पुष १८, २०८१ बिहीबार

पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन



काठमाडौँ – नेपालको पहिलो नेपाली महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । ९२ वर्षकी शाहको बिहीबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी परराष्ट्र सेवाबाट सरकारी सेवामा प्रवेश गरी राजदूत समेत बनेकी थिइनत् । उनी नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र पछि भारतका लागि नेपाली राजदूत थिइन्।

शाहलाई २०४४ सालमा राजा वीरेन्द्रले राजदूतमा नियुक्त गरेका थिए। त्यसभन्दा अघि नेपालबाट राजदूतमा कोही पनि नियुक्त नभएकोले उनी राजदूत बन्ने पहिलो नेपाली महिला हुन्।जनआन्दोलनलगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता गरेको थियो। विन्देश्वरीले भारतमा राजदूतको अवधि सकिएपछि पनि सेवानिवृत्त हुनुअघि केही समय परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारी सम्हालेकी थिइन् ।

विन्देश्वरी बैंकर अनिलकेशरी शाहकी आमा हुन् । बिन्दाश्वरी शाहको जन्म सन् १९३३ मा भएको थियो । विन्देश्वरीका बुवा पद्मसुन्दर मल्ल तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका कारण देश छाडेर भारतको खर्साङमा बसेको समयमा बिन्दाश्वरीको जन्म भएको थियो । खर्साङकै सेन्ट हेलेन विद्यालयमा पढेकी विन्देश्वरीले सन् १९५१ मा स्नातक गरेपछि ‘द वर्ल्ड अफ टुमारो’ शीर्षकमा निबन्ध लेखेर सन् १९५२ मा उनी अमेरिका भ्रमणको अवसर पाएकी थिइन् ।

उनी अमेरिकाबाट स्नातक र स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला समेत हुन् । १९५६ मा विन्देश्वरी कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट लिबरल आर्ट्समा स्नातक र सन् १९५८ मा  सन् १९५८ मा स्कूल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिज, जोन्स हप्किन्स युनिभर्सिटी, वाशिंगटन डीसीबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर पूरा गरेकी थिइन्।  उनले लोक सेवा परीक्षा दिएर परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन् ।