भक्तपुर, २ मंसिर – भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका दधिकोटकी बिनु श्रेष्ठ जुत्ता मात्रै बनाउँदिनन्, त्यसको डिजाइनसमेत गर्छिन् । उनी जुत्ता बनाएरै अहिले करोडपति भएकी छन् ।
केही हजार रुपैयाँबाटै सुरु गरेको व्यवसाय सफल भएपछि त्यसको लागत अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिनु हस्तकला तथा तालिम केन्द्र सञ्चालन गरेर त्यहाँबाट बनाइएका जुत्ता अहिले धेरै महिला तथा बालिकाले प्रयोग गरिरहेका छन् । आफूले बनाएका जुत्ताको बजार माग अहिले बढी रहेको उनले बताइन् ।
उनले मखमलीका जुत्ता बनाउँछिन्, जुन जुत्ता उपहारका रूपमा विदेशमा समेत लैजाने गरिएको छ । ‘केन्द्रबाट उत्पादित जुत्ता भक्तपुरसँगै काठमाडौं, ललितपुर, चितवन र बुटवलका बजारमा उपलब्ध छन्’, बिनु भन्छिन्, ‘धेरैले विदेशमा उपहार पठाउन भनेर लैजाने गरेका छन् । केन्द्रबाट उत्पादित जुत्ता अहिलेसम्म युरोपका विभिन्न देश पुगेका छन् ।’
बिनुले अहिले घरमै काम गर्न चाहने सातजना महिलालाई रोजगारी दिएकी छन् । फुर्सदको समयमा उनले महिलालाई मखमली जुत्ता बनाउने तालिमसमेत दिन्छिन् ।
केन्द्रले दुई सय पचासदेखि ६ सय रुपैयाँसम्म मूल्यका जुत्ता तयार गरिरहेको छ । सबै जुत्ता हातैले बनाउनुपर्ने भएकाले बजारमा पाइनेभन्दा केही महँगो पर्ने उनले बताइन् । जुत्ताका लागि आवश्यक कच्चापदार्थ काठमाडौंबाट ल्याउने गरेको उनको भनाइ छ ।
२०७२ वैशाख २ गते करिब ३७ हजार रुपैयाँबाट मखमली जुत्ता बनाउने व्यवसाय सुरु गरेकी बिनुले जिल्ला विकास समिति भक्तपुरअन्तर्गत स्थानीय विकास कोषबाट आधारभूत एवं विशिष्ट तालिम लिएकी हुन् ।
खेर गइरहेको समयमा के गर्ने भन्ने अन्योलमा रहेकी बिनुलाई श्रीमान्ले जुत्ता उत्पादन गर्न सुझाएको सल्लाह फापेको छ । ‘व्यवसाय सुरु गर्ने समयमा घरमा १२ हजार रुपैयाँ मात्रै थियो’, उनले भनिन्, ‘काम सुरु गर्ने अठोट लिएका कारण स्थानीय सरस्वती महिला सामुदायिक संस्थाबाट २५ हजार ऋण लिएँ ।’
३७ हजार रुपैयाँबाट सुरु गरिएको व्यवसायमा अहिले एक करोड रुपैयाँभन्दा बढी पूँजी भइसकेको उनले बताइन् । व्यवसायबाट मासिक ५० हजार रुपैयाँबराबरको कारोबार हुने उनले जानकारी दिइन् । ‘महिनामा करिब ८०–९० जोर जुत्ता बनाउँछौं । ५० हजार रुपैयाँबराबरको कारोबार हुन्छ’, बिनुले भनिन्, ‘कारोबार भएको रकमबाट आधा नाफा हुन्छ ।’
बिनुले अहिले घरमै बसेर काम गर्न चाहने सातजना महिलालाई रोजगारीसमेत दिएकी छन् । त्यति मात्रै होइन, फुर्सदको समयमा अन्य महिलालाई मखमली जुत्ता बनाउने तालिमसमेत दिँदै आएकी छन् । स्वरोजगारमार्फत सुरु गरिएको व्यवसायमा सफलता हात लागेकाले आफ्नो खुसीको सीमा नरहेको उनको भनाइ छ । ‘संघर्ष गर्नुपर्छ, प्रतिफल पाउन धेरै समय नलाग्ने रहेछ’, उनले भनिन्, ‘अहिले म सन्तुष्ट छु । आफैप्रति गौरवको अनुभूति भएको छ ।’ अन्नपूर्ण पोष्ट बाट
प्रतिक्रिया दिनुहोस्