रोल्पा — न्यायिक समिति समन्वय संजाल रोल्पाको दोस्रो सम्मेलन आइतबार लिवाङमा आयोजना गरिएको छ ।
रोल्पाका १० तहमा गठित स्थानीय न्यायिक समितिका पदाधिकारीको सहभागिता र उपस्थितिमा सम्मेलन आयोजना गरिएको हो । सबै न्यायिक समितिलाई समान सक्रियता बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको र अन्तरक्रियासमेत गर्न सम्मेलन उपयुक्त हुने नगरपालिकाकी उपप्रमुख गीता आचार्यले बताइन् । पहिलो सम्मेलन अघिल्लो वर्ष सुनिल स्मृति गाउँपालिकाले सुलिचौरमा आयोजना गरेको थियो ।
सम्मेलनमा सहभागीले स्थानीय तहमा गठन गरिएका न्यायिक समितिको प्रभावकारिता र जिम्मेवारी सम्बन्धमा अनुभव एवं धारणा व्यक्त गरेका थिए । रुन्टीगढी गाउँपलिकाकी उपाध्यक्ष र रुन्टीगढी स्थानीय न्यायिक समितिकी संयोजक सरिता केसीले न्यायिक समितिको काम महत्त्वपूर्ण रहेको बताइन् ।
यस्तै लुंग्री गाउँपालिकाकी उपाध्यक्ष एवं स्थानीय न्यायिक समितिकी संयोजक दिलकुमारी गुरुङले कानुन जान्ने कोसिस गर्दै न्यायिक कार्य गर्नुपरेको अनुभव सुनाइन् । सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मीना थापाले जनप्रतिनिधिका हैसियतमा जनतासँग न्याय प्रदान गर्ने सम्बन्धी काम गर्न पाउँदा खुशी लागेको बताइन् ।
न्यायिक समिति समन्वय संजालका सदस्यसचिव र कानुनी सहजकर्ता अधिवक्ता घनश्याम महराले सबै तहमा गठित न्यायिक समितिले आशलाग्दो तरिकाले काम गरिरहेको बताए । सम्मेलनका विशिष्ट अतिथि रोल्पा जिल्ला न्यायाधीश विनोद खतिवडाले सबै न्यायिक समितिको जिम्मेवार र सफल कार्यबाट जनताले घर आँगनमा न्याय पाउने विश्वास गरे ।
उनले न्यायिक समितिका पदाधिकारीलाई आफ्नो सीमाभित्र रहेरमात्रै न्याय प्रदान गर्न आग्रहसमेत गरे । सम्मेलनका प्रमुख अतिथि रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्तीमगरले नयाँ संरचनाको गठनपछि जनप्रतिनिधिले न्यायिक काम गर्न पाउनु राम्रो व्यवस्था भएको बताए ।
सम्मेलनमा सबै न्यायिक समितिका प्रतिनिधिले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यायिक समिति समन्वय संजालको तेस्रो सम्मेलन आउँदो वर्ष परिवर्तन गाउँपालिकाले आयोजना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्