मंसिर १४, २०८१ शुक्रबार

वार्डदेखि जिल्लासम्म महिला प्रमुख नभएको जिल्ला



अर्घाखाँची – वडा अध्यक्ष देखि गाउँपालिका र नगरपालिकामा एउटा पनि महिला प्रमुख नभएको जिल्ला बन्ने भएको छ । चुनावमा प्रतिस्पर्धी रहेका तीन ठूला दलले वार्ड अध्यक्ष, गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखमा महिला उम्मेदवार नभएपछि प्रमुख पदमा महिला शून्य हुने भएको हो ।
काँग्रेस, एमाले र माओवादीले अर्घाखाँचीका २ नगर र ४ गाउँपालिकामध्ये कुनैमा पनि प्रमुख पदमा महिला उम्मेदवार बनाएका छैनन् । कांग्रेस, एमाले र माओवादीले जिल्लाका ६१ वडामध्ये कुनैमा पनि महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएका छैनन् । राप्रपाले शीतगंगा नगर ४ र नयाँ शक्तिले सन्धिखर्क ९ मा वडाध्यक्षमा भने महिला उठाएका छन् । काँग्रेस माओवादी तालमेल गरेका २ नगर र १ गाउँपालिकामा त उपप्रमुखमा पनि महिला छैनन, बाँकी ३ स्थानीय तहमा मात्र महिला उपप्रमुख उम्मेदवार बनेका छन् । एमालेले भने सबै गाउँ नगरमा उपप्रमुखमा महिला उठाएको छ ।
दुई साना पार्टीहरु नयाँशक्ति र जनमोर्चाले सदरमुकाम रहेको नगरपालिका सन्धिर्खमा महलिा उम्मेदवार उठाएका छन् । नयाँशक्तिले यमुना भुसाल र राष्ट्रिय जनमोर्चाले कल्पना पोखरेललाई सन्धिखर्क नगरप्रमखको उम्मेदवार बनाएको छ ।
पाणिनी र छत्रदेव गाउँपालिकामा भने दलीय तालमेल भएको छैन । यसकारण सबै दलबाट उपप्रमुखमा महिला उम्मेदवार छन् । जिल्लाका ६ स्थानीय तहमा एमालेले प्रमुखमा कतै पनि महिलालाई अघि सारेको छैन । तर, सबैमा उपप्रमुख उम्मेदवार भने महिला नै राखेको छ ।
आफू उम्मेदवार भएको भन्दै एक महिना अघिदेखि नाम छनोट भएको भन्दै प्रचारमा घरदैलो गरेका महिला नेतृ दलको चुनावी तालमेलपछि निराश छन् । आफूलाई उम्मेदवार बताएर खादा–माला लगाउँदै कार्यकर्ताको जत्थासहित गाउँघर नमस्कार मलाई भोट दिएर जिताउनुहोला भन्दै मतदाताको घरमा डुलेका उनीहरू अब कसरी बुझाउने भन्ने अन्योलमा छन् । पहिला उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा लागेका काँग्रेस माओवादीले अन्तिम समयमा तालमेल गरेपछि महिलाहरु उम्मेदबार हुनबाट बञ्चित गरीएका हुन् । ‘महिलालाई बलिको बोको बनाइयो । तालमेल नै गर्नु थियो भने नेताहरूले महिलाका नाम अगाडि ल्याएर प्रचारमा जान हुँदैनथ्यो,’ कांग्रेसनिकट महिला संघ केन्द्रीय सदस्य अनीता ज्ञवालीले भनिन्, ‘उम्मेदवार भएर चुनाव हारेको भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो । महिलालाई नेतृत्वमा जानै नदिने नियत देखियो ।’
कांग्रेससँगको तालमेलपछि उपप्रमुखको उम्मेदवार हुनबाट रोकिएकी माओवादीकी जिल्ला सहसंयोजक छमकुमारी खनाल पार्टीको निर्णय मान्नुपर्ने भए पनि जुझारु महिलालाई दुस्ख लागेको बताउँछिन् । ‘एउटै पार्टीले प्रमुखरउपप्रमुख उठाउँदा दुईमध्ये एक महिला हुनुपर्ने भनिएकोमा निर्वाचन आयोगले तालमेल गरी चुनाव लड्ने दललाई त्यो बाध्यता नहुने भनिदियो,’ उनले भनिन्, ‘धेरै कारणले महिला पछि पारिएका छन् ।’ आफू उम्मेदवार हुनबाट वञ्चित पारिए पनि पार्टीको निर्णय मान्दै चुनावी भेलामा सहभागी भइरहेको उनले बताइन् । ‘हरेक आन्दोलनमा महिला अगाडि हुने तर अवसर आउँदा बहाना बनाएर पछाडि धकेल्ने पुरानो सोचले काम र्गयो,’ उनले भनिन्, ‘महिला जति सक्षम भए पनि पुरुषका अगाडि कमजोर देख्ने समाज फेरिएको छैन ।’

माओवादीको जिल्ला कमिटी सदस्य राधा नेपालीलाई पनि महिलाको नाम फिर्ता लिइएको चित्त बुझेको छैन । ‘प्रमुखमा त महिलालाई उम्मेदवार बनाइएन नै, उपप्रमुखमा पनि उठाउने भनिएकाको नाम पनि तालमेल भन्दै फिर्ता लिइयो,’ उनले भनिन्, ‘नियतवश महिलालाई पछाडि पार्ने काम भयो ।’
जिल्ला निर्वाचन कार्यालयका अनुसार १ लाख २६ हजार ९ सय ९९ मतदाता रहेको अर्घाखाँचीमा महिला मतदाताको संख्या पुरुषका तुलनामा ६ हजार १ सय ७ ले बढी छ । अर्थात् ६६ हजार ४ सय ३ छ ।