पेरिस- पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै एनआरएनए फ्रान्सले तनहुँ म्याग्दे १ गुनादीकी गीता खनाल थापालाई निर्वाचित गर्दै इतिहास रचेको छ । अध्यक्षको दौडमा रहेकी खनालले कुल खसेको चार सय ५८ मध्ये दुई सय ४८ मत पाएर जीत दर्ता गरिन् । उनका प्रतिष्पर्धी मीनबहादुर श्रेष्ठले दुई सय १० मत पाए ।
अनलाइन पद्धतिबाट भएको निर्वाचनमा खनालले ३८ बढी मतान्तरले प्रतिष्पर्धी श्रेष्ठलाई हटाएकी हुन् । यस अघिकी वरिष्ठ उपाध्यक्ष खनालले कागजात नभएका नेपालीलाई समेत पक्षपात नगरी सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्ने आदि नारा लिएर चुनावी दौड थालेकी थिईन्।
उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् । निर्वाचनमा आइसीसी सदस्य अमर बहादुर भन्डारी र एकबहादुर मल्लबीच दुई सय २५ को बराबरी भएको छ । अधिवेशनले उपाध्यक्षमा दुई सय ४८ मत सहित शिवराम भण्डारी तथा दुई सय २६ मतका साथ लोकबहादुर पुन, महासचिवमा दुई सय ५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भए । यसैगरी सचिवमा दुई सय ५२ मतका साथ कमलविक्रम केसी तथा कोषाध्यक्षमा दुई सय ३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।
प्रतिक्रिया दिनुहोस्