यमुना खनाल
आफैंले दश महिनासम्म पेटमा बोकी, कोख फुटाएर जन्माएको, दश धारा दुध पिलाएर हुर्काएको आफ्नै रगतले आफैंलाई यसरी धरधरी रुवाउला भन्ने कैलासी ठाकुरले सोचेकी पनि थिइनन् । तर आफैले जन्माएको जेठो छोराले दिएको पिडाले उनी अहिले रुँदै हार गुहार गरेर हिँड्दै छन् । आफ्नै कोखले दिएको पीडाको मलमपट्टी र सहाराका लागि पराइसँग रोई कराई गरिरहेकी छन् ।
कैलासी ठाकुरका जेठा छोरा जितेश्वर ठाकुर दोलखामा क्याम्पस पढाउँछन् । उनले दुई तीनवटा विषयमा डिग्री गरेका छन् । तर आमाको नाम रहेको सम्पत्तिमाथिको गिद्धे नजरले उनले यो हैसियत सबै गुमाए । लेखपढ गर्न नजान्ने बृद्ध आमालाई बैंकबाट ऋण निकाल्नुपर्यो सही गरिदिनुस भन्दै झुक्याएर मालपोत कार्यालयमा लगे । अनि भएभरको जायजेथा, जग्गा, जमिन, आफ्नी आमाको नामबाट श्रीमतीकी आमाको नाममा पास गरिदिए ।
जितेश्वरकी सासुले सम्धिनी कैलासी ठाकुरको नामबाट आफ्नो नाममा जग्गा आएपछि छोरीलाई दाईजो स्वरुप दिएको भन्दै जितेश्वरकी श्रीमती अर्थात आफ्नै छोरीका नाममा पास गरिदिईन् । गोलबजार नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा रहेको पैत्रिक सम्पत्ति घर र जग्गा सबै जितेश्वरले ससुरालीका नाममा गरेर श्रीमतीको नाममा सारेपछि आफैले दुःखले बनाएको घर बुहारीको दाईजोमा परिणत भएको छ । श्रीमानको मृत्युपछि कैलासी ठाकुर, उनका कान्छा छोराको घरबाट समेत निकालिएकी छन् ।
अशिक्षाका कारण महिलामाथि हिंसा भईरहेको छ भनिन्छ । तर शिक्षितबाटै हुने हिंसा झन क्रुर देखिएको छ समाजमा । कैलासी ठाकुरले, छोराले पढे सम्पत्ति किन चाहियो भन्दै भएको सम्पत्ति बेचिन दःुख जिलो गरेर छोरा पढाईन् । तर अहिले छोरा बुहारीले दिनहुँ गाली गलौज गर्छन्, खान दिँदैनन् र घरबाट निकाल्छन् ।
यता ठाकुर समाजमा उनका छोराले आफूले गरेको जालसाजी स्वीकार्दै २५ लाख रुपैयाँ आमा र कान्छो भाईलाई दिने भनेर कागज पनि गरेका छन्, तर अहिलेसम्म नदिएपछि कैलासी ठाकुरले अदालतमा मुद्दा दर्ता गरेकी छन् ।
धरै महिलामाथि हिंसा आर्थिक कारणले हुने गरेका छन् । त्यसमा पनि श्रीमानको मृत्युपछि सम्पत्तिको कारणले हिंसा हुने गरेको घटनाक्रमले देखाउँछ ।
लहान नगरपालिका कै दशनी दासका श्रीमानको मृत्यु भयो । श्रीमानको मत्युपछि गाउँलेले श्रीमानको संस्कार गर्न दिएनन् । छिमेकीले उनलाई श्रमानको दाहसंस्कार गर्ने भए लहान नगरपालिकामा दशनी दासको नाममा रहेको एक कठ्ठा जग्गा दिनु पर्ने अत्तो थापे । उनकी ६ वर्षकी एक छोरी छन्, आफू दृष्टिविहीन । आफन्तहरू घरपटिका कोही छैनन् । उनका श्रीमान जनकपुरका हुन् । दशनीसँग विवाह गरेपछि उनका श्रीमान ससुरालीमै बस्दै आएका थिए ।
दशनीका श्रीमानको लास उठाउन २४ घन्टासम्म दशनीका आगनमा कोही आएनन् । उनले घरै पिच्छे गएर खुट्टा ढोग्दै श्रीमानको अन्तिम संस्कार गर्नका लागि याचना गरिन् ।
तर छरछिमेकीले लहान नगरपालिकामा रहेको एक कठ्ठा जग्गा धर्मशाला बनाउन दिएमात्र लास उठाउने भन्दै कसैलाई आउन दिएनन् । त्यो जग्गाको अहिलेको बजार मुल्य करोड भन्दा बढी छ । उनले लाख अनुनय बिनय गरिन् । गाउँलेका , खुट्टा ढोगिन् । तर छर छिमेकी कोही आएनन् ।
जग्गा नदिए नगरपालिकाबाट ट्याक्टर ल्याएर फाल भन्दै उल्टै जंगिए । अन्तिममा केही सीप लागेन उनले नगरपालिकाबाट ट्याक्टर ल्याईन् । तर जब ट्याक्टर लिएर आईन उनी छिमेकीले ट्याक्टर घेरेर राखे । मृत्यु भएको २४ घन्टासम्म लास उठेन ।
दशनीले जग्गा दिन नमानेपछि जग्गा नदिए १५ लाख रुपैयाँ दिनुपर्ने कपाली कागज बनाएर ल्याएको भन्दै छिमेकीले सही गरे श्रीमानको शब उठाउन दिने भने । दशनी दासलाई गाउँलेले पछि यो कागज च्यातौला अहिले सही गर भनेर उनलाई करकाप गरे । दुबै आँखा नदेख्ने दशनीलाई जबरजस्ती कपाली कागजमा सही गराईयो ।
अहिले उनी भन्छिन् ‘श्रीमानको लास कति दिन राख्नु भनेर सही गरिदिएँ उनीहरूले १५ लाखको कागज हो भने पन्ध्र लाख थियो कि पचास लाख थियो म आँखा पनि देख्दिन पढ्न पनि जान्दिन।’ अहिले आफ्नै घरमा बस्न कठिन भएको उनी बताउँछिन् । दशनी दास आफूमाथि अन्याय भएपनि उजुरी गर्न नसकेको बताउँछिन् । आफू आँखा नदेख्ने र आफन्तका नाममा नाबालिका छोरीमात्र भएकाल सहारा दिने कोही नहुँदा न्यायका लागि कतै नगएको उनले बताईन् ।
यता लहान नगरपालिकाकी सुमित्रा देवी शाहले आफ्ना श्रीमानको मृत्यु भएपछि लहानमा रहेको आफ्नो किराना पसलका कागजपत्र, बिल भरपाई, देबर महेश शाहले कब्जा गरेको बताईन् ।
लहान नगरपालिकामा आफ्नो नाममा रहेको पाँच धुर जग्गा जेठाजु बैद्यनाथ शाहले मान्छे लगाएर कब्जा गराएको सुमित्रा देवीले पत्रकार सम्मेलन गरेर जानकारी दिईन् । साथै उनले आफू बस्दै आएको लहान ६ मा रहेको घर कब्जा गर्न परिवारका सदस्यले घरभित्र पस्न नदिने, कुटपीट गर्ने , सार्वजनिकस्थलमा गाली गलौज गरेको र चरित्रमाथि आरोप लगाउने गरेको उनले सुनाईन् । सुमित्रा भन्छिन् ‘श्रीमानको मृत्यु भयो, भएको सम्पत्ति पनि परिवारले हत्याउन लागिसके, मेरा साना साना तीन जना छोरी छन,् उनीहरूको पढाईलेखाई लालनपालन कसरी गर्ने, त्यसमा पनि म मुटु रोगी छु ।’
परिवारले भएभरको सम्पत्ति कब्जा गर्न खोजेपछि उनले अदालतमा मुद्दा दर्ता गरेकी छन् ।
एकल भएपछि धेरै महिला हिंसाका शिकार भएको एकल महिला सिरहाकी उपाध्यक्ष मनिता चौधरी बताउँछिन् । सबै एकल महिला संगठित नभएकाले उनीहरूले भोगेका समस्या एकल महिला समूहसम्म पनि आई नपुगेको उनको भनाइ छ । एकल हुने बित्तिकै महिलामाथि आर्थिक, सामाजिक , सांस्कृतिक हिंसा हुने गरेकाले आगामी दिनमा सिरहा भरी रहेका एकल महिलालाई संगठित गर्ने आफूहरूको योजना रहेको उनले बताईन् । महिलाखवरबाट
प्रतिक्रिया दिनुहोस्