नेपालमा महिला घरमूलीको सङ्ख्या पछिल्लो एक दशकमा ५.८२ प्रतिशतले बढेको छ। पछिल्लो जनगणनाका अनुसार कुल ६६ लाख ६६ हजार ९३७ घरपरिवार मध्ये ३१.५५ प्रतिशतमा महिला सदस्यको नेतृत्व रहेको छ।
पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१को नोभेम्बर २५ तारिखसम्ममा नेपालमा महिलाहरूको सङ्ख्या एक करोड ४९ लाख ११ हजार ०२७ अर्थात् जनसङ्ख्याको ५१.०२ प्रतिशत पुगेको छ।
तर एकजना समाजशास्त्री मिना पौडेल भने विशुद्ध रूपमा तथ्याङ्क मात्रै नहेरेर सांस्कृतिक, सामाजिक अनि कानुनीरूपमा घरमूलीको परिभाषा के हो भन्ने दृष्टिकोणबाट हेरिन जरुरी रहेको बताउँछिन्।
‘‘घर चलाउने पनि भनिएको छ प्रतिवेदनमा। अब घर चलाउने र घरमूली दुई फरक कुरा हुन्। घर चलाउने भनेर घर खर्च चलाउने कुराहरू तर्फ केन्द्रित भएको देखिन्छ,’’ उनले भनिन्।
‘‘आफ्नै उदाहरण दिँदा मैले मेरै बुवा आमा, भाइहरूको खर्च चलाउँछु। तर मेरो घरमा कसैले को हो मूली भनेर सोधे कानुनीरूपमा बुवा हुनुहुन्छ।’’
त्यस अर्थमा समाज परिवर्तन भइरहेको र सामाजिक सूचक परिवर्तन भइरहेको भए पनि कानुनीरूपमा परिभाषा प्रस्ट नभएको हो कि भन्ने प्रतिवेदन पढ्दा महसुस हुने उनी बताउँछिन्।
पछिल्लो प्रतिवेदन अनुसार कुल घरपरिवारमध्ये घर वा जग्गा माथिको स्वामित्व भएको महिलाहरूको सङ्ख्या २३.८ प्रतिशत पुगेको छ।
त्यस्तै घर र जग्गा दुबै महिला सदस्यको स्वामित्वमा हुनेहरूको सङ्ख्या ११.८ प्रतिशत छ जुन सन् २०११को तुलनामा १.१ प्रतिशत बढी हो।
तर स्वामित्वको तथ्याङ्कले समाजमा महिलाको अझै समान हैसियत नभएको दर्साउने पौडेलको तर्क छ।
‘‘धेरै काम गर्नुपर्ने छ भन्ने यसले देखाउँछ,’’ उनले भनिन्।
तर यी सूचकहरूमा टेकेर आलोचनात्मक विश्लेषण गरेर अघि बढ्न सके यी सूचक सकारात्मक पहलका लागि आधार बन्न सक्ने उनको बुझाइ छ।
प्रतिक्रिया दिनुहोस्