मंसिर १३, २०८१ बिहीबार

यौन सम्बन्ध राख्न नमानेपछि युवतीको विभत्स हत्या



खोटाङ – भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले खोटाङको चिसापानी–४ का ४० वर्षीय रोहिन कार्कीलाई पक्राउ गरेको छ । पक्राउ परेका कार्कीले यौन सम्पर्कको प्रस्ताव अस्वीकार गरेपछि आफूले महतको हत्या गरेको वयान प्रहरीलाई दिएका छन् ।

गत बुधबार घरबाट हिँडेकी सुमिनाको शव शनिबार दिउँसो खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा भेटिएको थियो । खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा महतको विभत्स शव फेला परेको थियो । सोधखोजका क्रममा शव महतको भएको पुष्टि भएपछि अनुसन्धानमा जुटेको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले प्रारम्भिक सोधपुछका क्रममा उसले शारीरिक सम्बन्ध राख्न नमान्दा हत्या गरेको बयान दिएको बताए । उनले अर्काे वयानमा भने घर युवतीलाई लैजाने÷नलैजाने भन्ने विषयमा झगडा हुँदा सो घटना भएको बताएको जनाए ।

पक्राउ परेका कार्कीले आफूहरुबीचको विवाद उत्कर्षमा पुगेपछि युवतीको लेडिज व्यागमै रहेको ‘भोजपुर’ लेखिएको खुकुरी प्रयोग गरेर हत्या गरेको स्वीकारेको बताए ।

डीएसपी प्रधानले मृतकको गरगहना तथा रगत लागेको कपडासहित कार्कीलाई पक्राउ गरिएको बताए । पक्राउ परेका कार्कीले युवतीको कपडा खोलामा बगाइदिएको, मोबाइल फालिदिएको बताएका छन् ।

कार्की विवाहित र मृतक युवती अविवाहित हुन् । लामो समयसम्म कतार बसेर आएका कार्कीले युवती लिन आफू भोजपुर पुगेको र डम्बर्खु शिवालयसम्म ल्याएको वयान दिएका छन् । परिवारका अनुसार मृतक सुमिना सोझी स्वभावकी थिइन् । कार्की र महतबीच लामो समयदेखि मोबाइल र इमेलबाट सम्पर्क बढेको खुलेको छ ।