ओबामा दम्पत्तिले भनेका छन्, ‘ह्यारिसलाई छनौट गर्नु बाइडेनका सबैभन्दा राम्रो निर्णयहरूमध्ये एक थियो । यो पुष्टि गर्न उनीसँग राम्रो क्षमता र अनुभव छ ।’

ओबामा दम्पत्तिले ह्यारिसको क्यालिफोर्नियाका महान्यायाधिवक्ता, अमेरिकी सिनेटर र त्यसपछि उपराष्ट्रपतिको रूपमा गरेको काम सम्झँदै भने, ‘तर ह्यारिससँग अनुभव र पृष्ठभूमिभन्दा बढी दूरदृष्टि, चरित्र र सामर्थ्य छ जुन अहिलेको महत्वपूर्ण समयले माग गर्दछ ।’

अमेरिकामा राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट सुरूमा हालका राष्ट्रपति जो बाइडेन उम्मेदवार थिए। तर गत जुन २७ मा ट्रम्पसँगको राष्ट्रपतीय बहसमा उनको प्रस्तुति निकै खराब भयो। ८१ वर्षीय बाइडेनमा उमेरजन्य समस्या देखिएको भन्दै फेरि उम्मेदवार नबन्न दबाब पर्‍यो। यसपछि बाइडेनले आइतबार उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।

ह्यारिसलाई पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका केही नेताले समेत समर्थन गरेका छन्। राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए। मिसिगनकी गभर्नर ग्रेचन ह्विटमरले पनि सोमबार ह्यारिसलाई समर्थन गरेकी छिन्। उनलाई धेरैले ट्रम्पलाई हराउन सक्ने सबभन्दा बलियो दाबेदार ठानेका थिए तर उनले नै ह्यारिसलाई समर्थन गरिन् ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले पनि सोमबार एक सर्वेक्षणको हवाला दिँदै ह्यारिसलाई बहुमत प्रतिनिधिको समर्थन रहेको जनाएको छ। डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न १,९७६ प्रतिनिधिको समर्थन चाहिन्छ। यसमध्ये २,५७९ ले उनलाई समर्थन गर्ने एपीले बताएको छ।

चुनाव हुन अब करिब चार महिना (नोभेम्बर ५) मात्र बाँकी छ। यस्तो अवस्थामा डेमोक्र्याटिक पार्टीले जतिसक्दो चाँडो उम्मेदवार चयन गर्ने छ।

तर ह्यारिसलाई कमजोर उम्मेदवार मानिएको छ। रिपब्लिकन मात्रै नभएर डेमोक्र्याटिक पार्टीकै पनि कतिले योग्यताभन्दा लिंग र जातका कारण उनी छानिएकी बताएका छन्। धेरैले उनी अश्वेत महिला भएकाले मात्र प्रगतिशील डेमोक्र्याटिक पार्टीका बाइडेनले उपराष्ट्रपति बनाएको ठान्छन्।

त्यो बेला क्यालिफोर्नियाकी सिनेटर रहेकी ह्यारिस पनि राष्ट्रपतीय दौडमा थिइन्। तर उनको प्रदर्शन राम्रो भएन र सम्भावना बलियो देखिएन। उनले छिट्टै त्यो दौड छाडिन्। त्यसैले ह्यारिसले अहिले ट्रम्पविरूद्धको दौडमा पनि राम्रो प्रदर्शन गर्न नसक्ने सोच धेरैको छ।

अर्कातिर ह्यारिसले साढे तीन वर्ष उपराष्ट्रपतिका रूपमा राम्रो काम गरेर आफ्नो छवि बनाउन सकेकी छैनन्। हुन त राष्ट्रपतिले दिएको विभिन्न जिम्मेवारी बहन गर्नेबाहेक उपराष्ट्रपतिको खास भूमिका हुँदैन। सीमित भूमिकामै पनि उनले राम्रो छाप छोड्न भने सकेकी छैनन्।