आफ्नै पति र नाताले नन्द पर्नेको निर्घात कुटाइबाट थलिएकी रोल्पाकी सुनकुमारी नेपालीलाई मरणासन्न अवस्थामा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । ढिलो अस्पताल पुर्याइएकी उनको गतिलो उपचार हुन पाएन र मृत्यु भयो । नाताले बहिनी पर्नेसँग लोग्नेको हिमचिम बढ्दै गएपछि सुनकुमारीले सम्झाउँदा झगडा भएको र दुवै मिलेर मरणासन्न हुने गरी कुटेको सार्वजनिक भएको थियो ।
चरम शारीरिक र मानसिक हिंसाबाट आजित भई लोग्नेविरुद्ध घरेलु हिंसाको मुद्दा लिएर नाबालक छोरासहित अदालतको ढोका ढकढक्याउन पुगेकी चितवनकी रमिला (नाम परिवर्तन)ले अदालतबाट मानाचामलको मुद्दा त जितिन् तर फैसलाअनुसार सहयोग पाइनन् । लोग्नेले गोप्य रूपमा अर्की पत्नी राखेको थाहा पाएपछि पुनः बहुविवाहको मुद्दा हालिन् । तर, अदालतबाट दुवै धरौटीमा रिहा भए । रमिला भन्छिन्, ‘छोराको गल्ती देख्नु त कताकता, सासू र पढालेखा नन्दसमेत मलाई भुत्ल्याउन पछि परेनन् ।’
यतिबेला महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस वर्ष ओरेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार महिलामाथि भएका हिंसामध्ये सबैभन्दा बढी घरेलु छन् । महिला हिंसाका कुरा गर्दा सामान्यतः पीडकमा पुरुषकै नाम जोडिन आइपुग्छ । हिंसाका कारक मुख्य रूपमा पुरुष नै देखिन्छन् किनकि हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलामाथि हुने शारीरिक, मानसिक, यौनिकलगायत अनेकखाले हिंसा पुरुषबाटै हुने गर्छन् ।
तर, घरेलु हिंसाका कुरा गर्दा एकतर्फी रूपमा पुरुषलाई मात्र दोष दिएर गाली गरिरहनुभन्दा त्यसमा आफूचाहिँ कत्तिको जिम्मेवार छौं भन्ने समीक्षा गर्नुपर्छ । महिला नै महिलामाथि हिंसा गर्न उद्यत हुने र हिंसा गर्न पुरुषलाई उक्साउने गर्छन् । यसको प्रमुख कारण महिला–महिलाबीचको ईष्र्याको भाव नै हो । जसरी राजनीतिमा सत्ता र शक्तिका लागि प्रतिस्पर्धा हुन्छ र एकले अर्काको अस्तित्व स्वीकार्न नचाहने प्रवृत्ति हुन्छ, त्यसरी नै घरभित्र पनि एउटी महिलाले अर्की महिलाको अस्तित्व स्वीकार्न चाहन्न ।
त्यसैले सासू–बुहारी, नन्द–भाउजू आदि नाताबीच टकराव उत्पन्न हुन्छ । राजनीतिमा जस्तै घरभित्र पनि तीन ‘स’ (सत्ता, शक्ति र स्वामित्व)का लागि द्वन्द्व चल्छ । परिवारमा जुन महिला शक्तिमा छे, उसले कमजोरमाथि हिंसा गर्छे । चाहे सासू होस् या बुहारी या अरू नै । हुन त, महिला हिंसामा महिलाको हात हुन्छ भन्दा कतिपयलाई पच्दैन । उनीहरू भन्छन्, ‘यो सब पुरुषवादी मानसिकताले गर्दा भएको हो ।’
महिला नै महिलामाथि हिंसा गर्न उद्यत हुने र हिंसा गर्न पुरुषलाई उक्साउने गर्छन् ।
त्यसो भए किन त्याग्न सक्दैनन् महिलाहरूले आफैंलाई हानी गर्ने त्यो ‘पुरुषवादी मानसिकता’ ? किन बुझाउन सकिरहेका छैनन् उनीहरूले ? कतिपय शिक्षित र सभ्य भनिएका हामी महिलाले नै मानसिकता परिवर्तन गर्न सकिरहेका छैनौं । छोरा नजन्माएको भन्दै बुहारीमाथि ज्यादती गर्न महिला नै अघि सर्छन् । छोरालाई महत्व दिएर छोरीको भ्रुणहत्या गर्न अघि सर्छन् तर त्यसको विरोधमा कुनै महिलाले विद्रोह गरेको सुनिँदैन ।
जति पनि कुरीति र कुसंस्कारजन्य धार्मिक र सामाजिक मूल्यमान्यता छन्, तिनलाई महिलाले नै निरन्तरता दिंदै आउनुले पनि उनीहरू हिंसाको शिकार भइरहेका छन् । बोक्सी, छाउपडीजस्ता अमानवीय कुरीतिलाई महिला नै बढी विश्वास गर्छन् । बोक्सीको आरोपमा महिलामाथि हिंसा गर्न र मलमुत्र खुवाउन महिला पनि अघि सरेका घटना प्रसस्तै छन् ।
घरेलु हिंसाको अर्को क्रुरतम् रूप हो दाइजो । त्यस निहुँमा प्रायः तराई समुदायका छोरी बुहारी कुटिने, घरनिकाला गरिने, मारिने, ज्यूँदै जलाइने गरेका घटना प्रसस्त सुनिन्छन् । दाइजोको निहुँमा एउटी महिलामाथि हुने यस्ता क्रुर हिंसामा परिवारका महिलाकै कत्तिको हात हुन्छ त ? बिहेमा वा बिहेपछि दाइजो खोज्नेमा परिवारका पुरुष सदस्य मात्र हुँदैनन् ।
महिलालाई पनि यो रोगले गालेको हुन्छ । यो ल्याइन, त्यो ल्याइन भनेर बुहारीलाई शारीरिक र मानसिक दुःख दिने काम सासूले नै गर्छे । जबसम्म महिलाकै मनबाट दाइजोको लालच हट्दैन र छोराले दाइजोको निहुँमा बुहारीलाई यातना दिँदा सासूले बचाउ गर्दिन, तबसम्म यस्ता हिंसा भई नै रहन्छन् । महिलाले आफूमाथि हुने गरेका यौनलगायत हिंसालाई निर्धक्कसँग बाहिर ल्याउने र पीडकलाई समाजसामु नांगेझार पार्ने हिम्मत नगरेसम्म हिंसा अन्त्य सम्भव छैन ।
प्रतिक्रिया दिनुहोस्