पूर्कोटदह – सोमबारदेखि गुल्मीको मदाने गाउँपालिकाका सबै वडामा बर्थिङ्ग सेन्टर सञ्चालन भएको छ । पालिकाका ७ वडामध्ये भनभने स्वास्थ्यचौकीमा सोमबार बर्थिङ्ग सेन्टर सञ्चालन भएसँगै सबै वडाबाट बर्थिङ्ग सेन्टर शुरु भएको हो । बाँकी ६ वटा वडामा यसअघि नै बर्थिङ्ग सेन्टर सेवा थियो ।
बर्थिङ्ग सेन्टर नहुँदा भनभनेका गर्भवती महिलाहरु सुत्केरी गराउनका लागि पूर्कोटदह, धुर्कोट, हाडहाडे, तम्घास, सन्धिखर्क लगायतका स्वास्थ्यसंस्थाहरुमा जानुपर्ने बाध्यता रहेकोमा आजदेखि सो बाध्यता अन्त्य भएको छ ।
बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर केसीले गाउँपालिकालाई जनतालाई घरदैलोमै स्वास्थ्यसेवा उपलब्ध गराउन पालिका लागि परेको बताउनुभयो।
गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले आफूहरु जनताको स्वास्थ्य सेवा पाउने हकलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको बताउनुभयो । भनभने स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर सञ्चालनका लागि गाउँपालिकाले बेड, बेवी वार्मर, अन्य स्वास्थ्य उपकरण उपलब्ध गराएको गाउँपाकिलाका सूचना अधिकारी ऋषिराम पोखरेलले बताउनुभयो ।
बर्थिङ्ग सेन्टर उद्घाटन कार्यक्रममा वडाध्यक्ष काँशी बहादुर बोहोराले जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरुले यसैबर्ष स्वास्थ्यचौकी भवन निर्माण गर्न लागेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्