जीतपुर । कपिलवस्तुकी एक महिला १२ दिनदेखि महिला बेपत्ता भएकी छिन् । अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षीया वसन्ता विसी केसी यही असोज १४ गते दशैँको टीकाका दिनदेखि हराएकी छिन् । बचत समूहबाट लिएको तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७ः०० बजेदेखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले बताए ।
आफु बिरामी भएको मौका छोपी तीन लाख नगद रकमसहित आफूले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गरे । उनले भने , “यस्तो समान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पनासमेत गरेको थिइन ।” डेढ वर्षदेखि इमिलियामा भाडामा बस्दै आएका उनका श्रीमान्ले आफ्नै गाडी चलाउने काम गर्छन । उनीहरुको एउटा नौ वर्षीय छोरा छ । पहिले पनि घरमा सामान्य विवाद हुने गरेको श्रीमानले बताए ।
आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले बताए । सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई आग्रह गरेका छन् ।
घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्