सरिता तिवारीका तीन कृति प्रकाशित छन्– बुद्ध र लाभाहरू, अस्तित्वको घोषणापत्र र प्रश्नहरूको कारखाना। गएको वर्ष उनको कविताकृति प्रश्नहरूको कारखाना मदन पुरस्कारका लागि मनोनयनमा परेको थियो। चितवनबाट वैचारिक लेखनमा सक्रिय उनका विभिन्न पत्रपत्रिका लेख प्रकाशित छन्। महिला मुद्दामा तीक्ष्ण कलम चलाउने र बहस गर्ने उनलाई हामीले राखेका केही प्रश्न र उनका जवाफ :
नगरोन्मुख गाउँ र सहरहरूमा यसो घुम्ने हो भने एउटा वाचनालय वा सार्वजनिक पुस्तकालय भेट्न मुस्किल होला तर हरेक ५० मिटरमा ब्युटिपार्लर भने भेटिन्छन्। हामीमध्ये अधिकांश महिलाको ध्यान सिर्जनात्मक क्षेत्रमा एकदमै कम छ, यो अर्को त्रासदि हो।
हिजोआज कस्ता पुस्तक पढ्दै हुनुहुन्छ?
जुनसुकै विधाको होस्, विचारले तानिएँ भने बल्ल म किताबभित्र ‘इन्गेज’ हुन सक्छु। नत्र मेरा लागि ती कागजका खोस्टा मात्र हुन्। कविता यसै पनि प्रायः पढ्छु। एकैछिनको फुर्सद वा निदाउनुअघिको समयलाई उपयोग गर्दा पनि कविता पढिसकिन्छ। यतिखेर कथा, उपन्यास खासै पढेकी छैन। आहुतिको ‘स्खलन’ चाहिँ भर्खरै सकें। अब कसैले वामपन्थको सपनासम्म देख्न हम्मे पर्ने गरी नेपालको कम्युनिस्ट आन्दोलन स्खलित भइरहेको अवस्थामा यसलाई दोहोर्याएर पढ्नु अर्थपूर्ण लाग्यो। यसमाथि एउटा समीक्षा पनि लेख्दै छु। सँगसँगै सुस्तसुस्त पढ्दै छु– स्यापियन्स : अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड, इजरायली इतिहासकार प्रोफेसर युवल नोह हरारीको। इतिहासलाई फरक शैलीले कथिएको बडो गज्जबको लाग्दै छ यो पुस्तक।
खास विचार वा दृष्टिकोण बनाएर पढ्नुहुन्छ कि?
विचार र दृष्टिकोण बनाउनका लागि पढ्छु। कुनै किताब आकस्मिक तरिकाले पनि पढिन्छ। पढ्दा पुस्तकको विषयले मलाई खिच्छ कि खिच्दैन? म कुन–कुन ठाउँमा सहमत हुन्छु र मेरा असहमति कति हुन्छन् भन्ने मुख्य हुन्छ। किताबले उत्तर मात्र दिने होइन, नयाँ प्रश्न समेत जन्माइदेओस् र ती प्रश्नले मलाई उत्तर भेटाउने यात्रामा बढ्न प्रेरणा दिऊन्। जरुरी छैन, त्यस्तो प्रेरणा सकारात्मक मात्रै होस्। प्रेरणा नकारात्मक नै किन नहोस्, त्यसले झल्याँस्स भएर ब्युँझेजस्तो अवस्थामा पुर्याइदेओस्, सर्त यही हो।
राज्य वा समाजको चरित्रअनुसार अहिले आमनेपाली नारीको अवस्था कस्तो हो?
राजनीतिक उपलब्धिका दृष्टिले अहिले नेपाली महिला उत्साहजनक अवसरको मुखमा छन्। तर यो दुई औंलाले चुट्की बजाएर आएको परिवर्तन होइन। यसका लागि न्यायप्रेमी पुरुष वर्ग र जुझारु महिलाको ठूलो बलिदानको पृष्ठभूमि छ। यो क्रियात्मक, धारणात्मक, वैचारिक र सशरीर भौतिक स्तरमै गरिएका संघर्षका कारण आएको बदलाव हो। हामी परिवर्तन यस्तैउस्तै तरिकाले आएको हो भन्ठान्छौं र परिवर्तनका लागि लड्ने ज्ञात–अज्ञात मानिसको रगत, पसिना, श्रम र अठोट सजिलै बिर्सिदिन्छौं। आजको समय राजनीतिक रूपले देश, राज्य र राष्ट्र जस्ता धारणाको पुनर्परिभाषा गर्ने चरणमा छ।
संयोगले यो हाम्रो पुस्ताको समय हो। आजका महिलाले आफ्नो इच्छाशक्ति र संकल्पकै बलले गाउँदेखि सहरसम्म, देशदेखि परदेशसम्म कृषि, उद्यमशीलता, शिक्षा, खेलकुद, कला, साहित्य, चिन्तनलगायत क्षेत्रमा गरेका काम कम आँक्न सकिन्न। आफ्नो समुदाय र क्षेत्रको इमानदारीपूर्वक नेतृत्व गरेर समाजलाई अग्रगति दिने महिलाले उनीहरू कति प्रतिबद्ध छन् भन्ने साबित पनि गरिदिएका छन्, यो आशालाग्दो पक्ष हो। चिज यति मात्र होइन, सांस्कृतिक हिसाबले अझै पनि भयानक रूपले पददलित महिलाको संख्या ठूलो छ। कानुनी उपचार र न्यायको प्रत्याभूति बिस्तारै बढ्न थालेको सूचक पनि होला, महिलामाथि भएका हिंसाका प्रकरण खुल्न थालेका छन्। तर हिंसाको दर घटेको देखिन्न। घर होस् या कहीँ पनि, कुनै पनि उमेरका महिला सुरक्षित छैनन्। बलात्कार (अझ त्यसपछि हत्या समेत) जस्तो जघन्य अपराधलाई समेत सामान्य ठान्ने संवेदनहीनता अब त समाजको आदत नै बनिसकेको छ। अन्धविश्वासको आडमा कुटपिट गरी, दाइजोको नाममा यातना दिइदिई स्वास्नीमान्छे मार्न सक्ने ‘क्रिमिनल’ मनोविज्ञान महिलाको वरिपरि हरदम रिँगिरहेको छ।
प्रतिरोधको चेतना र शक्ति नपुगेका आममहिलाको त बेहाल नै छ, देशमा। यहाँ जतिबेलै जे पनि हुन सक्छ। स्थान र पात्र मात्र हुन् फरक। यस्तो सम्झँदा आफ्नो समाजप्रति शरम लागेर आउँछ। आफ्नो क्षमता र क्रियाशक्तिको सीमा देखेर छटपटी हुन्छ। महिलाले मसँग पनि राज्य छ भनेर ढुक्कले बाँच्ने दिन कहिले आउने? यति ठूलो राजनीतिक उपलब्धिका बाबजुद पनि हाम्रा मौलिक समस्या फेरिएका छैनन्। कतिपय त भयावह तरिकाले रुपायन भएका छन्। पछिल्लो समय आर्थिक उत्पादनका ढाँचाहरू फेरिँदै जाँदा महिलाले सामना गर्ने मनोवैज्ञानिक समस्याका स्वरुप कसरी बदलिएका छन्? यो एकदम छिटोछिटो र डरलाग्दो गरी बढिरहेको छ। राजनीतिक दलसँग आधारभूत राजनीतिक क्रान्तिको प्रस्तावना मात्रै रहेछ। उनीहरूसँग न गतिलो आर्थिक नीति रहेछ, न त सांस्कृतिक बदलावको इमानदार प्रतिबद्धता। यी चिज नभएकैले अहिले आएर पनि महिला, दलित, अल्पसंख्यकलगायत समुदाय राज्यको संस्थापन र सामाजिक मनोविज्ञानसँग लडेको लडेकै गर्नुपरेको छ।
पछिल्लो समय देशमा विभिन्न जाति, समुदाय, क्षेत्रभित्र सुन्दरी प्रतियोगिता हुने गरेको छ, योसँगै विश्व वा ब्रह्माण्ड सुन्दरी प्रतियोगिता भइरहेका छन्, यसलाई कसरी हेर्नुभएको छ?
सुन्दरी प्रतियोगिता युरोप अमेरिकालगायत पश्चिमी देश हँुदै भारत र त्यसैको प्रभावले नेपालमा भित्रिएको हो। यसको आधिकारिक इतिहास झन्डै सय वर्षको रहेछ। पुँजीवादी बजार व्यवस्थाका लागि सबैभन्दा सजिलो र उपयोगी माध्यमका रूपमा सौन्दर्य प्रशाधन र फेसनको प्रचार गर्न यसको सुरुवात भएको हो। असीमित नाफाखोरी गरेर सम्पत्ति कुम्ल्याउने योजनास्वरुप महिला देहको विज्ञापन र वस्तुकरण गर्न आएको यो प्रचलनलाई अमेरिकी लेखक एभलिन रिडले सन् ६० कै दशकमा ‘काँचो मासुको व्यापार’ भनेकी थिइन्। महिलाको विद्वता र प्रतिभासित यसको गोरुबेचे साइनो पनि छैन। त्यसमा जज बस्नेहरू हेर्नुस्, तिनका प्रश्न र सहभागीका उत्तर सुन्नुस्, यस्तो नौटंकीमा हामीले कत्रो रुचि लिएको? ९० को दशकमा बहुचर्चित किताब ‘द ब्युटी मिथ’ लेखेर चर्चा कमाएकी नाओमी उल्फ जस्ता गैरमार्क्सवादीले समेत सौन्दर्यका पुँजीवादी मिथ र मापदण्डको खुलेर विरोध गरेका छन्। महिलाको शरीर र छालालाई बडो धूर्त तरिकाले पैसा छाप्ने मेसिन बनाइरहेको प्रचलित ब्युटी मिथलाई उनले पुरुषवादी मिथ साबित गरेकी छन्। सुन्दरी प्रतियोगिता सौन्दर्यको यही मिथमाथि उभिएको ‘आइडिया’ हो। यसको कडा प्रतिवाद र विरोधको स्वर संसारभरि नै सुनिन्छ, तर मिडियाले त्यस्ता समाचारलाई स्थान दिँदैनन्। उनीहरूलाई पनि पुँजीबजारका ठेकेदारबाटै चल्नु जो छ। नेपालमा वामपन्थी आन्दोलनसँग जोडिएका महिला संगठनले सुरुसुरुमा सडकमै निस्किएरै यसको विरोध गरे। कम्युनिस्ट पार्टीहरूको प्रतिरोध शक्ति कम हुँदै गएर हो वा बदलिँदो विश्व परिवेशसित समन्वयवादी हुन थालेर हो, पछिल्ला दिनमा सुन्दरी प्रतियोगिताको संगठित विरोध भएको देखिएको छैन।
पुँजीवादी विश्व–व्यवस्थाले विभिन्न वस्तु तथा साधनको बजार विस्तारमा नारीलाई जति विज्ञापनको साधन बनाइरहेको छ, त्यति नै समाजमा नारी बौद्धिकताको प्रयोजन र प्रभाव देखिँदैन (हुँदै नभएको भन्ने होइन)। विभिन्न कलाका नाममा पनि नारीको बौद्धिकताभन्दा बेसी बाहिरी रूप, रंग र अंग बिकिरहेको देखिन्छ। यस्तो किसिमको विश्व–माहोल, ‘मास साइकोलजी’ वा विश्व–व्यवस्था जो छ, यसले विश्वकै आमनारीको भविष्य कता लैजाँदै छ?
सौन्दर्यका मिथ परम्परागत होऊन् या आधुनिक, दुवै पुरुष निर्मित हुन्, पुरुषले आफ्नो दृष्टि र सहुलियत अनुसार बनाएको। महिला सौन्दर्यको धारणा पुँजीबजारको कब्जामा गइसकेको छ। यसले राम्री र नराम्रीको आफ्नै मापदण्डबाट स्वास्नीमान्छेको ‘अर्गाज्मिक’ अनुहार बेचेर ब्रह्मलुट गरिरहेको छ। ‘पर्फेक्ट बडी’को राजनीति हरेक क्षेत्रमा ढलिमली गर्दै छ। त्यसले इन्ची टेप बोकेर हाम्रो छाती, कम्मर र नितम्ब नाप्दै हिँडेको छ। यसले सक्षम र सम्भावना भएका महिलालाई पनि सोच्दासोच्दै पागल बनाइदिन्छ। हामी त्यसलाई नजरअन्दाज गर्दै आफनो काम गर्दै छौं। नगरोन्मुख गाउँ र सहरहरूमा यसो घुम्ने हो भने एउटा वाचनालय वा सार्वजनिक पुस्तकालय भेट्न मुस्किल होला तर हरेक ५० मिटरमा ब्युटिपार्लर भने भेटिन्छन्। हामीमध्ये अधिकांश महिलाको ध्यान सिर्जनात्मक क्षेत्रमा एकदमै कम छ, यो अर्को त्रासदि हो।
अधिकांश पुरुषलाई महिलाका काम र योगदानले होइन, कस्मेटिक नखराले तान्छ, भयंकर प्रगतिशील नेतादेखि लेखक र पत्रकारसम्मलाई। यहाँ अष्टलक्ष्मी शाक्य वा शशि श्रेष्ठहरूले गरेको राजनीतिक लडाइँको मूल्य कसले बुझ्ने? पम्फा भुसाल, अञ्जना विशंखे या रामकुमारी झाँक्रीजस्ताको जोधाहापन कहिले ‘सौन्दर्य’हुने? संघर्षको रौंबराबर विरासत नभएका केही ‘टोकन वुमन’ हिजोका संग्राम र बलिदानबाट प्राप्त उपलब्धिले विभूषित भएको देख्दा, उल्लेख्य बौद्धिक प्रयत्नबिना केही अनुभववादी सतही टिप्पणीकै आधारमा ‘ब्युटी विद ब्रेन’को संज्ञा दिने मिडिया देख्दा दिक्क त लाग्छ। तर भविष्यप्रति म त्यस्तो निराश छैन। हाम्रो कामले एक समय यी काला बादल हट्नेछन् भन्नेमा म पूर्ण विश्वस्त छु। यीभन्दा पनि खतरनाक चिजको बीचमा बसेर काम गर्ने इतिहासका कर्ताबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन्।
तपाईंले बुझेको पुरुषवादी सत्ता वा समाज कस्तो हो?
पुरुष जननेन्द्रीयलाई केन्द्रमा राखेर पुरुष सहुलियतको आधारमा हँुदै आएको सांस्कृतिक व्यवहार र जीवनशैली मैले बुझेको पुरुषवाद हो। तर योे नारीवादको विपरीतार्थ शब्द होइन, पुरुष वर्चस्व र शासनलाई ध्वनित गर्ने शब्द हो। नारीवादले पुरुषवादले जस्तो नारी प्रभुता र पुरुषमाथि शासन गर्ने बद्नियत राख्दैन। यो त सीधासीधा पुरुषसरह समान अधिकार र सहअस्तित्वको अपिल हो। पुरुषवाद महिलामाथि दमनचक्रको यस्तो सूत्र हो– जसमा भाषा, सौन्दर्य–मिथ, यौनिक मिथ, संस्कृति, हरेक उपकरणको सोची–सम्झी बडो परिपाठपूर्वक प्रयोग गरिएको छ। यसले पुरुषलाई अकाट्य ‘मूल’ मान्छ र महिलालाई त्यसको प्रत्यय। भाषाविज्ञानमा प्रत्ययहरू आधार पदका पछाडि जोडिन्छन्, जसको आफ्नै भिन्दै अर्थ हुन्न। आधारसँग जोडिएपछि मात्र तिनको अर्थ आउँछ। पुरुषवाद लोग्नेमानिसलाई अविच्छिन्न रूपले मूल या आधार बनाइरहने धेरै लामो समयदेखि खेलिएको राजनीति रहेछ, बल्ल बुझ्दै छु। पढे–लेखेको र लेखक हुँ भन्ने मलाई यस्तो कुरा थाहा पाउन नेपाली औसत आयुको आधा समय लाग्यो।
नारीमा पुरुषवादी चिन्तन हुन्छ कि हुँदैन?
महिला पनि यही समाजको निर्मित होइन र? पुलिंगकेन्द्रको चेतनाले हिँडाएपछि नारीमा पनि पुरुषवादी चिन्तन हुने भइहाल्यो। यत्तिकै सोचौं, छोरा पाएपछि मात्र बुहारी र पत्नीमा दरिने, माइतीतर्फको दृष्टिमा पनि यसपछि मात्रै छोरीको ‘घर पक्को भएको’ मानिने। यस्तो मनोविज्ञानको सांस्कृतिक परम्परामा बानी परेको पुरानो पुस्ता जानी–नजानी पितृसत्ताको राजदूत नै भयो। तर आजको सुपठित र अझ बौद्धिक भनिएको समुदायका नारी पनि खरो पुरुषवादी हुँदा रहेछन्। यस्तो किन हुन्छ भन्ने कुरा खोतल्ने हो भने लहरो तान्दा पहरो खस्ने धेरै उपकथा जोडिन्छन्। नारीवाद पुरुषविरोधी तर्क हुँदै होइन, पुरुषकेन्द्रमा घुमिरहेको सांस्कृतिक राजनीतिको पो विरोधी हो। यो कुराले झननन्न गरेर टाउको नरन्थन्याएसम्म तिनले पुरुषवादको किल्ला रक्षा गरिरहनेछन्। ढिलो या चाँँडो तिनको टाउको रन्थनिने, तिनलाई पनि रिँगटा छुट्ने दिन आउँछ। तर आन्दोलन हिजो पनि थियो, आज पनि छ। केही तर्क, केही मान्छे विषम हुँदैमा आन्दोलन भन्ने कुरा जाममा पर्दैन। यो त निरन्तर अगाडि बढिरहन्छ।
नारी अधिकारका सन्दर्भमा नयाँ संविधानप्रति सन्तुष्ट हुनुहुन्छ?
राजनीतिक, प्रशासनिक सहभागिताको दृष्टिबाट नयाँ संविधानप्रति सन्तुष्ट छु। आसन्न स्थानीय निर्वाचनपछि बन्ने स्थानीय कार्यपालिकाको विम्ब मात्रैले पनि म धेरै उत्साहित छु। व्यापक संख्यामा चयन भएर जाने महिला जनप्रतिनिधिमाथि अब ठूलो कार्यभार छ। यो ऐतिहासिक अवसर हो र यसबाट नेपाली महिलाको परम्परित सांस्कृतिक विम्ब बदलिएर नयाँ बन्नुपर्छ। संविधानलाई स्वतन्त्र महिला र आमा भएर हेर्दा मूल र प्रत्ययको सूत्र भने यहाँ पनि उस्तै अनुभव गरेकी छु। देशको संविधानले मलाई अझै पनि मेरो बाबु वा लोग्नेको पहिचानबाट मात्रै चिन्छ र मात्र मेरा सन्तानलाई मेरो वंशज मान्छ। तर, संविधान ढुंगामा खिपेको प्रशस्ति होइन। हामीले यसलाई न्यायिक बनाउँदै लैजानुपर्छ।
नारी अधिकार पनि वर्गीय छ– आफूले मदिरा पिएका भाँडा घरमा काम गर्ने अर्की नारीलाई धुन लगाएर नारीवादी सेमिनारमा जाने, र खराब पुरुषले जस्तै नारीले पनि मदिरा पिएर लफडा गर्न पाउनुपर्छ भन्नेजस्ता उडन्ते बहस गर्ने उच्च वर्गीय चिन्तन वा प्रवृत्ति पनि देखिन्छ, सुनिन्छ। निम्न वर्गीय तथा पिछडिएका नारीको उत्थानका लागि राज्यले कानुन बनाएर विशेष प्याकेज कार्यक्रम ल्याउनैपर्छ। टाउकोमा नाम्लो हुने नारीको उत्थानका लागि टाउकोमा चस्मा अड्याउने वा हातेझोलामा मिनी ब्युटिपार्लर बोक्ने नारीवादी वा अधिकारकर्मीको भूमिका कस्तो हुनुपर्ला?
नारी अधिकारलाई साह्रै सामान्यीकरण गरेर बुझ्दा हुने दुर्घटना यी र यस्तै हुन्। पुरुषले जस्तै जाँड–रक्सी खान या हल्ला गर्दै हिँड्न पाउनुपर्छ पनि किन भनियो? यसभित्र पसेर सामाजिक, सांस्कृतिक निषेधको लामो परम्परा उधिन्नुपर्छ होला। यसलाई यत्तिकै निर्क्योल गरेर छोडिहाल्नु र त्यस्ता महिलालाई खराबै करार गर्नु एकांकी हुन्छ भन्ने लाग्छ। अवश्य पनि यस्ता विषयले अधिकार आन्दोलनको गति र संवेदनामा सकारात्मक योगदान दिएका छैनन्। तर ‘सोसियल’ देखिन, आफ्ना आवेग र अत्याशहरू साथीभाइसँग पोखेर हल्का हुन ‘असल र इज्जतदार’ भनिएकै पुरुषलाई चाहिँ हामी स्वभाविक ठान्ने तर त्यही कुरा महिलाले गर्न नपाउने। यसैको प्रतिरोध पनि होला नि, यसरी बुझौं न।
तपाईंले भनेजस्तै कतिपयमा नारी अधिकार आन्दोलनप्रति इमान र प्रतिबद्धता ठ्याक्कै देखिन्न। अर्कै मनसा र निहितार्थ लिएर आएपछि हुने त्यही हो। महिला अधिकारका मुद्दालाई निजी उपार्जन र संग्रहको माध्यम मात्रै बनाउनेले बिनावेतन आफ्नै संकल्प र अठोटले काम गर्नेहरूको दुःखलाई समेत कलुषित बनाइदिएका छन्। यसले नारी मुक्ति र अधिकारको ज्वलन्त प्रश्नलाई कमजोर पारिदिएको छ।
अर्को कुरा, समाज वर्गहरूमा बाँडिएको हुँदा अधिकारबारे धारणा चाहिँ निर्वर्गीय हुन्छ भन्ने अपेक्षा कसरी गर्न सकिएला? तर, जुनसुकै वर्गमा पनि प्रायः पुरुष बुर्जुवा र महिला सर्वहाराको हैसियतमा हुन्छन् भन्ने ऐंगेल्सको कुरा म एकदम मान्छु। यसपछाडिको मनोविज्ञान र अर्थराजनीति पनि बुझ्नुपर्यो। उच्च, मध्यम या सीमान्त वर्ग जहाँ होस्, पितृसत्तासँगको लडाइँ कहीँ पनि सजिलो छैन। स्वरुप र मात्रा मात्र कम–बेसी हो। जहाँसम्म प्रतिरोध गर्ने खास वर्गका महिलाको कुरा छ, वर्गोत्थान हुँदैमा उनीहरूसँग आन्दोलन गर्ने ल्याकत र इमान नभएको ठान्नु मनोगत तर्क मात्र हुन सक्छ। ‘टाउकामा चस्मा राख्ने’ पनि कुनै एलियन होइन। ऊसित पनि भयानक ‘स्टोरी’ हुन सक्छ। प्रस्तावना र इच्छाशक्ति हुन सक्छ। उसले नाम्लो बोक्नेको पक्षमा इमानदार पैरवी गर्छ भने कसैले आपत्ति गर्नुपर्ने देख्दिनँ।
यौनप्रतिको तपाईंको बुझाइ के हो? विशेष शारीरिक र मानसिक अवस्थाका कारण विवाह हुन नसक्नेहरूको हकमा यौन–सन्तृष्टि पनि बहसको विषय होइन?
यौन शरीरको प्राकृतिक भोक हो। यो भोक प्रायःलाई लाग्छ। तर यसबारे परम्परागत मिथ महिलाका पक्षमा छैनन्। यौनिक मिथका रचयिता पनि पुरुष नै हुन्। यसको तान पितृसत्तात्मक अर्थराजनीतिसँगै गाँसिएको छ। यसबारे बोल्नुपर्ने र लेख्नुपर्ने धेरै कुरा छन्। हाम्रोमा विवाह नै यौनको एक मात्र लाइसेन्स हो। बिनाविवाहको यौन अवैध मानिने भएपछि यो प्राकृतिक आवश्यकताको कुरा मात्र रहेन। कतिपय महिलाले विवाह नगरी आमा बनेर वैधताको सीमालाई चुनौती दिएका छन्। यौनिक अल्पसंख्यकहरू बिस्तारै समाजसामु देखिन थालेका छन्। यो खुला समाजको आरम्भको संकेत पनि हो। यौनमा आधारभूत मर्यादा (हाडनाता लगायत) को प्राकृतिक निषेध चाहिन्छ तर नैतिकता र वैधताका कृत्रिम घेराभित्र राखेर यसलाई जटिल बनाइनु हँुदैन। तपाईंले भनेजस्तै, यो विषयलाई महिला र पुरुषमा मात्रै सामान्यीकरण गर्दा यौनिक अल्पसंख्यकहरू जहिले पनि छुटिरहेका हुन्छन्। उनीहरूका अधिकारका मुद्दा पनि सतहमा आउनु राम्रो कुरा हो। यौनबारे गरिने बहसमा हामी सहज र उदार हुँदै अगाडि आउनुपर्छ।
प्रतिक्रिया दिनुहोस्