गुल्मी । स्थानीय तहको उपनिर्वाचन २०८१ अन्तर्गत चुनाव भएका ४१ पदमध्ये ७ जना महिला निर्वाचित भएका छन् । एकजना उममेयर, ४ उपाध्यक्ष र २ वडाध्यक्ष सहित जम्मा ७ जना महिला निर्वाचित भएका हुन् ।
निर्वाचन भएका ७ पालिका उपप्रमुख मध्ये ४ जना महिला निर्वाचित भएका छन् । जाजरकोटको नालगाड नगरपालिका उप–मेयरमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने ४ हजार २७२ मत ल्याएर निर्वाचित भएकी छन् । त्यस्तै पुथा उत्तरगंगा गाउपालिकाको उपाध्यक्ष माओवादीकी नरपुरा बुढा ३ हजार ६२७ मत र हुम्लाकाे सर्केगाड गाउँपालिकामा माओवादीकै देवका तिमिल्सिना १ हजार ६ सय ३६ मत मत प्राप्त गर्दै निर्वाचित भए।
त्यस्तै दोलखाको गौरीशंकर गाउपालिका उापाध्यक्ष नेकपा एमालेकी उमा लुंगेली मगर शेर्पा २८०५ मत ल्याएर विजयी भइन् । बाजुराकै स्वामीकार्तिक खापार गाउपालिका उपाध्यक्षमा एमालेकै सुलोचना कुमारी भण्डारी १ हजार ७ सय ४० मत ल्याएर निर्वाचित भइन् ।
त्यस्तै, उपनिर्वाचन भएका ३४ वडाका अध्यक्षमध्ये २ जना महिला मात्र निर्वाचित भएका छन् । ताप्लेजुङ सिरीजंगा गाउपालिका ३ को वडाध्यक्षमा एमालेकी कुमारी सावादेन ३५३ मत ल्याएर विजयी भइन् ।
काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी विजयी भइन् ।
पालिका प्रमुख पदका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, मोरङको ग्रामथान गाउँपालिकाको र दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा निर्वाचन भएपनि त्यहाँ कुनै पनि दलले महिला उम्मेदवार उठाएका थिएनन् ।
नेपालको संविधानमा राजनैतिक दलका तर्फबाट स्थानीय सरकार (गाउँ वा नगर कार्यपालिका) को अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखको उम्मेदवारी दिदा दवै पदमा एकै लिङ्गको उम्मेदारी दिन नपाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण महिलाहरु स्थानीय तहको नेतृत्वमा पुग्न पाएको भएपनि हरेक जसो राजनीतिक दलले प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई उम्मेदवार बनाउने गरेका छन् । तर दलहरुबीच गठबन्धन हुँदा अध्यक्ष उपाध्यक्ष फरक फरक पार्टीको हुने भएकोले प्रमुख उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार बनाउने गरेका छन् । यसपटक भने दलहरु प्रमुख उपप्रमुख पदमा गठबन्धन बिना एक्लाएक्कै चुनाव लड्दा महिलालाई फाइदा भएको छ ।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एकजना, उपप्रमुख एकजना, गाउँपालिकाका अध्यक्ष दुईजना, उपाध्यक्ष चारजना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र २०२ जना गरी जम्मा ३७६ उमेदवार थिए ।
*यसअघि ६ जना भएकाेमा सच्याइएकाे
प्रतिक्रिया दिनुहोस्