पुष ७, २०८१ आईतबार

श्रीमती कुटपिटको आरोपमा प्राध्यापक पक्राउ



काठमाडाैं । श्रीमती कुटपिटको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट प्रहरी नियन्त्रणमा पुगेका छन् ।  सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक भट्ट शनिबार गोरबैयास्थित घरमै श्रीमती जयन्ती भट्टमाथि कुटपिटको आरोपमा पक्राउ परेका हुन् ।

 माइती पक्षले दिएको उजुरीका आधारमा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश जोशीले भट्टविरुद्धमा उजुरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘पृथ्वीराज भट्ट आफैँ प्रहरीमा आएका हुन्,’ उनले भने, ‘अनुसन्धानलाई सघाउँछु भनेका छन्, प्रहरीले पनि अनुसन्धान अघि बढाउँछ ।’

श्रीमानको कुटाइबाट घाइते भएकी जयन्तीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्राज्ञिक थलो सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले श्रीमती जयन्ती भट्टलाई महिला हिंसाविरुद्धको अभियान चलेकै वेला कुटपिट गरेकाे घटना बहिरिएसँगै जयन्ती कार्यरत महेन्द्रनगर मावि, शिक्षक संघ संगठन, शिक्षक महासंघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनसहित विद्यार्थी संघसंगठन, महिला अधिकारकर्मीले पटकपटक श्रीमती कुटेर प्रहरीमा मिलापत्र गर्ने भन्दै अब कानुनी दायरमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले भने आफ्नो घरपरिवार, आफन्तसँग सामान्य विवाद हुँदा आफूले श्रीमतीलाई नकुटेको दाबी गर्दै आएका छन् । यद्यपि माइती पक्षले भने कुटपिटकै कारण जयन्ती अस्पतालमा उपचारार्थ रहेको जनाएका छन् ।