काठमाडौँ — बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट सार्वजनिक गरेको एक सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि समेटिएकी छन् । नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्य जलवायु अभियानअन्तर्गत सय प्रभावशाली महिलाको सूचीमा समेटिएकी हुन् ।
को हुन् त शिलशिला आचार्य ?
शिलशिला आचार्य नेपालमा लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय उद्यमी हुन् । बीबीसीका अनुसार उनी नेपालमा प्लास्टिकको पुन: प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउँछिन् । उनले फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामको संस्था चलाउँदै आएकी छिन् । यस संस्थाले सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिंदै आएको छ । साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको समेत बीबीसीले उल्लेख गरेको छ ।
शिलशिलाले सन् २०१४ मा ‘धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियान सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । यसले बजारमा सामान किनमेलमा प्लास्टिकको झोला प्रयोगमा रोक लगाउनसमेत प्रेरित गरेको बीबीसीले जनाएको छ । जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो ।
शिलशिला हिमाल सफा गर्ने अभियानमा समेत जोडिएकी थिइन् । उनी संलग्न उक्त अभियानमा हिमालमा आरोहीहरूले छाडेको करिब १ सय १९ टन फोहोर संकलन गरिएको थियो । हिमालमा संकलन गरिएका तिनै फोहोरबाट आदिवासी महिलाहरूले शृंगारका सामान, म्याट र डालो बनाएर जीवन निर्वाहलाई समेत सहज बनाएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीले सार्वजनिक गरेको सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन् ।
बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ ।
बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन् । सूचीमा पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्यसमेत छिन् । त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्