काठमाडौं – बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन्। साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा उनी हिजो अपरान्ह काठमाडौं आइपुगेकी हुन्।
फोरमले काठमाडौंमा गर्न लागेको कार्यक्रमको उनी प्रमुख वक्ता हुन्। काठमाडौंको अन्नपूर्ण होटलमा बसेकी उनको सुरक्षा जोखिमलाई ख्याल गरेर प्रहरीले ब्यापक सुरक्षा दिएको छ।
प्रहरी निरीक्षकको कमाण्डमा उनलाई सुरक्षा दिइएकोे काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्नकुमार कार्कीले जानकारी दिए। “उनलाई सुरक्षा पर्याप्त छ,” कार्कीले भने, “डराउनुपर्ने अवस्था छैन्।” अायोजकले नसरीनका लागि सुरक्षाको प्रबन्ध गरिदिन आग्रह गरेको थियो। सन् १९६२ अगष्ट २२ मा बंगलादेशमा जन्मिएकी नसरीनले सन् १९९५ देखि निर्वासित जीवन विताइरहेकी छिन्।
उनका नारीवादी उपन्यासले इस्लाम र कुरानको निन्दा गरेको भन्दै बंगलादेशमा ब्यापक बिरोध भएपछि उनलाई सरकारले देश निकाला गरेको थियो। उनले अहिले सम्म ४० वटा पुस्तक लेखेकि छिन्। सुरुमा कलकत्तामा निर्वासित जीवन विताएकी उनले त्यसपछि दिल्ली र स्वीडेनमा केही समय विताइन्। बंगलादेश सरकारले उनको पासपोर्ट जफत गरेपछी उनले स्वीडिस राष्ट्रियता ग्रहण गरेकी छिन्।
प्रतिक्रिया दिनुहोस्