मंसिर १२, २०८१ बुधबार

आज अन्तर्राष्ट्रिय नारी दिवस : इतिहास, प्रदर्शन र उत्सव



आज ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

१.कसरी यो सुरु भयो ?

अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो जुन पछि संयुक्त राष्ट्र सङ्घले मान्यता दियो।

सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो।

त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गर्‍यो।

उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन्।

उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।

त्यो पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो। त्यसैले यो वर्ष हामीले १११औँ नारी दिवस मनाइरहेका छौँ।

सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुग्यो। राष्ट्र सङ्घले पहिलो नारा “सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने” भन्ने राखेको थियो।

अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ। र विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोध प्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ।

२. किन ८ मार्च?

क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस प्रस्ताव गर्दा कुनै निश्चित दिन तोकेकी थिइनन्।

सन् १९१७ मा रुसी महिलाहरूले ब्रेड एन्ड पीस माग गर्दै चार दिने विरोध प्रदर्शनपछि त्यस बेलाका जारले सत्ता छोडे र त्यसपछि बनेको कामचलाउ सरकारले महिलालाई मतदानको अधिकार दियो।

त्यस बेला रुसमा प्रचलनमा रहेको जुलियन क्यालेन्डर अनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो जुन ग्रेगोरिअन क्यालेन्डर अनुसार मार्च ८ परेको थियो र त्यस यता नै नारी दिवस मनाउन थालियो।

३. किन मानिसहरू प्याजी रङका कपडा लगाउँछन्?

अन्तर्राष्ट्रिय नारी दिवसको वेबसाइटमा प्याजी रङलाई न्याय र गरिमाको रङ भनिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको वेबसाइटका अनुसार प्याजी, हरियो र सेतो रङ अन्तर्राष्ट्रिय नारी दिवसको रङ हो।

“प्याजी रङले न्याय र गरिमा जनाउँछ। हरियोले आशा जनाउँछ। सेतोले पवित्रता जनाउँछ तर यो विवादमा पनि छ। यी रङहरू सन् १९०८ मा यूकेको विमिन्स सोसल एन्ड पोलिटिकल युनियन बाट सुरु भएको हो”उनीहरू भन्छन्।

४. नारी दिवस कसरी मनाइन्छ र के यो वर्ष भर्चुअल समारोह हुनेछन्?

धेरै देशहरूमा अन्तर्राष्ट्रिय नारी दिवसमा बिदा दिइन्छ। रुसमा पनि बिदा दिइन्छ र त्यहाँ ८ मार्चका वरिपरिका तीन चार दिन फूल बिक्री दोबर हुने गर्छ।

चीनमा कैयौँ महिलालाई ८ मार्चका दिन आधा दिन छुट्टी दिइन्छ। इटलीमा मिमोसाका फूल दिएर यो दिनको उत्सव मनाइन्छ। यस्तो परम्परा कसरी सुरु भयो भन्ने स्पष्ट छैन तर यो रोममा दोस्रो विश्वयुद्धपछि सुरु भएको ठानिन्छ।

अमेरिकामा मार्च महिना महिलाको इतिहास महिनाका रूपमा मनाइन्छ। राष्ट्रपतिद्वारा हरेक वर्ष अमेरिकी महिलाहरूले गरेको प्रगति विवरण उल्लेख गर्ने चलन छ। केही कार्यक्रम भर्चुअल हुनेछन्।

५. हामीलाई यो किन चाहिन्छ?

महिला अधिकारबारे विश्वव्यापी लडाइँमा हामीले केही पछाडि हट्नुपरेको हामीले देखेका छौँ।

अफगानिस्तानमा तालिबानहरू सत्तामा आएपछि दशौँ लाख महिलाको जीवन परिवर्तन गरिएको छ।

केटीहरूलाई स्कूले शिक्षाबाट वञ्चित गरिएको छ। महिला मन्त्रालय खारेज गरिएको छ र धेरै महिलाहरूलाई कार्यालयको काममा नआउन भनिएको छ।

कोरोनाभाइरस महामारीले पनि महिला अधिकारमाथि असर पारेको छ।

वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०२१ का अनुसार महामारीले विश्वव्यापी जेन्डर ग्याप बढाइदिएको छ।

यूएन विमिनले सन् २०२१ मा १३ देशको तथ्याङ्कमा आधारित भएर गरेको एक अध्ययनमा कोभिड १९ का बेला ४५ प्रतिशत महिलाले कोभिड १९ महामारीका बेला कुनै न कुनै किसिमको हिंसा भोग्नुपरेको बताएका थिए।

महामारी चलिरहेको भए पनि सन् २०२१ मा संसारभर नारी दिवसका दिन प्रदर्शनहरू भएका थिए।

तर पछिल्ला केही वर्ष नेतृत्वमा नारीहरू सन्दर्भमा केही प्रगति पनि भएका छन्। सन् २०२१मा कमला ह्यारिस पहिलो अश्वेत जाति र पहिलो एसियन अमेरिकनका रूपमा अमेरिकी उपराष्ट्रपति बनिन्।

सोही वर्ष तान्जानियामा सामिया सुलुहु हसनले पहिलो महिला राष्ट्रपतिको शपथ लिइन्। इतिहासमा पहिलो पटक एस्टोनिया, स्विडेन, सामोआ र ट्युनिसियामा महिला प्रधानमन्त्री बने। ज्यानुअरी २०२२ मा जिओमारा क्यास्ट्रो हुन्डुरसका पहिलो महिला राष्ट्रपतिका रूपमा शपथ लिइन्।

सन् २०२१ मा न्यू जिल्यान्डले महिला र उनका पार्टनरहरूलाई गर्भपतन वा मृत बच्चा जन्मे भने शोक बिदा अनुमोदन गर्‍यो।

र यौन दुर्व्यवहार सन्दर्भमा मीटु कुराकानीको असर त झन् कसैले बिर्सनै सक्दैन। त्यो सन् २०१७ मा सुरु भएको हो। सन् २०२२ को ज्यानुअरीमा मोरक्कोमा एक जना विश्वविद्यालयका लेक्चररलाई दुई वर्ष जेल हालियो। फेब्रुअरी २०२२ मा कोलम्बियाले गर्भावस्थाको पहिलो २४ हप्तामा हुने गर्भपतनलाई वैध बनायो। तर यही समयमा अमेरिकामा भने गर्भपतनलाई कतिपय राज्यमा कडा बनाइएको छ। बीबीसीको सहयोगमा