खेम बम
डोटी, ७ पुस – प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण स्वास्थ्यको दृष्टिकोणले सरसफाइमा सुरक्षित हुनु अनिवार्य हुन्छ । पहिलोपटक महिनावारी हुँदा अलि बढी संवेदनशील बन्नुपर्ने हुन्छ । यो समयमा किशोरीलाई पारिवारिक माया र स्नेहकोे खाँचो परेको हुन्छ । तर सुदूरपश्चिमका जिल्लामा भने यो समयमा चेलीले अप्ठ्यारो स्थिति बेहोर्नुपर्ने हुन्छ । पहिलोपटक महिनावारी हुँदा त झन् १२ देखि १५ दिनसम्म घरबाट टाढा बस्नुपर्ने र धेरैको नजिक नआउने जस्ता समस्याले झन् यहाँ असहज स्थिति सिर्जना हुनेगर्छ । सामाजिक विकृति र कुसंस्कारका रुपमा मौलाएको छाउपडी प्रथालाई लिखितरुपमा निर्मूल गर्ने सहमति भए तापनि व्यावहारिक रुपमा जस्ताको तस्तै रहेको छ ।
डोटी जिल्लास्थित महिला तथा बालबालिका कार्यालयका अधिकृत निर्मला दाहालका अनुसार महिनावारी आफैँ समस्या होइन, त्यसलाई समाजले लगाएको निषेधको उपज हो । छाउपडीका विषयमा विभिन्न गैरसरकारी संस्थासँग समन्वय गर्दै महिला तथा बालबालिका कार्यालय, डोटीले समेत कार्य गर्दै आएको दाहालले बताउनुभयो । आदिमकालदेखि चलिआएको परम्परालाई निर्मूल गर्न नसकिए तापनि नियन्त्रणका प्रयास भएको अधिकृत दाहालको भनाइ छ ।
तर त्यो व्यवहारमा भने फिटिक्कै परिवर्तन भएको छैन । डोटीलगायत सुदूरपश्चिमका छाउपडीसम्बन्धी कार्य गर्ने संस्थामा कार्यरत महिला नै महिनावारीको समयमा अलग्गै बस्ने र कसैको शरीरमा नलाग्ने गरेको एक स्रोतले बताएको छ । छाउपडीसम्बन्धी चेतनाको विकास नहुँदै ग्रामीण भेकमा कार्य गरिरहेका राष्ट्र्यि तथा अन्तर्राष्ट्र्यि गैरसरकारी संस्था (एनजिओ÷आइएनजिओ) ले छाउगोठ भत्काउने जस्ता चेतनाको विस्तार गर्दा यसले उल्टो रुप लिएको डोटीका समाजसेवी टेक बमको भनाइ छ । निश्चित समयका निम्ति कार्य गर्न आएका गैरसरकारी संस्थाले एकैपटक परिवर्तन गर्न खोज्दा यो समस्या विकराल बनेको उहाँको बुझाइ छ ।
हालसम्म सुदूरपश्चिममा छाउपडीको समस्याले नौजना भन्दा बढी महिलाले ज्यान गुमाउनु परेको तथ्याङ्क महिला तथा बालबालिका कार्यालयसँग रहेको छ । समाजमा जरो गाडेको छाउपडी प्रथा निर्मूलका निम्ति खर्चिएका करोडौँ, अरबौँ रकम कहाँ खर्च गरिएका छन्, केलाउने समय आएको जिल्लाका जानकार बताउँछन् । डोटी जिल्लामा मात्रै यसमा करोडौँ रकम खर्च भइसकेको छ । डोटीको सदरमुकामकै ‘सिलगाउँ’ सिलगढीको मुटुमा रहेको छ, त्यहाँ अहिलेसम्म पनि छाउ मान्ने चलन हटेको छैन । स्थानीयवासीका अनुसार जिल्लाका ग्रामीण भेकमा भन्दा त्यो टोलमा छाउ बढी मान्ने गरेको पाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्