पुष ६, २०८१ शनिबार

टिकटक अरुभन्दा विश्वसनीय भएको सञ्चार सतिव अर्यालको दावी



काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन् । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छिन् ।

काठमाडौंमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदैआएको बताइन् । उनले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गरिन् ।

‘डिजिटल सुरक्षाका हिसाबले अरु सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ,’ सचिव अर्यालले भनिन्, ‘अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुशरण गर्नपर्छ ।’

डिजिटल प्लेटर्फमलाई समाजप्रति पारदर्शी, मर्यादित र जवाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको सचिव उनले जानकारी दिइन् । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताइन् । साथै यसका लागि सरकारलाई सबैको सहकार्य जरुरी रहेको उनको भनाइ थियो ।

‘सामाजिक सञ्जाल व्यवस्थापनमा प्रयोगकर्ताले ‘कन्टेन्टमा करेक्सन’ गरे धेरै हदसम्म समस्या समाधान हुन्छ,’ उनले भनिन् । सचिव अर्यालले सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य सार्थक बनाउन सामाजिक सञ्जालको अहम् भूमिका हुने बताइन् ।