फाल्गुन २४, २०८१ शनिबार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि साम्बा, एन्जिला र रेखा नेपाल आउने



काठमाडाैं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीका फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल तथा गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा नेपाल आउने टुंगो लागेको छ।

फ्रान्सको लिग खेलिरहेकी साम्बा आगामी फागुन ५ मा नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए।

च्याम्पियनसिप फागुन ५ मै दशरथ रंशगालामा सुरु हुँदैछ। त्यसअघि युएईको लिग खेलिरहेकी रेखा र ग्रिसको लिग खेलिरहेकी एन्जिला आइपुग्नेछन्।

एन्जिला आज दिउँस नेपाल आइपुग्दैछिन् भने रेखा भने फागुन ३ मा काठमाडौं ओर्लिनेछिन्। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ।

सहभागी टोलीमध्ये किर्गिस्तान आज र बाँकी दुई टोली फागुन २ मा काठमाडौं आइपुग्ने एन्फाको भनाइ छ। प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। सहभागी टोलीले एन्फा कम्प्लेक्सको खेल मैदान र नेपाली सेनाकी भद्रकाली खेल मैदानमा प्रशिक्षण गर्नेछन्।

प्रतियोगिताको तयारीका हाल लागि ३० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणामा रहेको छ।

प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।

प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिए‌को छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।

प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख रूपैयाँ रहेको छ।

प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।

नेपालका सबै खेल दशरथ रंगशालामा हुनेछन् भने साँझ साढे पाँच बजे सुरु हुनेछ। लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ।

खेल तालिका

फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ६ बजे ‍

फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे

फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार : साँझ ६ बजे

फागुन १४ गते
फाइनल : साँझ ६ बजे

नेपालको प्रारम्भिक टोली

गोलकिपर
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सावित्री किशन, सुजाता तामाङ

डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी

मिडफिल्डर
अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुष्मा तामाङ, मनमाया दमाई, बिर्सना चौधरी

फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल